विवाह गर्ने प्रलोभन देखाउँदै १५ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले एक युवकलाई १२ वर्ष कैद सजाय हुने फैसला गरेको छ।
सिन्धुली घर भई भक्तपुर बस्दै आएका विजय भन्ने आशिष नेपालीलाई जबरजस्ती करणी अभियोगमा १२ कैद र ५० हजार नगद जरिवाना हुने फैसला अदालतले गरेको हो।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश स्विकृती पराजुलीको इजलासले नेपालीलाई १२ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला सुनाएको हो।
नेपालीले सिन्धुलीको एक विद्यालयमा अध्ययनरत किशोरीलाई विवाह गर्छु भनि ललाइफकाइ भक्तपुरस्थित आफ्नो डेरामा ल्याएर पटक–पटक करणी गरेका प्रहरीले जनाएको छ।
पीडित किशोरी हाल काठमाडौंको गौशालास्थित माइती नेपालको संरक्षणमा रहेकी छन्। स्वास्थ्य परीक्षणबाट उनलाई पटकपटक करणी भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
२० वर्षभन्दा कम उमेरका युवतीको मञ्जुरीमै यौन सम्बन्ध राखेपनि जबर्जस्ती करणी हुने कानुनी व्यवस्था छ।
Shares
प्रतिक्रिया