ad ad

समाज


गरिबका डाक्टर सुवेदीः जो सरकारी सुविधा त्यागेर दुर्गमका बिरामीको सेवामा जुटे

गरिबका डाक्टर सुवेदीः जो सरकारी सुविधा त्यागेर दुर्गमका बिरामीको सेवामा जुटे

मीना खड्का
बैशाख ४, २०७९ आइतबार ८:२३, काठमाडौँ

अवसर र सुविस्ताको खोजी मानिसको स्वभाव हो। त्यसैको खोजीमा मानिसहरु गाउँबाट सहर पस्छन्, कतिपय विदेश पुग्छन्। पढेलेखेर, ज्ञानसीप आर्जन गरेका मानिसहरु विरलै गाउँ फर्किन्छन्। त्यस्तै बिरलाकोटीका एक व्यक्ति हुन्, डा. लेखराज सुवेदी। जो प्युठानको टारीमा बसेर गाउँलेहरुको उपचार गरिरहेका छन्।

बिजुवारको टारीमा २०११ सालमा जन्मिएका डा. सुवेदी त्रिवि शिक्षण अस्पतालको सरकारी जागिर छाडेर २०६० सालमा गाउँ फर्किएका हुन्। 

सुवेदीले मुक्ति माध्यमिक विद्यालय रातामाटाबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे। विज्ञान पढ्ने चाहनाले काठमाडौँसम्म आए। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हेल्थ असिस्टेन्ट अध्ययनपछि पाल्पाको तानसेनस्थित सीएमए क्याम्पसमा अध्यापन गरे। त्यसैबेला छात्रवृत्तिमा एमबीबीएस अध्ययनको अवसर पाए।

चिकित्साशास्त्र अध्ययन संस्था महाराजगञ्जबाट एमबीबीएस अध्ययन पुरा गरी शिक्षण अस्पतालमा करिब आठ वर्ष हार्डजोर्नी विभागमा चिकित्सक र सहप्राध्यापक रहे।

त्यसपछि बिदामा प्युठान गएका उनी स्थायी नोकरीमा फर्केर गएनन्। 

‘ठूलो अस्पतालमा त अन्य डाक्टर पनि थिए तर मलाई जन्मस्थलको सेवा गर्ने भावना जाग्यो,’ उनी भन्छन्, ‘अस्पतालका हरेक दृश्यले आफ्नै गाउँको याद दिलाउँथ्यो। त्यसपछि म रोकिएर बस्न सकिनँ। गाउँ आएपछि सहर फर्किनँ।’

उनी गाउँ फर्किंदा युद्ध चलिरहेको थियो।

‘त्यतिबेला तत्कालीन माओवादी र सरकारबीच सशस्त्र द्वन्द्व थियो,’ उनी सम्झन्छन्, ‘गोली लागेका केहीको उपचार पनि गरेँ।’

प्युठानको टारीमा एउटा सानो कोेठा भाडामा लिएका छन्। उनले यो कोठालाई क्लिनिक भनेका छन्। तर, पैसा दिन नसक्नेलाई निःशुल्क उपचार गर्छन्। विशेषगरी अपाङ्गता भएका, गरिब, निमुखा बिरामीले शुल्क दिए पनि उनी लिन मान्दैनन्। 

अन्यलाई पनि निकै कम शुल्कमा सेवा दिन्छन्। त्यही रकमले औषधि किन्न पुग्छ। १८ वर्षदेखि उनी घरघरै पुगेर बिरामीको उपचार गरिरहेका छन्।

उनलाई खोज्दै बिरामीहरु अर्घाखाँची, रोल्पा, बाग्लुङ र गुल्मीबाट समेत आउँछन्। 

‘आन्तरिक व्यवस्थापनका लागि मात्रै थोरै पैसा लिने गरेको छु, कमाउनका लागि होइन,’ उनी भन्छन्, ‘जिल्लाभित्रका मात्रै होइन, छिमेकी जिल्लाबाट पनि बिरामी आउँछन्।’

उपचारका सिलसिलामा विभिन्न गाउँहरु चाहार्नु उनको दैनिकी हो। 

‘गाँउका अरु मान्छेजस्तै त हो, मेरो पेसा पनि,’ उनी भन्छन्, ‘कोही घाँस काट्न डोको बोकेर हिँड्छन्। म बिरामी जाँच्न व्यस्त हुन्छु।’  

गाउँलेहरु उनलाई ‘गरिबका डाक्टर’ भनेर चिन्छन्। सात वर्षपछि काठमाडौँ आएका उनलाई फेरि गाउँ फर्किन हतार थियो। 

‘भोलि नै प्युठान हिँड्दै छु, अहिले पनि बिरामी आएर फर्किने गरेको खबर आइरहेको छ,’ उनले भने।

उनी स्वास्थ्य क्षेत्रमा गाउँ र सहरबीच ठूलो खाडल रहेको बताउँछन्।

‘बिरामी गाउँमा छन्, डाक्टर सहरमा। बिरामी भएका ठाँउमा डाक्टरको अभाव छ,’ उनी भन्छन्, ‘त्यहीँ सोचेर म गाउँ गएँ।’ 

आफूले नसक्ने बिरामी आउँदा उनीहरुलाई दाङ, बुटवल र काठमाडाँै रिफर गर्छन्। 

सुरुका दिनमा काठमाडौँ छाडेर प्युठान जाँदा उनलाई गल्ती गर्यौ भन्नेहरु कम थिएनन्। अहिले उनीहरु नै सुवेदीलाई भन्छन्– राम्रो गर्यौ।

६८ वर्षीय सुवेदी अविवाहित हुन्। 

‘किन विवाह गर्नुभएन भनेर धेरैले प्रश्न गर्छन् तर मसँग जवाफ छैन,’ डा. सुवेदी भन्छन्, ‘यस्तै काममा व्यस्त हुँदाहुँदै निजी जीवनबारे सोच्न भ्याइनँ।’

उनी आमा अपास सुवेदीको साथमा बसेका छन्। बिरामीको उपचारमा गाउँगाउँ गएका छोरालाई कुरेर हरेक दिन ९० वर्षीेया आमा बसिरहेकी हुन्छिन्। 

‘छन त भाइबहिनीहरु छन् तर आमा मसँगै हुनुहुन्छ,’ उनी भन्छन्, ‘आमालाई हेरचाह गर्ने मान्छे अहिले कोही छैन, त्यसैले पनि म चाँडै जानुपर्नेछ।’

आजभोलि त उनी मोबाइल पनि बोक्दैनन्।

‘साथीभाइ तथा परिवारको आग्रहमा मैले केही समयअघि मोबाइल बोेकेको पनि थिएँ,’ उनले सुनाए, ‘तर, मोबाइलकै कारण निकै समय नष्ट भएको ठानेर बोक्न छाडेँ।’

०७१ सालमा राष्ट्रपतिबाट प्रदान गरिने ‘समाज सेवा रत्न पुरस्कार’ बाट उनी सम्मानित भएका थिए। तर, सो पुरस्कार थाप्न पाएका थिएनन्। यसपटक सरकारले विभूषण दिने भएपछि उनी काठमाडौँ आएका थिए। 

सुवेदीलाई यसअघि पनि विभिन्न समय जनस्वास्थ्यमा उत्कृष्ट सेवा दिएबापत राष्ट्रपति, उपराष्ट्रपति, समाज कल्याण परिषद्, लुम्बिनी प्रदेश सरकारलगायत दर्जनौँ सामाजिक संघसस्थाले पुरस्कृत गरेका छन्।

उनीसँगै अध्ययन गरेका साथीहरू पनि धेरैजसो विदेशमा छन्। अहिले विदेश पढ्न गएका युवाहरुमध्ये थुप्रै फर्किंदैनन्। उनलाई यो देख्दा दुःख लाग्छ।

‘अध्ययनका लागि होस् या त स्वदेशमा अध्ययन गरिसकेपछि उचित रोजगारीको अवसरको खोजीमा होस्, विकसित देशमा गएपछि विद्यार्थी नेपाल फर्केर आउने कमै हुन्छन्,’ उनी भन्छन्, ‘यो राम्रो होइन। आफ्नै देशमा अवसरको खोजी गनुपर्छ।’

आफूलाई भने गाउँमा सन्तुष्टि प्राप्त भएको उनको भनाइ छ। 

‘काठमाडौँमा विलासी जीवन बिताएको भए यत्तिको खुसी र सन्तुष्टि पाउने थिइनँ, जति सन्तुष्टि गरिबको निशुल्क उपचार र सेवा गर्दा पाएको छु,’ उनले भने।

जीवनमा ठूला सपना नसाँचेको उनले सुनाए।

‘मेरो ठूलो सपना छैन। म जीवनमा महान सपना देख्ने मान्छे पनि होइन,’ उनी भन्छन्, ‘अब यही कामलाई अलिकति व्यवस्थित गर्नुछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .