नेपाल सरकारले सञ्चालन गरेको कोभिडविरुद्धको खोप अभियानलाई सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप नेपाल आइपुगेको छ।
काठमाडौंस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई १३ लाख मात्रा खोप हस्तान्तरण गरेको छ।
नेपालको आवश्यकतालाई ध्यान दिँदै फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकोमा मन्त्री खतिवडाले कृतज्ञता ज्ञापन गरे। ‘यो सहयोग नेपाल र युरोपेली सङ्घका सदस्य राष्ट्रहरूबीचको मैत्रीपूर्ण सम्बन्धको उदाहरण हो,’ मन्त्री खतिवडाले भने।
राजदूत डेप्रेजले फ्रान्स र इटालीले दिएको खोप र यसअघि जर्मनीले प्रदान गरेका खोप नेपालसँगको इयूको मित्रताको प्रतीक भएको बताए। ‘यसले कोभिडबिरुद्ध विश्वव्यापी एकता र बहुपक्षीय समाधानका लागि इयूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ उनले भने।
फ्रान्सले छ लाख ८५ हजार ४०० र इटालीले छ लाख ६३ हजार ६०० मात्रा खोप हस्तान्तरण गरेका हुन्। यसअघि जर्मनीले पठाएको ४१ लाख मात्रा खोपमा थपिएर यो इयू सदस्य राष्ट्रहरूले उपलब्ध गराएको खोपको सङ्ख्या ५४ लाख पुगेको छ। रासस
Shares
प्रतिक्रिया