ad ad

समाज


जापान जाने पर्खाइमा १४ हजार विद्यार्थी : ऋण लिएर कलेजमा पैसा पठाए, ब्याज तिर्नै मुस्किल

जापान जाने पर्खाइमा १४ हजार विद्यार्थी : ऋण लिएर कलेजमा पैसा पठाए, ब्याज तिर्नै मुस्किल

मीना खड्का
माघ १३, २०७८ बिहिबार २२:२७, काठमाडौँ

प्लस टु सकियो, नतिजा पनि प्रकाशित भयो। लगत्तै सल्यानका सुशील बस्नेत सुन्दर सपनाको परिकल्पनासहित दाङको तुलसीपुर स्थित रिडमोर कल्सल्टेन्सीमा जापानी भाषा पढ्न थाले।

केही महिनामै उच्च शिक्षाका लागि जापानमा पढ्न पाउनेगरी योग्यताको प्रमाणपत्र (सीओई) पनि प्राप्त गरे। 

अक्टोबर इन्टेकमा जापानको नागोया स्थित एचए कलेजमा अध्ययनका लागि आवेदन गरेका उनले २०२० को २५ डिसेम्बरमा ९ लाख ७२ हजार रुपैयाँ कलेजको खातामा जम्मा गरे। 

भाषा पढ्नका लागि लिएको ऋणमा फेरि ठूलो ऋण थपियो। उनका बुबा अहिले महिनाको ३६ हजार ब्याज तिरिरहेका छन्।

‘त्यतिबेला ऋण लिएका थियौँ,’ सुशील बस्नेतले भने, ‘बुबा पनि विदेशमा हुनुहुन्छ, १ वर्ष अघिदेखि निरन्तर महिनाको ३६ हजारका दरले ब्याज तिरिरहेका छौँ।’

कोरोनाका कारण जापान जान नपाएपछि सुशीलको प्रतीक्षा लम्बिँदै गएको छ। 

‘यतिधेरै ऋण र बुबाको दुःख देख्दा खाडी मुलुक नै जाऊँ कि जस्तो लाग्छ,’ सुशीलले आफ्नो अन्योलमा परेको नलुकाइ भने, ‘फेरि जापान जाने खुल्यो भने भोलि पश्चाताप लाग्ला भन्ने लाग्छ।’

उनको अघि पर्खनुको विकल्प छैन। 

‘अब केही समय पर्खिन्छु,’ उनले भने, ‘ऋण त तिर्नु पर्यो, जापान खुलेन भने खाडी जान्छु। अब ब्याचलर पढेर बस्छु भन्ने अवस्था छैन, धेरै पैसा खर्च भइसक्यो।’ 

सल्यानकै अर्का युवा नरेश केसीको पनि अवस्था फरक छैन। उनले पनि जापान जाने सपना बुनेर जाने प्रक्रिया मिलाउनका लागि ऋण लिएका छन्।

‘दाइ जागिर गर्नुहुन्छ र ब्याज तिर्न सकिएको छ,’ नरेशले भने, ‘अहिले त जापान अप्लाइ नगरेको भए ठिकै हुन्थ्यो जस्तो लाग्छ।’

कहिले जान पाइन्छ भन्ने नै थाहा नभएकाले चिन्ता थपिएको उनी बताउँछन्।

‘पैसाको समस्या त छँदै छ, महिनैपिच्छे ब्याज तिरिरहेका छौँ। कहिले पठाउँछ भन्ने नै अन्योल छ,’ जापानमा गएर मुख्यतः काम गरेर पैसा कमाउने नै उदेश्य रहेको खुलाउँदै उनले भने, ‘यस्तो अवस्थामा मान्छेले के के सुनाउँछन्, कोरोनाको कारण जापानमा अहिले भनेको जस्तो काम पाइँदैन पनि भन्छन्, एकदमै तनावपूर्ण अवस्था छ।’ 

नरेशलाई जापान नगई यहीँ केही गर्ने चाहना नभएको होइन।

‘कहिलेकाहीँ नेपालमै केही गर्छु भन्ने पनि लाग्छ, तर केही अवसर पाइँदैन, खाडीभन्दा जापान राम्रो छ भनेर अप्लाइ गरेर अहिले यस्तो भयो,’ उनले भने।

सरकारले नेपालमा लकडाउन हुनुअगावै वैदेशिक शिक्षामा जान चाहिने ‘नो अब्जेक्सन लेटर’ रोकिदियो। 

यसको ठूलो असर जापानका कलेजलाई पैसा पठाइसकेका र जापान उड्ने अन्तिम तयारीमा रहेका विद्यार्थीलाई परेको छ।

अध्ययन अनुमति पत्र लिएर बसेका सल्यानका विक्रम डीसी, इन्द्रा बुढाथोकी, विनोद रावत र बिमला चन्द पनि जापान जाने पर्खाइमा छन्।

