ad ad

समाज


वैदेशिक अध्ययनमा ११ महिनामै बाहिरियो ४६ अर्ब रुपैयाँ

वैदेशिक अध्ययनमा ११ महिनामै बाहिरियो ४६ अर्ब रुपैयाँ

एनओसी लिने विद्यार्थीको भीड


मीना खड्का
बैशाख १, २०७९ बिहिबार १८:५४, काठमाडौँ

कोरोना महामारीका कारण तीन वर्षदेखि विद्यार्थीहरु वैदेशिक अध्ययनका लागि जाने क्रम केही सुस्ताएको थियो। अहिले त्यसले पुनः तीव्रता पाएका छ।

उच्च शिक्षाका लागि ठूलो संख्यामा विद्यार्थी विदेसिँदा वर्षेनि अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ। यो वर्ष ११ महिनामै उच्च शिक्षाका नाममा नेपाली विद्यार्थीबाट ४६ अर्ब २४ करोड तीन लाख रुपियाँ बाहिरिएको नेपाल राष्ट्र बैङ्कको तथ्यांक छ। 

राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा ४६ अर्ब २४ करोड,  ०७६/०७७ मा २५ अर्ब ८१ करोड र ०७७/०७८ मा २४ अर्ब ९६ करोड, रुपैयाँ विदेशिएको छ। 

अध्यगमन विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा ८ सय ९३ जनालाई विदेश अध्ययनका लागि भिसा जारी गरिएको छ। विभागले २०७८ चैत ६ गते सर्वाजनिक गरेको तथ्याङ्क अनुसार यो वर्ष गत वर्षको तुलनामा  १५४ जना बढी विद्यार्थी विदेशिएका छन्। गत वर्ष फागुनको अन्त्यसम्ममा विभागले ७३९ जनाको भिसा जारी गरेको थियो। 

फागुनसम्मको अवधिमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या ३५ हजार ७ सय ५४ जना छ। गतवर्ष ४५ हजार ६ सय २५ जनाले एनओसी लिएका थिए। 

एनओसी लिनेको संख्या वार्षिक वृद्धि हुँदै गएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार अहिले दैनिक १ हजार ३ सय विद्यार्थीले एनओसी लिने गरेका छन्। 

पछिल्लो एक महिना यता एनओसी लिनेको संख्या ह्वात्तै बढेर गएको छ। शाखाको तथ्याङ्कअनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म विभिन्न देशमा विद्यावारिधि तथा एमफिलका लागि ५८ जना, स्नातकोत्तर तहको लागि ३ हजार ४४१ जना र स्नातक अध्ययनका लागि ६ हजार ९४ जनाले एनओेसी लिएका छन्। त्यस्तैगरी डिप्लोमाका लागि ८ हजार ६१०, अन्य विषयका लागि १० हजार ९४७ जनाले एनओसी लिएका छन्। त्यसैगरी विभिन्न देशमा भाषा अध्ययनका लागि ६ हजार ६०४ जनाले एनओसी लिएका छन्।

यसरी विद्यार्थी विदेसिँदा देशलाई दक्ष जनशक्तिसँगै आर्थिक नोक्सानी समेत भइरहेको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्।

‘उच्च शिक्षाका लागि विद्यार्थीसँगै मोटो रकम पनि बाहिरिएको छ,’ उनी भन्छन्, ‘दक्ष जनशक्तिसँगै आर्थिक नोक्सानी देशले बेहोरिरहेको छ। ज्ञान आर्जन गर्न गएका विद्यार्थीलाई फिर्ता ल्याउन नसक्नु मुख्य समस्या हो। यो ठूलो क्षति हो। निकै चिन्ताको विषय पनि हो। 

विदेशमा पढ्न जाँदा देश र विषयअनुसार फरकफरक शुल्क र बसोबाससहित एक विद्यार्थीको कम्तीमा १५ देखि २० लाख रुपैयाँ खर्च हुने गरेको शैक्षिक परामर्शदाताहरुको भनाइ छ। 

यद्यपि, यत्रो रकम खर्च गरेर विदेशिनु विद्यार्थीको रहर नभई बाध्यता भएको नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का अध्यक्ष प्रकाश पाण्डे बताउँछन्।  

