सर्लाहीको हरिवन नगरपालिका क्षेत्रमा कुकुर आतंक बढेको छ।
शुक्रबार मात्रै हरिवनको ७, ८ र ११ नम्बर वडामा गरेर करिब १० जनालाई छाडा कुकुरले टोकेको छ। त्यसरी टोक्दै हिँड्ने कुकुर बहुलाएको हुन सक्ने आशंका स्थानीयले गरेका छन्।
शुक्रबार दिनभरीमा कुकुले टोकेका ७/८ जना बिरामी उपचारको लागि हरिवनस्थित नमूना अस्पताल पुगेका छन्। अस्पतालका डाक्टर सन्तोष यादवका अुनसार त्यसरी जानेमा केही बालबालिका छन्।
‘हिजो एकैदिन कुकुरले टोकेका धेरै बिरामी उपचारको लागि यहाँ आउनु भयो। केही बालबालिकालाई घाँटीभन्दा माथिको भागमा टोकेको पाइयो,’ डा.यादवले भने, ‘घाँटीभन्दा माथिको भागमा बहुलाहा कुकुरले टोक्यो भने खतरा बढी हुन्छ। त्यस्ता बिरामीलाई उपचारको लागि तुरुन्तै काठमाडौं रिफर गरेका छौँ।’
हरिवन ८, बेताली घर भएका तारानाथ पोखरेलका पाँच वर्षीय छोरा श्रेयानलाई शुक्रबार साँझ घरको आँगनमै खेलिरहेको बेला कुकुरले टोकेको छ। कान, गर्घनसहित घाँटी भन्दा माथिल्लो भागमा कुकुरले टोकेको कारण उनलाई राति नै उपचारको लागि काठमाडौं लगिएको छ।
हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले कुकुरले टोकेका बिरामीलाई उपचारको व्यवस्था मिलाइने बताए। ‘कुकुरले टोकेका पीडितले सम्पर्क गर्नुहोला। हामी उपचारको व्यवस्था मिलाउने छौँ,’ बुढाथोकीले भने। उनले हरिवनमा खिच्चा कुकुर नियन्त्रणको लागि नगरपालिकाले पहल गर्ने पनि बताए।
हरिवन- ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले कुकुरले टोकेका धेरैजना बिरामी आफ्नो सम्पर्कमा आएको बताए। उनले तत्कालको लागि कुकुरले टोेकेका बिरामीलाई उपचारको व्यवस्था मिलाइने र दीर्घकालिन रुपमा छाडा कुकुर नियन्त्रणको पहल गरिने जानकारी दिए।
हरिवन- ८ का केही किसानका खसी, बाख्रा र कुखुरा पनि छाडा कुकुरले टोकेर मारेको छ। समूहमा हिँड्ने त्यस्ता कुकुरले पशुचौपायालाई बाँधेकै ठाउँमा गएर आक्रमण गर्ने गरेको किसानहरुले बताएका छन्।
प्रतिक्रिया