यता न उता छाया थकाली
जाजरकोटकी छाया थकाली पनि जापान जाने पर्खाइमा बसेकी छन्। उनले उच्च शिक्षाका लागि जापानमा पढ्न पाउने योग्यताको प्रमाणपत्र (सीओई) प्राप्त गरिसकेकी छन्।

जापान जान रोकिएपछि न यता न उताको भएको छ उनको भविष्य।

‘पर्खेर नै एक वर्ष बित्यो,’ छाया थकालीले भनिन्, ‘यता न उता बनाइदिएको छ।’

उनलाई पढाइ रोकिएकोमा पनि उत्तिकै चिन्ता छ।

‘सँगैका साथीहरूले ब्याचलर पढिरहेका छन्,’ उनले भनिन्, ‘जापानको आशामा यता ब्याचलर पनि छुटेको छ। पढाइ प्रभावित भएको छ।’ 

करिअर बनाउने समयमा यसरी अन्योलमा फसेको सम्झेर आत्तिन्छिन् उनी। 

‘यो उमेरमा करिअर बनाउन नसकिएकोमा पश्चाताप लाग्छ,’ उनले भनिन्, ‘बिनाकाम समय खेर गइरहेको महसुस हुन्छ।’

१४ हजार विद्यार्थी पर्खाइमा
शिक्षा मन्त्रालयका अनुसार कोभिड सुरु भएयता सन् २०२० देखि मात्रै जापान जान १४ हजार जनाले अध्ययन अनुमतिपत्र (एनओसी) लिइसकेका छन्।

एनओसी लिएकामध्ये अधिकांश विद्यार्थी रोकिएका छन्। जापान अध्ययन गर्न जाने तयारीमा रहेका अधिकांश नयाँ विद्यार्थी रोकिएका नेपाल शैक्षिक परामर्श संघका पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले बताए। उनका अनुसार पढ्न जाने अनुमति र भिसा पाइसकेका तथा कलेजलाई पैसा पनि पठाइसकेका करिब ७ हजार विद्यार्थी रोकिएका छन्।

‘यी विद्यार्थीले जापानका शिक्षण संस्थामा भर्ना भएर पैसा पठाइसके तर जान पाएका छैनन्,’ उनले भने, ‘अनलाइन कक्षा चलाउने भनेर जान रोकिएको छ।’

१ हप्तामै फेरियो निर्णय, थपियो निराशा 
जापान सरकारले २०२१ नोभेम्बर ८ देखि विदेशीका लागि पर्यटकबाहेक अन्य भिसाका निम्ति सीमा खुला गरेको थियो। त्यसपछि भिसा प्रक्रिया आरम्भ भयो भनेर नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले गत मंसिर ७ गते प्रेस विज्ञप्तिमा जारी गर्यो। 

कोरोना महामारीका कारण भिसा प्राप्त गरेर पनि अध्ययनका लागि जापान जान नपाएका विद्यार्थी अब जान पाइने भयो भनेर खुसी भए। 

२०२० मा सीओई प्राप्त गरी शुल्क तिरेर बसेका विद्यार्थीलाई सहज हुने ईक्यानको अपेक्षा थियो।

जापान सरकारले २०२० को अप्रिलदेखि २०२१ अप्रिल सम्मका विद्यार्थीलाई २०२१ को नोभेम्बर, डिसेम्बर र जनवरीमा प्रवेशको अनुमति दिने र २०२१ को अप्रिल, जुलाई र अक्टोबरका विद्यार्थीलाई जनवरी पछि सूचना जारी गर्ने बताएको थियो।

नेपालमा भिसा आवेदन गर्नुअगाडि विद्यार्थीले अध्ययन गर्न जान चाहेको कलेज, स्कुलबाट माग गरिएको कागजपत्र पेस गरी जापानको शिक्षा मन्त्रालयबाट प्रदान गरिने प्रमाणपत्र वा परीक्षा (स्क्रिनिङ सर्टिफिकेट) लिनु पर्ने बाध्यात्मक व्यवस्था थियो।

त्यो व्यवस्थाले विद्यार्थीले आफ्नो अनुकूल समयमा भिसा आवेदन दिन नसक्ने भए। उसो त मंसिर ७ गते नै जारी विज्ञप्तिमा अब २०२० मा शुल्क जापान पठाई जापान जान प्रतीक्षारत विद्यार्थीहरुले स्क्रिनिङ सर्टिफिकेट प्राप्त गरे पनि सहजै भिसा आवेदनको लागि भीएफएसबाट समय प्राप्त गर्ने अवस्था छैन भनिएको थियो। जोखिम मोल्न विद्यार्थी र अभिभावक दुवै तयार थिए। 

