ad ad

समाज


हिम्मतिला हरिप्रसाद : खुट्टाले लेखेर दिँदैछन् एसईई, लक्ष्य सरकारी जागिर

हिम्मतिला हरिप्रसाद : खुट्टाले लेखेर दिँदैछन् एसईई, लक्ष्य सरकारी जागिर

यस पटकको एसइई परीक्षमा सहभागी हरिप्रसाद बुढाथोकी। तस्बिर सौजन्य : प्रकृति अधिकारी


मीना खड्का
बैशाख ९, २०७९ शुक्रबार १८:५, काठमाडौँ

दुई वर्षदेखि कोरोना महामारीका कारण भौतिक रुपमा हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदाका एकजना परीक्षार्थी हुन् हरिप्रसाद बुढाथोकी। 

४ लाख ९४ हजार ६ सय ८१ परीक्षार्थीमध्ये हरिप्रसाद काठमाडौंको दक्षिणकाली, तिखेलस्थित अरुणोदय मावि परीक्षा केन्द्रबाट पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्, त्यो पनि खुट्टाले लेखेर।

अरुणोदय माविका प्रधानाध्यापकसमेत रहेका केन्द्राध्यक्ष रामकाजी बस्नेतका अनुसार हरिप्रसादलाई परीक्षाका लागि अलग्गै कोठामा राखिएको छ। उनका लागि थप डेढ घण्टा समय पनि दिइएको छ।

पहिलो दिन परीक्षा केन्द्रबाट निस्किएका हरिप्रसादलाई उनी पढ्ने शिखरापुर खुला विद्यालयकी संयोजक ललिता लामिछानेले सोधिन्, ‘परिक्षा कस्तो भयो?’ उनले मुस्किलले भने, ‘राम्रो।’ 

हरिप्रसाद राम्रोसँग बोल्न सक्दैनन्, शब्द उच्चारण गर्न बल गर्नुपर्छ। तर उनमा बलियो इच्छाशक्ति छ। 

गत असारमा फर्पिङको शिखरापुर खुला विद्यालयमा कक्षा १० मा भर्ना भएका हरिप्रसादको अठोट देख्दा ललिता खुसी छिन्। सरल स्वभाव, नियमित, असल र मिहिनेती विद्यार्थीका रुपमा चिनिएका छन्, उनी। उच्च शिक्षा अध्ययन गरेर जागिर खाने सपना साँचेका छन् हरिप्रसादले।

खुट्टाले लेख्दै हरिप्रसाद बुढाथोकी। तस्बिर सौजन्य : प्रकृति अधिकारी

दक्षिणकाली नगरपालिका चाल्नाखेल–१ का ३५ वर्षीय हरिप्रसादका दुवै हातले लेख्न सक्दैनन्। खुट्टा पनि त्यति सबल छैनन्। बोल्ने चाहाना छ। तर बोल्न कठिन हुन्छ। चुनौती छिचोल्दै सफल हुने दृढतासहित भने, ‘एसइई पास गर्छु, क्याम्पस पढेर जागिर खान्छु, आफ्नै खुट्टामा उभिन्छु।’ 

परिवारमा बुबाआमा छैनन्। तर बुवा दाजुभाउजूले बुवाआमाको कमी हुन दिएका छैनन्। अथाह स्नेह पाएका छन् उनले। दाजुभाउजूले नै उनलाई विद्यालय लान–ल्याउन सघाउँछन्। उनीहरुकै निरन्तर प्रेरणा र समर्थनका साथै सहयोग र हौसलाले हरिप्रसादमा अझै पढ्ने जोस–जाँगर भरिएको छ। 

जन्मिँदै शारीरिक अपाङ्गता भएका बुढाथोकीले कक्षा ४ सम्म पढेपछि बिरामीका कारण स्कुल जान पाएनन्। 

२०७० सालमा चाल्नाखेल आधारभूत विद्यालयमा फेरि भर्ना भएर उनले कक्षा ८ पूरा गरे। टौदह राष्ट्रिय माविमा कक्षा ९ मा भर्ना त भए, तर घरबाट तीन किलोमिटर परको विद्यालय पुग्न कठिन भयो। अनि बाध्य भएर पढाइ छाड्नुपर्यो। 

शिखरापुर खुला विद्यालयका प्रधानाध्यापक विनोद महत राम्ररी बोल्न नसक्ने भएकाले सहयोगी राखेर परीक्षा दिलाउन नसकिएको बताउँछन्। ‘बोली खासै नआउने भएकाले सहयोगी राख्न पनि सम्भव भएन,’ उनले भने। 

शारीरिक रुपमा अपाङ्ग भए पनि चेतना र चिन्तन शसक्त छ उनको। दृढ इच्छाशक्ति र हिम्मतले एसइई दिनेसम्म बनाएको छ। हरिप्रसादको संकल्प र चाहना यतिमै सीमित छैन। उनी बेलाबेला शिक्षिकालाई सुनाउँछन्, ‘क्याम्पस पढ्ने, जागिर गर्ने अनि आफ्नै खुट्टामा उभिने सपना।’  

शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भौतिक रुपमा परीक्षा लिएको छ। परीक्षाका लागि देशभर २ हजार २७ परीक्षा केन्द्र तोकिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .