ad ad

समाज


व्यापारीको आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने दुई जना पक्राउ

व्यापारीको आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने दुई जना पक्राउ

नेपालखबर
फागुन ३०, २०७८ सोमबार १७:१२, काठमाडौँ

व्यापारीको आँखामा खुर्सानीको धुलो छर्केर सुन तथा नगद लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

फागुन २५ गते राति साढे ८ बजेतिर चावहिलको ओम शाही टङ्च सेन्टर सुन पसलका सञ्चालकको आँखामा खुर्सानी छर्केर लुटपाट गर्नेलाई महानगरीय प्रहरी बृत्त गौशालाले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा दाङको सौडियार घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २८ वर्षीय महेश विश्वकर्मा र दाङको रतनपुरका २४ वर्षीय राजेन्द्र सिन रहेका छन्। 

बिश्वकर्माको साथबाट प्रहरीले घटनामा प्रयोग भएको बा ७४ प ९५६० नम्बरको अपाचे मोटरसाइकल र ६६ हजार रुपैयाँ बरामद गरेको छ। 

राजेन्द्र सिनलाई भने जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो। दाङमा पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

उनको साथबाट घटनामा प्रयोग भएको रा ४ प ११२० नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल, २६१ ग्राम सुन, एक लाख रुपैयाँ, धारिलो हतियार खुँडा एक थान, तरबार एक थान, उच्च अदालत तुलसीपुरबाट जारी भएको तारेख पुर्जी लगायत बरामद भएको छ। 

प्रहरीका अनुसार उनीहरुले भारत महाराष्ट्र साङगाली थाना घर भई हाल चावहिल बस्ने ३४ वर्षीय अमोल भोस्लेलाई उनी सवार स्कुटी रोकी आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गरी सुन तथा नगद राखेको झोला लुटेर भागेका थिए। 

२५ गते साँझ पसल बन्द गरी साथमा ४२ तोला सुन र १२ लाख रुपैयाँ लिएर कोठा फर्किने क्रममा चुच्चेपाटीस्थित एनआईसी बैंकको पछाडी रहेको पार्किङस्थल नजिकै अपरिचित व्यक्तिले आँखामा खुर्सानी हालिदिएका थिए। 

उनीहरुले तीनदिनदेखि त्यहाँ रहेको क्याफेमा बसेर योजना बनाएको खुलेको छ। डकैतीमा अन्य पनि संलग्न भएको र उनीहरुको पनि खोजि भइरहेको एसपी मैनालीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .