समाज


‘श्रीमान्’ को विकल्पमा महिलामैत्री शब्द खोज्दै न्यायाधीश सपना

भन्छिन् : सबैजनाले ‘न्यायाधीशज्यू’ भने भइहाल्यो नि!
‘श्रीमान्’ को विकल्पमा महिलामैत्री शब्द खोज्दै न्यायाधीश सपना

सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्ल। तस्बिर : विक्रम राई/नेपालखबर


राधिका अधिकारी
माघ १३, २०७८ बिहिबार १९:१७, काठमाडौँ

सपना प्रधान मल्ल त्यतिबेला वकालत गर्थिन्। एक पटक राजधानीबाहिर कार्यक्रममा गएकी थिइन्। कार्यक्रममा दुई जना न्यायाधीश पनि सहभागी थिए। 

कार्यक्रममा उनले अन्य न्यायाधीशलाई ‘श्रीमान्’ भनेर सम्बोधन गरिन्। त्यो सुनेर एक सर्वसाधारण उनको नजिक आए र भने, ‘नानीको लोग्ने पो हुनुहुँदो रहेछ नि!’

उनले असहज महसुस गरिन्। 

पछि उनी सर्वोच्च अदालतको न्यायाधीश बनिन्। उनले इजलासमा दिनहुँजसो न्यायाधीशलाई सम्बोधन गर्ने लैंगिक रुपमा तटस्थ शब्द प्रचलनमा नहुँदा महिला न्यायाधीशका साथै अदालत आएका थुप्रै सेवाग्राहीले अप्ठेरो महसुस गरेको देखेकी छन्। 
०००

नेपालमा न्यायाधीशलाई पहिलेदेखि नै ‘श्रीमान्’ सम्बोधन गरिँदै आएको छ। यो सम्बोधनको प्रचलन सुरु हुँदा नेपालमा महिला न्यायाधीश त के वकिल समेत थिएनन्। त्यसैले कसैले अप्ठेरो महसुस गरेनन्।

२०१८ सालमा शान्तिदेवी क्षेत्री नेपालको पहिलो महिला अधिवक्ता भएर वकालतमा आइन्। २०२४ सालमा पहिलो महिला न्यायाधीशको रूपमा शारदा श्रेष्ठ जिल्ला अदालतमा नियुक्त भइन्।

२०५८ साल वैशाख ६ गते सुशीला सिंह (शिलु) सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश भइन्। पछि सुशीला कार्की प्रधानन्यायाधीश नै भइन्।

न्यायालयमा महिलाको प्रवेशसँगै ‘श्रीमान्’ सम्बोधन धेरैको कानमा बिझाउन थाल्यो। संसारमा पछिल्लो समय लैंगिक रुपले तटस्थ नसुनिने शब्दहरूको प्रयोग कम हुँदै गएका छन्। तर, ‘श्रीमान्’को सन्दर्भमा त्यस्तो प्रयास सो प्रयास सफल भएको छैन।

‘न्यायाधीशलाई श्रीमान् भन्ने अभ्यास नेपालमा मात्रै हो। विश्वका अन्य देशमा माइ लेडी, माइ लर्ड भनेर सम्बोधन गर्ने चलन छ,’ सपना भन्छिन्, ‘हामीकहाँ लैङ्गिक रुपमा पूर्वाग्रही शब्दले नै निरन्तरता पाइरहेको छ। धेरै वर्ष अगाडि कानुन व्यवसायीको एउटा सम्मेलनले ‘माननीय न्यायाधीश’ भने हुन्छ भन्ने निर्क्यौल निकालेको थियो। तर, हामीले अहिलेसम्म व्यवहारमा ल्याउन सकेका छैनौँ।’
०००

२०५८ सालपछि सर्वोच्च अदालतमा महिला न्यायाधीश पुगिसकेको अवस्था थियो। वकालत गर्ने महिलाको संख्या पनि निकै बढिसकेको थियो। तर, त्यो समयमा पनि नेपाल कानुन पत्रिकाले लेख्यो-‘न्याय दिने धीर पुरुष नै न्यायाधीश हुन्।’ 

महिला अधिकारको वकालत गर्दै आएका सपनालगायत महिला कानुन व्यवसायीलाई चित्त बुझ्ने कुरै भएन। उनीहरुले सर्वोच्च अदालतलाई पत्राचार गरे– ‘सर्वोच्च अदालतमै महिलाको सहभागिता भइसकेको बेला लैंगिक रुपमा तटस्थ शब्दको प्रयोग किन गरिएन? न्यायाधीश महिला पनि छन्, कसरी न्याय दिने धीर पुरुष मात्रै न्यायाधीश भए?’

लिङ्गका आधारमा नभई पदका आधारमा त्यस्तो लेखिएको हो भन्ने टालटुले जवाफ आयो। तर, त्यो परिभाषाले प्रष्ट रुपमा लैंगिक विभेद देखाएको छ भनेर महिला कानुन व्यवसायीले तर्क गरेपछि कानुन पत्रिकामा न्यायाधीशको परिभाषा परिवर्तन गरियो। 

त्यसपछि लेखियो– ‘न्याय दिने न्यायकर्ता नै न्यायाधीश हुन्।’ 

न्यायक्षेत्रमा तीन दशकभन्दा लामो अवधि गुजारिसकेकी सपना न्यायाधीशलाई ‘श्रीमान्’ भनेको मन पराउँदिनन्। तर, उनी आफैँ यदाकदा सहकर्मी न्यायाधीशहरूलाई त्यही शब्दले सम्बोधन गरिरहेकी हुन्छिन्।

‘लामो समय प्रयोगमा आएको शब्द भएकाले हामीभित्र गहिरो रुपमा गडेर बसेको छ। म आफैँ पनि शुद्ध गर्ने प्रयासमा छु,’ उनी भन्छिन्, ‘न्यायाधीशलाई श्रीमान् भनेर सम्बोधन गर्नु पर्छ भनेर कतै लेखिएको छैन।’

सपनाले बहसका क्रममा अदालतमा उपस्थित महिलालाई ‘श्रीमान्’ को सट्टा ‘माननीय न्यायाधीश’ भनेर सम्बोधन गर्न आग्रह गरिरहन्छिन्। तर, सबैको मुखमा गडेको शब्द भएकाले ‘श्रीमान्’ भन्न नै उनीहरु सजिलो मान्छन्। सपना उनीहरुलाई सम्झाउँछिन्– यही पुस्ताले परिवर्तनको प्रयास गर्यो भने आउँदो पुस्तालाई सजिलो हुन्छ।

‘हिजो न्याय सेवामा महिला नै नहुँदा महिला मैत्री शब्द आवश्यक छ भनेर सोचिएन। कुनै दिन महिलालाई पनि पुरुषहरूले श्रीमान् भनेर सम्बोधन गर्नुपर्ने दिन आउला भन्ने त्यतिबेला कसैलाई लागेन। अनि व्यवहारमा आउने कुरा पनि भएन,’ सपना भन्छिन्, ‘तर आज कानुनी बाध्यता नहुँदा नहुँदै पनि व्यवहारमा यो शब्दले निरन्तरता पाइरहेको छ। निश्चय नै हामीले लैंगिक रुपमा तटस्थ सम्बोधनको सुरुवात गर्नुपर्छ। ‘न्यायाधीशज्यू’ भने भइहाल्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .