समाज


भवानी राणा भन्छिन्ः नेपाली महिला कुशल व्यवस्थापक हुन्

भवानी राणा भन्छिन्ः नेपाली महिला कुशल व्यवस्थापक हुन्

राधिका अधिकारी
माघ २७, २०७८ बिहिबार ९:१५, काठमाडौँ

एक समय थियो, समाजले केटाकेटीलाई डाक्टर, इन्जिनियरको सपना बुन्दै हुर्कन सिकाउँथ्यो। डाक्टर, इन्जिनियर समाजका सबैभन्दा ठूला मान्छे हुन्। आमा–बुबा आफ्ना छोराछोरी डाक्टर, इन्जिनियर बनून् भन्ने सपना देख्थे। यही प्रभावले बालबालिका के बन्ने भन्ने ठूलाको प्रश्नमा बनिबनाउ उत्तर दिन्थे, ‘डाक्टर, इन्जिनियर।’ 

आफ्नो क्षमता र रुचि नबुझी बनाएका यी सपना कहाँ पुगेर भत्किन्थे, धेरैले थाहा पाउँदैनथे। कति त बुवा आमाको सपना पुरा गर्न सकिनँ भनेर आत्मग्लानिको सिकार समेत बन्थे।

अहिलेकी चर्चित उद्यमी भवानी राणाको पनि एकदिन सपना यसैगरी भत्किएको थियो। उनकी आमाको सपना थियो आफ्नी छोरीले डाक्टर भएर बिरामीको सेवा गरेको हेर्ने। भवानीको भने रुचि अन्तै थियो। उनलाई अरुले गरेको भाषणले तान्थ्यो। संगीतले मोहित पाथ्र्यो। आत्मनिर्भर बन्न मन लाग्थ्यो। 

हुन त भवानीले पनि हरेक समय एकै सपना देखिरहिनन्। तत्कालीन अञ्चलाधीश उनका बुबा कामको सिलसिलामा देशको विभिन्न ठाउँमा पुग्थे। बुबाको पछि लाग्दै सानैमा थुप्रै ठाउँ पुगेकी भवानीको मन नेपालको ग्रामीण क्षेत्रमा अभावमा बाँचिरहेका महिलाको अवस्थाले घोच्थ्यो। सम्पन्न परिवारका छोरी/बुहारी पनि आफ्ना ससाना रहर दबाएर बाँचिरहेका हुन्थे, आफू स्वावलम्बी थिएनन्, बुबा र श्रीमानहरुसँग आफ्ना रहर भन्न सक्दैनथे। तिनको अवस्था देखेर उनको सपना पनि मोडियो।

समाजको नेतृत्वमा आउने र महिला पनि सक्षम छन् भनेर समाजमा उदाहरण बन्ने भवानीको सपना थियो। उनकी आमा भन्थिन्, ‘आत्मनिर्भर बन्नुपर्छ। सीप सिक्नुपर्छ। छोरीहरुले पनि आर्थिक रुपमा सम्पन्न बन्नुपर्छ।’

भवानी सानैबाट पौडी, घोडचढी, संगीत, नृत्य सबै सिक्न चासो राख्थिन्। परिवार साथ दिन्थ्यो। अनि आमाले देखेको सपना टुटाए भनेर कुँडिएकी भवानी खुसी हुन्थिन्।

‘समयसँगै फेरिँदै जाने रहेछ सपनाको आयतन, खुसीको आयतन,’ भवानी सुनाउँछिन्।​

कुनैदिन चाहेको पाउनु जीवनको सपना थियो। जीवनको एक कालखण्डमा सीप सिक्नु र कमाउनु सपना बन्यो। भवानीको सपना यत्तिमै रोकिएन। उनले एकदिन पुरुषहरुले हाँकिरहेको उद्योग वाणिज्य महासंघको नेतृत्व गर्ने सपना देखिन्। आर्थिक रुपमा सक्षम हुन लागि पर्दा होस् अथवा महासंघको नेतृत्व गर्ने सपना बुनेर सपनाकै पछाडि दौडिरहँदा होस् उनका थुप्रै रहर छुटेका छन्। 

‘छुटेका रहरको मोहमा अल्झिएको भए देखेका सपना कहाँ पुरा हुन्थे र? फेरि आफ्नै सपना भत्किएको दृश्य कति कारुणिक हुन्थ्यो होला?’ हिजोआज भवानी आफैँसँग प्रश्न गर्छिन् र सन्तोषको सास फेर्छिन्। 

अब त जिन्दगीका सपना लगभग सकिएछन् नि होइन? प्रश्न भुइँमा खस्न नपाउँदै भवानीले भनिन्, ‘छैनन्। मान्छेको आवश्यकता जस्तै सपनाको दुरी पनि कहिल्यै नसकिने हुने रहेछ।’ 

उनको नजरमा नेपाली महिला कुशल व्यवस्थापक हुन्। नेपाली छोरीहरुको हुर्काइमै घरका हर समस्यासँग जुध्न सिकाइन्छ। त्यसैले महिलामा परिवार व्यवस्थापनको सीप विशेष हुन्छ। त्यो व्यवस्थापकीय कौशल पुरुषमा हुँदैन। तर समाजमा पुरुष सफल र महिला असफल हुन्छन्। कारण महिलाको त्यो क्षमता बाहिर आउनै पाउँदैन। महिलाको त्यही व्यस्थापकीय कौशललाई समाजसँग घुलित गराउनु भवानीको सपना बनेको छ हिजोआज। शिक्षित महिलाभन्दा अशिक्षित महिला भवानीको सपनाको हिस्सा हुन्। 