‘नेपालबाट विद्यार्थी विभिन्न कारणले बाहिर जाने गरे पनि सामान्यतया पर्याप्त शिक्षाको अवसर र रोजगारीको अवसर नहुनु हो,’ उनी भन्छन्, ‘आफ्नो इच्छाअनुसारको कोर्स नहुनु, भएपनि सीमित कोटा हुनु मुख्य कारण हुन्।’ 

शिक्षाविद् डा. कोइराला देशमा गुणस्तरीय उच्च शिक्षा र कमाउने अवसर नभएका कारण विद्यार्थी बाहिरिएको बताउँछन्। 

‘यहाँ गुणस्तरीय शिक्षा भएन। पढ्ने मात्रै होइन कमाउन पनि सकिन्छ भन्ने लोभमा धेरै नेपाली विद्यार्थी बाहिरिन्छन्। विद्यार्थीको मनोकांक्षा बुझेर पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न सकिन्छ,’ उनले भने। 

यसरी नै जनशक्ति बाहिरिरहने र फेरि फर्केर नेपाल नआउने प्रवृत्ति बढ्दै गए अवस्था  जटिल बन्ने उनको भनाइ छ।

‘हाम्रो नेतृत्वलाई देश बनाउनुपर्छ, साँच्चै बनाउनुपर्छ भन्ने चेत हुनुपर्छ। नेताले झुट बोल्न, भाषण मात्रै गर्न छाड्यो भने परिवेश बन्छ, नेपाली युवा आफूले चाहेको कुरा पढेर आफ्नै देश फर्कन्छन्,’ उनी भन्छन्।   

उनले राजनीतिक नेतृत्वले मुलुकलाई आर्थिक उन्नतितर्फ डोर्याउन नसकेकोमा निराशा पनि व्यक्त गरे।

‘विकसित देशहरू जस्तै चीन, जापान कसरी त्यहाँ पुगे भन्ने बुझेर पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नेतर्फ अग्रसर नहुनु अहिलेको राजनीतिज्ञहरुको कमजोरी हो,’ उनले भने, ‘समय र अनुशासनको पालना गर्दै श्रमको सम्मान गर्न, बोली र व्यवहारमा एकरूपता ल्याउन नसक्ने पनि नेतृत्व हुन्छ?’ 

विश्वका ५७ देशमा नेपाली विद्यार्थी, प्रमुख गन्तव्य जापान र अस्ट्रेलिया
शिक्षा मन्त्रालयका अनुसार पछिल्लो समय नेपाली विद्यार्थी विश्वका ५७ मुलुकमा अध्ययनका लागि जाने गरेका छन्। अस्ट्रेलिया, जापान, कोरिया, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्यान्ड, मंगोलिया, श्रीलंका, इजिप्ट, फ्रान्स, बंगलादेश, फिलिपिन्स, पाकिस्तानलगायत देशमा मेडिकल, व्यवस्थापन, आईटी, होटल म्यानेजमेन्ट, इन्जिनियरिङ, वन विज्ञान, कृषिका लागि विद्यार्थीहरूले एनओसी लिने गरेको तथ्यांकले देखाउँछ। 

केही वर्षदेखि कहिले जापान त कहिले अस्ट्रेलियामा बढी नेपाली विद्यार्थी जाने गरेका छन्। आर्थिक वर्ष २०७५/०७६ मा एनओसी लिएका ६३ हजार २५९ विद्यार्थीमध्ये आधाभन्दा धेरैले अस्ट्रेलिया रोजेका थिए। तर कोरोना महामारी सुरु भएपछि उक्त मुलुकले अन्तर्राष्ट्रिय सीमा बन्द गर्यो। त्यसपछि विद्यार्थी अन्यत्र जान थाले। 

शिक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७७/०७८ मा जापान अध्ययनका लागि आठ हजार १४६ तथा अस्ट्रेलिया जान चार हजार ८४९ विद्यार्थीले एनओसी लिएका थिए। यस्तै अस्ट्रियाका लागि ४ हजार ८ सय ४९, भारतको लागि २ हजार सात सय ९७, कोरियाका लागि दुई हजार ६४३ तथा क्यानडाका लागि दुई हजार ५१६ जनाले एनओसी लिएका छन्। बेलायत अध्ययनका लागि दुई हजार ३५४ जना तथा अमेरिकाका लागि ९६४ जनाले एनओसी लिएको मन्त्रालयको तथ्यांक छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .