अघिल्लो स्थानीय तह चुनावअघि दल र उम्मेदवारहरुले आफूले जिते विकास निर्माणका ठुल्ठूला योजना पुरा गर्ने घोषणा गरेका थिए। त्यस्ता अधिकांश योजनाहरु चुनाव सकिएसँगै बिर्सिइए। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा थुप्रै उम्मेदवारहरु फेरि त्यस्तै घोषणा पत्र लेख्न व्यस्त छन्। तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा भने एक युवाले अलि फरक मुद्दा लिएर चुनावमा उठ्ने जमर्को गरिरहेका छन्।
नेकपा एकीकृत समाजवादीमा आबद्ध माधव पन्त शैक्षिक सुधारलाई मुख्य नारा बनाएर चुनावमा उठ्दैछन्। दुई दशक बढी विद्यार्थी राजनीति गरेका ३६ वर्षीय पन्त विद्यावारिधि पनि गरिरहेका छन्।
पन्त कक्षा ८ मा पढ्दादेखि नै तत्कालीन नेकपा एमालेको चुनावी प्रचारप्रसारमा लागेका थिए। बैतडीको साविक नुवादेउ गाविसको वडा नम्बर ६ मा जन्मिएका उनी एसएलसी पढ्न कञ्चनपुर आए।
कार्ल मार्क्स, माओ, लेनिन, नेल्सन मन्डेला, पुष्पलाल, मदन भण्डारीहरुको जीवनी पढ्न थालेपछि आफू राजनीतिमा लाग्न उत्प्रेरित भएको उनको भनाइ छ।
‘पढाइले मात्रै हुँदैन। समाजसेवा, समान शिक्षाको पहुँच विस्तार गर्न, परिर्वतन र केही फरक गर्न राजनीति गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसपछि विद्यार्थी संगठनमा आबद्ध भएँ। समाज परिवर्तन गर्न, मानवीय चेतनालाई फराकिलो बनाउन विद्यार्थी कालबाटै राजनीतिमा प्रवेश गर्नुपर्छ भन्ने लाग्यो।’
उनी प्लस टूदेखि नै राजनीतिमा सक्रिय भए। तर पढाइमा पनि सफल थिए। राजनीति र पढाइ दुईतिर समय दिँदा राम्रोसँग सुत्न नपाएका दिनहरु उनी सम्झिन्छन्।
‘दिउँसो राजनीतिक कार्यक्रममा गइन्थ्यो। प्रायः क्लास छुटिरहन्थ्यो। तर साँझमा मोबाइल अफ गरेर पढ्थेँ,’ उनी भन्छन्, ‘परीक्षा नजिकिएसँगै एक महिना पढाइका लागि समय दिन्थेँ।’
२०६२/०६३ को आन्दोलनमा उनी अनेरास्ववियुका जिल्ला कमिटिको सचिवालयमा सर्गर २० वर्षको उमेरमै हिरासतमा बसेको अनुभव पनि उनीसँग छ। २०६३ वैशाख ११ गते लोकतन्त्र पुनर्स्थापना भएको दिन उनी छुटेका थिए।
‘१० वर्षीय जनयुद्धपछि केही उपलब्धि त भए तर पुनः राजनीतिक खिचातानी र स्वार्थ केन्द्रित राजनीति सुरु भयो। सोचेजस्तो उपलब्धि भएन,’ उनी भन्छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसमा उनले स्नताक पढे। त्यहीबेला स्ववियुको टिकट पाए र उपसभापति जिते।
२०६५ सालमा पढाइको सिलसिलामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कीर्तिपुरमा एमएमा भर्ना भए। त्यसबेला पनि संगठनको टीयू संयोजक बने। उनी भिसी कार्यालय तोडफोडको आरोपमा गिरफ्तार भएर एक हप्तासम्म हनुमान ढोकामा पनि थुनिए।
अंग्रेजी विषयमा एमए र एमफिलपछि राजनीतिशास्त्रमा पनि स्नातकोत्तर गरे। नेपाल ल क्याम्पसबाट एलएलबी गरे। अहिले उनी कूटनीतिक इतिहास विषयमा विद्यावारिधीका लागि २ वटा सेमेस्टर पुरा गरेर थेसिस लेखिरहेका छन्।
उनलाई लाग्छ– कुनैपनि राजनीतिक दलले विकास र परिवर्तनको योजना नभएको कसैलाई टिकट दिनुुहुँदैन। पढेलेखेका युवा र इमानदार समाजसेवीले दाबी नगर्दा व्यापारी र ठेकेदार उम्मेदवार बन्ने गरेको उनको भनाइ छ।
‘आसन्न निर्वाचनबाट पाँच वर्षका लागि प्रत्येक पालिकामा कुशल र स्थानीय तह हाँक्न सक्षम नेतृत्व आउनुपर्छ,’ उनी भन्छन्, ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नु युवाको अधिकार हो। पार्टीको निर्णय कार्यकर्ताले मान्नैपर्छ तर नयाँ कार्यकर्ता उम्मेदवार नबन्दा पार्टी कमजोर हुन्छ। त्यसैले अब इमानदार सक्रिय समाजसेवी व्यत्ति नेतृत्व तहमा आउनुपर्छ।’
नगर प्रमुख भएमा शिक्षाको सुधारमा केन्द्रित हुन चाहन्छन् उनी।
‘सार्वजनिक विद्यालयमा गरिब विपन्न तथा मजदुरका छोराछोरीहरूले पढ्न नपाएको अवस्था छ। यहाँका धेरै अभिभावक रोजगारीका लागि भारत जानुहुन्छ,’ उनी भन्छन्, ‘शिक्षालाई रोजगारीसँग जोड्न चाहन्छु।’
उनका अनुसार हाल सरकारी विद्यालयमा प्रावि तहमा विद्यार्थी नै नभएर कयौँ विद्यालय गाभिएका छन्। अनि कैयौँ विद्यालय बन्द भएर शिक्षकहरू नपढाइकन हाजिर मात्र गरेर तलब खाइरहेछन्।
‘पालिकामा के आवश्यक छ भन्ने कुरा बुझेको छु। यहाँका धेरै जनता कृषि पेसामा छन् म उनीहरुलाई आधुनिक कृषि प्रणालीतर्फ लैजान चाहन्छु। यहाँ पर्यटनको राम्रो सम्भावना छ। शुक्लाफाटा वन्यजन्तु आरक्ष र बतासे झरना यहीँ छन्,’ उनी भन्छन्, ‘यसको संरक्षण र प्रवद्र्धन गरेर आन्तरिक र बाह्य पर्यटकको आर्कषण बढाउन चाहन्छु।’
‘विकास निर्माण भनेको बाटो खन्नु मात्रै होइन। मुख्य कुरा चेतना हो,’ उनी थप्छन्, ‘म शिक्षामा बढी जोड दिन चाहन्छु। शिक्षा र प्रविधि मुख्य कुरा हुन्। प्रविधि विस्तार आवश्यक छ।’
लामो लडाइँपछि जनताका सन्तानले नेतृत्व गर्ने मौका पाए पनि त्यसको दुरुपयोग हुँदा जनता निराश बनेको उनको ठम्याइ छ।
‘हिजो राजाको छोरा जन्मिनेबित्तकै राजा हुन्थ्यो तर अहिले जनताको छोराले समेत नेतृत्व गर्ने अधिकार पाएको छ। बिडम्बना यसको दुरुपयोग भइरहेको छ। अब यसको सुधार गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘नेतृत्वप्रतिको गलत सोचलाई चिरेर नीतिगत रूपमा कडाइका साथ लागू गर्दै निराश जनमतलाई उत्साहित बनाएर देशको अर्थतन्त्र र जनताको जनजीविकामा सकारात्मक सुधार गर्न आवश्यक छ। सुशासनको यात्रा तय गर्नुछ। शिक्षा र प्रविधिबाट धेरै कुरा सम्भव छ।’
Shares
प्रतिक्रिया