नेपाली महिला कत्तिको सपना देख्छन् त? सपना त देख्छन् तर सपना प्राप्तिको दौडमा सामेल हुँदैनन्।

भवानी भन्छिन् ‘सपना देख्नु पर्छ। देखेन भने पुरा हुँदैन। सपना देखेर मात्रै पनि पुरा हुँदैन। सपनाको पछिपछि दौडिनु पर्छ। बाटोमा थुप्रै बाधा आउन सक्छन्। त्यसलाई पार गरेर सपना पुरा गर्नु पर्छ।’ 

धेरै महिलाको आफ्नै सपना त हुन्छ। तर पुरा गर्ने दृढता कमैमा हुन्छ। सपनाको बाटोमा हिँड्न पाउने भाग्यमानी कमै हुन्छन्। सपना पुरा गर्न त घर, परिवार र श्रीमानको साथ चाहिन्छ। 

भवानी भन्छिन्, ‘हाम्रा छोरीहरुले विवाहअघि र पछि देख्ने सपना नै फरक हुन्छ।’ 

लामो समय महिला अधिकारका क्षेत्रमा काम गरेकी भवानीले महिलामा विशेष शक्ति देखेकी छिन्।

भन्छिन्, ‘महिलामा सीप र शक्ति विशेष खालको छ। त्यसलाई बाहिर उजागर गर्न आत्मविश्वास जगाउनु पर्छ। आत्मविश्वास शिक्षाले दिन्छ। उद्यमले दिन्छ। महिलाहरु उद्यमी बन्नु पर्छ।’

समाजमा पैसा कमाएका महिला र नकमाएका महिलालाई गर्ने सम्बोधन नै फरक छ। दुई पैसा कमाउने महिलाको आत्मविश्वास र इज्जत नै फरक हुन्छ। भवानीले सहरका भन्दा गाउँका महिलाको सपना सुन्दर देखेकी छिन्। गाउँका महिलाको सपना मानवीय संवेदनासँग जोडिएको पाएकी भवानी भन्छिन्, ‘उनीहरुका सपनालाई जोड्न र पुरा गर्न सक्यो भने नेपाली महिला धेरै अगाडि बढ्न सक्छन्। अहिले संविधानमा पनि महिलाको स्थानलाई राम्रोसँग सम्बोधन गरेको छ। धेरै संस्था पनि खुलेका छन् जो उनीहरुको सपनाको सारथी बन्न सक्छन्। बाटो देखाउन सक्छन्।’ 

भवानीको अहिलेको सपना भन्नु नै यिनै संस्था र सुदूर गाउँका महिलाको सपनाको सेतु बनिदिनु हो।

महिला र पुरुषबीच भिन्नता नदेख्ने परिवारमा हुर्किएकी भवानीले समाजमा भने थुप्रै भिन्नता देखेकी छिन्। महिलालाई सामाजिक रुपमा हिजो पनि अप्ठेरो थियो। आज पनि छ। राति अलिकति अबेर घर आयो भने के र किन भन्ने प्रश्नको जवाफ दिनुपर्ने अवस्था आज पनि छ। 

भवानी भन्छिन्, ‘महिला भएकै कारण अलिक बढ्दा चुनौती छँदैछ। मलाई पनि सुरुसुरुमा अप्ठेरो लाग्थ्यो, मनोवैज्ञानिक किसिमले। महासंघमा सबै पुरुषहरुका अगाडि एक्लो हुँदा असहज लाग्थ्यो र साथीहरुलाई बोलाउँथेँ। आज चाहिँ कुनै जेन्डर नै देख्दिनँ म। जैविक भिन्नता मात्र होला।’

मानिसहरु जीवनसँग गुनासो गरिरहन्छन्। आफ्नै जिन्दगीसँग बेखुसी हुन्छन्। आफ्नै आवश्यकतामा अल्झिएर जीवन र जीवनदातासँग गुनासो गरेको देख्दा भवानीलाई नमिठो लाग्दो रहेछ। आफू नजिकको मान्छे खुसी हुँदा आफू दुःखी हुने परम्परा बढ्दै गएको भवानीले देखेकी छिन्। अझ मनमा घाउ गाँठो पारेर अरुलाई देखाइदिनै खुसी भइदिनेहरुसँग कयौं पटक ठोक्किएकी भवानी भन्छिन्, ‘जिन्दगीमा दुःखेको बेला रुन सक्नु पर्छ। आँसु झार्न सक्नु पर्छ। जसले मानिसलाई फूलझैं हलुङ्गो र कोमल बनाउँछ।’

‘मानिसहरु मलाई खुसी देख्लान्। भाग्यमानी ठान्लान। औसत महिलाभन्दा केही भाग्यमानी पनि हुँला। तर जीवनको यो सफलता प्राप्तिको दौडमा मैले पनि थुप्रै उकालीओराली भोगेर आएकी हुँ। केही त जरुर गुमाएँ मैले पनि,’ भवानी भन्छिन्, ‘गुमेका रहर, परिवारसँग बिताउन नपाएको भावनात्मक समय अमूल्य हुन्छन्। जुन अब फर्किएर आउँदैनन्। पैसामा कन्भर्ट पनि हुँदैनन्। गुनासै गर्न खोजियो भने गुनासो गर्ने ठाउँ भेटिएलान्। तर जीवन भन्नु सन्तुष्टि पनि हो। म जीवनसँग सन्तुष्ट छु।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .