ad ad

समाज


उच्चबाट जिल्लातिरै फर्कियो सिद्धबाबाको बलात्कार प्रकरण

उच्चबाट जिल्लातिरै फर्कियो सिद्धबाबाको बलात्कार प्रकरण

नेपालखबर
जेठ ३, २०७९ मंगलबार २१:७, काठमाडौँ

उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबर्जजस्ती करणी मुद्दामा पुनः सुनुवाइ गर्न जिल्ला अदालतमै पठाउने फैसला गरेको छ। यौन सम्बन्ध राखेको ठहर गरे पनि जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि दुवै पक्ष त्यसविरुद्ध उच्च अदालत विराटनगर पुगेका थिए। 

मंगलबार उच्च अदालतका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले पुनः इन्साफका लागि पठाउने फैसला गरेको हो। 

सिद्धबाबाका नामले परिचित धरानको चतराधामका कृष्णबहादुर गिरीविरुद्ध आफ्नै अनुयायी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा २०७७ चैत २६ गते मुद्दा दर्ता भएको थियो। 

सुनसरी जिल्ला अदालतले २०७७ मंसिर २२ गते उक्त मुद्दाको फैसला गर्दै करणी भएको तर सहमतिमै भएको भनेपछि पीडित २६ वर्षीया महिलाले बलात्कार नै भएको जिकिर गर्दै सिद्धबाबालाई सजाय माग राखेर उच्च अदालत (विराटनगर) मा पुनरावेदन दिएकी थिइन्। 

यस्तै प्रतिवादी गिरीले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रह्मचार्यमा प्रश्न उठाएको भन्दै सफाइको माग गरेर पुनरावेदन निवेदन गरेका थिए।

दुवै पक्षले जिल्लाको फैसलामाथि पुनरावेदन गरेपछि उच्च अदालतले जिल्लामा नै पुनः पठाउने ठहर गरेको हो। 

सोलुखुम्बु घर भएका गिरी सुनसरीको बराहक्षेत्रस्थित धार्मिक स्थलमा बसेर आफूलाई बाल ब्रह्मचारी भएको दाबी गर्थे। तर उनैले आफूलाई बलात्कार गरेको भन्दै एक जना भक्तालु महिलाले २०७७ मंसिर ११ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गरेकी थिइन्। उजुरीमा उनले कात्तिक ४ गते सिद्धबाबाले आश्रममै बोलाएर आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छन्। 

प्रहरीले २०७६ पुस १० गते जिल्ला अदालत (सुनसरी) मा  दर्ता गरिएको मुद्दामा २०७७ मंसिर २२ गते फैसला सुनाएको थियो। 

न्यायाधीश अर्जुनप्रसाद कोइरालाले गरेको फैसलामा सिद्धबाबाले करणी गरेको तर सहमतिमै गरेको उल्लेख छ। 

पीडितका कानुन व्यवसायी अधिवक्ता डिल्ली दाहालले भने, ‘उच्च अदालतको फैसलासँगै अब पुनः जिल्ला अदालतमा सुनुवाइ हुन्छ। यसअघिको फैसला ठिक भएको छैन। पीडक त सुरुमै तारेख गुजारेर बसेका थिए। प्रमाणका रुपमा पेस गरिएको अडियो पनि परीक्षण हुनुपर्छ।’

उच्च अदालतले जिल्लामै पुनः सुनुवाइ गर्न भनेसँगै अब पीडितले न्याय पाउने विश्वास उनले व्यक्त गरे गरे। 

‘पूर्ण फैसला त हेरेको छैन। तर अब जिल्लाले नै न्याय दिनेछ भन्ने विश्वास छ। यदि जिल्लाले फेरि पनि त्रुटि गर्छ भने हामी फेरि उच्च अदालत जाने बाटो छँदैछ,’ अधिवक्ता दाहालले नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .