‘तिमी एमबीबीएस इन्ट्रान्स टपर भयौँ,’ एकाबिहानै फोनमा उनले सुने।
स्याङजाको आँधीखोला गाउँपालिकाका १८ वर्षीय सुजल पौडेल निद्रामै थिए। सपनाको पो हो कि जस्तो पनि लाग्यो एकछिन। तर उनी अलमलिएनन्। निद्रा र अल्छीलाई सिरकसँगै फालेर उठे र आफैँले नतिजा हेर्न थाले।
त्यसपछि त खुसीको ठेगान रहेन।
उनले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा १७ हजार बढी विद्यार्थीलाई उछिनेका थिए। र, दुई सय पूर्णांकमा १८०.७५ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका थिए। राम्रो अंक आउनेमा उनी ढुक्क थिए तर सर्वोत्कृष्ट हुन्छु भन्ने ठानेका थिएनन्।
वि.सं. २०६० सालमा मध्यमवर्गीय परिवारमा जन्मिएका सुजलको प्रारम्भिक शिक्षा गाउँकै निजी विद्यालयबाट सुरु भएको थियो। कक्षा ७ सम्मको अध्ययनपछि उनी थप पढाइका लागि पोखरा पुगे। पोखराको अमरसिंह विद्यालयमा पनि प्रवेश परीक्षा दिनुपर्थ्यो। करिब सात हजार विद्यार्थीबीच भएको प्रतिस्पर्धामा पनि उनी शीर्ष भए।
उनलाई त्यहाँका शिक्षकले पढाउने तरिका राम्रो लाग्थ्यो। किनभने त्यहाँ घोकाउने चलन थिएन। विद्यार्थीले आफैँले अध्ययन गर्नुपथ्र्यो। सुजल आफैँ पनि कोर्सभित्र मात्रै सीमित रहने विद्यार्थी होइनन्।
उनलाई सिर्जनात्मक र रचनात्मक ढंगले पाठहरू सिक्न मन लाग्छ। नोट ल्याएर सार्न लगाएर प्रतिस्पर्धा गराउन खोज्ने शिक्षक उनलाई मन पर्दैन।
‘किनभने यस्तो अभ्यासबाट मात्रै विद्यार्थीले खास उपलब्धि हासिल गर्न सक्दैन,’ उनी भन्छन्।
उनले पोखराको अमरसिंह माविबाट २०७५ सालमा एसईई दिए। त्यो बेला पनि ४ जीपीए ल्याएर विद्यालयमा सर्वोत्कृष्ट बनेका थिए।
स्कुलमा उनलाई गणित र विज्ञान निकै सजिलो लाग्थ्यो। किनभने यी उनको रुचिका विषय थिए।
‘मलाई बच्चादेखि नै गणित र विज्ञान विषय बढी मन पथ्र्यो,’ सुजल भन्छन्, ‘त्यसैले सेन्ट जेभियर्समा बायोलोजी विषयबाट प्लस टु अध्ययन गरेँ।’
सेन्ट जेभियर्समा प्रवेश परीक्षा दिँदा पनि सहज नाम निकाले। उनी डाक्टर बन्ने र अनुसन्धानमा लाग्ने उनको चाहना थियो।
३.७९ जीपीए ल्याएर उनले प्लस टु उत्तीर्ण गरे।
गत भदौमा कक्षा १२ को परीक्षा सकियो। त्यसपछि एमबीबीएस प्रवेश परीक्षाको तयारीमा लागे। चैत १८ गते परीक्षा भयो। यसको तयारी भने उनले कक्षा ११ मा भर्ना भएदेखि नै गर्न थालेका थिए।
‘बुझेर पढ्छु’
सुजलले कहिल्यै घोकेर पढेनन्। प्रशस्त समय लिएर कुनै तनाव नलिई बुझेर पढ्ने उनको बानी छ।
‘घोत्लिएर दिन–रात पढ्दिनँ। पढेको कुरा बुझ्ने प्रयास गर्छु,’ उनी भन्छन्, ‘आफैँले पढ्ने हो। किताब र मोडलहरुबाट मलाई परीक्षाको तयारी गर्न सहज भयो।’
उनी नोट आफैँ बनाउँछन्। यसो गर्दा सम्झन सजिलो हुने उनको अनुभव छ।
‘शिक्षकले भनेको महत्वपूर्ण बुँदा टिप्छु, आफ्नै भाषामा नोट बनाउँछु। यसो हुँदा आफूले लेखेको कुरा प्रायः बिर्सिइँदैन र बुझिन्छ पनि,’ उनी भन्छन्, ‘शिक्षकले पढाएको र पाठ्यपुस्तकमा भएको जति सबै सार्ने होइन, चाहिने कुरा मात्र टिप्छु।’
इन्टरनेटका कारण थुप्रै कुरा खोज्न, पढ्न सहज भएको छ। जसका कारण हेर्न चाहेको कुरा भेटाउन गाह्रो छैन।
‘टपर हुने फर्मुला केही पनि हुँदैन, पढ्ने बेलामा आफूले पढ्ने हो। आफैँले मेहनत गर्ने हो,’ उनी भन्छन्, ‘पढ्ने तरिका हरेक व्यक्तिअनुसार फरकफरक हुन्छ।’
डा.रुइतले जस्तै सेवा गर्ने चाहना
कक्षा दसको नेपाली किताबमा उनले डा. सन्दुक रुइतको जीवनी पढेका थिए। त्यसले आफूलाई प्रेरणा दिएको उनी बताउँछन्।
सुजल भविष्यमा क्यान्सर रोगको अनुसन्धानमा लाग्न चाहन्छन्। अनि सन्दुक रुइतले जस्तै सेवा गर्न चाहन्छन्।
‘मेरो प्रेरणाको स्रोत सन्दुक रुइतको जीवनी हो,’ उनी भन्छन्, ‘मेरो सपना रुइतले जस्तै सेवा बाँड्ने छ।’
जीवनी पढिसकेपछि सुजलले इन्टरनेटमा रुइतका कामहरु खोजे। अनि आफूलाई रुइतसँगै राखेर धेरै पटक कल्पना गरे।
‘म कहिलेकाहीँ आफूलाई डा. सन्दुकसँग राखेर हेर्छु,’ उनी भन्छन्, ‘कसैको खोसिएको हाँसो फिर्ता ल्याउन सकिन्छ भने त्यो भन्दा ठूलो कुरा के हुन्छ!’
‘मलाई सर्जिकल डाक्टर होइन, क्यान्सर रोगमा विशेषज्ञता हासिल गरेर रिसर्चर बन्ने ठूलो इच्छा छ,’ उनले थपे।
Shares
प्रतिक्रिया