तर, हप्ता दिनमै निर्णय उल्टियो। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण पुनः जापान प्रवेशमा रोक लगाइयो। 

ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले भने, ‘प्रवेश खुला गरिएकाले विद्यार्थीले ती देशमा जान तयारी सुरु गरेका थिए तर नयाँ निर्णयले जापान जाने कार्य रोकिएको छ।’

‘स्क्रिनिङ सर्टिफिकेट आउने क्रम जारी थियो,’ उनले भने, ‘तर, मंसिर १६ गते रातिबाट रोकियो।’ 

विद्यार्थी जापान छिर्न नपाउँदा अभिभावकमा छटपटी 
अध्ययन गर्न विदेश जाने तयारीमा रहेका विद्यार्थी–अभिभावक तनावमा रहेका राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष सन्तोष प्याकुरेलको भनाइ छ।  

‘अमेरिका, बेलायत, क्यानडा लगायत मुलुकमा विद्यार्थी आउजाउ गरिरहेका भए पनि जापान जाने तयारी गरिरहेका विद्यार्थी निकै समस्यामा छन्,’ प्याकुरेलले भने, ‘कोभिडपछि विदेश पढ्न जाने विद्यार्थी र पठाउने तयारी गरिरहेका अभिभावकमा छटपटी छ, जापानमा विद्यार्थी छिर्नै पाएका छैनन्। 

उनका अनुसार केहीले निराश भएर पैसा फिर्ता गरिसकेका छन् भने कतिपय अझै आशा गरेर बसिरहेका छन्। 

‘ठोस कदम चाल्न नसक्ने, खोल्छु खोल्छु भन्ने तर नखोल्ने गर्दा अन्यौल बढेको छ,’ उनले भने, ‘अझै जापानप्रतिको विद्यार्थीको मोह घटेको छैन, अवस्था सामान्य भएपछि जाउँला भनेर धेरै विद्यार्थी पर्खिरहेका छन्।’

बन्द हुँदैछन् कन्सल्टेन्सी 
रिडमोर एडुब्रिजका सञ्चालक डम्बरबहादुर वलीले आफ्नो कन्सल्टेन्सीमा सीओई प्राप्त गरिसकेका तीन सयभन्दा बढी विद्यार्थी रोकिएका बताए। यी सबै विद्यार्थीको भविष्य अन्योलग्रस्त भएको उनको भनाइ छ।   

‘अधिकांश ब्याचलर पढिरहेका विद्यार्थी छन्। यताको पढाइ पनि रोकिएको छ। उता पनि बन्द छ,’ उनले भने, ‘न यता न उता बनाइदिएको छ।’ 

उनको कन्सल्टेन्सी रिडमोर एडुब्रिजको मुख्य कार्यालय काठमाडौं र शाखा कार्यालय दाङमा छ। 

‘कार्यालय चलाउन मुस्किल छ। पुतलीसडकका कतिपय कन्सल्टेन्सी बन्द भइसके, कतिपय मर्ज गरेर चलाइरहेको अवस्था छ,’ डम्बरले भने, ‘कर्मचारी पनि पाल्न सक्ने अवस्था भएन, ४ जना स्टाफ थिए, सबै कटौती गरीसकेँ।’

अहिले जति पनि कन्सल्टेन्सीहरु चलिरहेका छन्, उनीहरु ५०/७५ प्रतिशत स्टाफ कटौती गरेर चल्नु पर्ने बाध्यतामा छन्। 

सेसन जापानिज ल्याङ्ग्वेज स्कुलका म्यानेजिङ डाइरेक्टर गङ्गाराम बस्नेतले २ वर्षसम्म एक जना पनि विद्यार्थी पठाउन नसकिएको बताए। 

‘बाहिरको प्लेन चल्दा नेपालको बन्द हुने, नेपालको चल्दा उता बन्द हुने भरहेको थियो,’ उनले भने, ‘नेपालको उडान बन्द भएको कारण २ वर्ष पुरा भइसक्दासम्म एक जना पनि विद्यार्थी पठाउन सकिएको छैन।’

गङ्गारामका अनुसार जापानमै रहेका नेपाली विद्यार्थीहरुको पढाइ पनि प्रभावित भएको छ। 

पुतलीसडक स्थित बीएमडब्ल्यू एजुकेसनल कन्सल्टेन्सीका कन्ट्री म्यानेजर श्रीवत्स बस्न्यातले विदेश जाने तयारीमा रहेका विद्यार्थीले असुरक्षित महसुुस गरिरहेको बताए।

‘पैसा पठाइसकेका विद्यार्थीले असुरक्षित महसुस गरीरहेका छन्,’ श्रीवत्सले भने, ‘अब पर्खनुको विकल्प छैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .