ad ad

समाज


विमान खोजीका १० घण्टा : पैदल टोली फर्कियो, हेलिकप्टर जानै सकेन

विमान खोजीका १० घण्टा : पैदल टोली फर्कियो, हेलिकप्टर जानै सकेन

उजिर कार्की
जेठ १५, २०७९ आइतबार २०:५, काठमाडौँ

पोखरादेखि जोमसोमसम्मको हवाई बाटो १५ मिनेटको छोटो दुरी हो। तर, यति छोटो दुरीमा आइतबार बिहान ९ः५५ देखि सम्पर्कविहीन भएको तारा एयरको जहाज साँझ ८ बजेसम्म फेला पर्न सकेन। १९ जना मानव बोकेर उडेको यो विमानको खोजी यति लामो र पट्यारलाग्दो हुनु भयंकर पीडादायी विषय हो।

पोखरा र मुस्ताङको हवाइमार्ग जति छोटो छ, त्यति नै जोखिमपूर्ण पनि छ। खोंच, पहाड र हिमालको बाटो भएकाले यहाँ विमान दुर्घटना नै भइहालेको रहेछ भने पनि घटनास्थलमा पुग्न सजिलो छैन।

छोटो दुरीको बाटोमा भए पनि दुर्गम पहाडी क्षेत्र भएकाले दिनभरिको खोजी कार्य सफल हुन नसकेको हो।

हराइरहेको विमान अब सोमबार बिहानदेखि पुनः खोजिने भएको छ। आइतबार मौसम खराब हुँदा हेलिकप्टर त्यस क्षेत्रमा उड्न सकेन। पैदल गएको टोली पनि आशंका गरिएको ठाउँसम्म पुग्न सकेन। अनकन्टार हिमाली क्षेत्रमा पैदल खोजी कार्य सम्भव हुन नसकेको हो।

सोमबार थप टोली पनि पठाउने गरी तयारी भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपालखबरलाई जानकारी दिए।

हराएको जहाज मुस्ताङका यी पाँच ठाउँमा खोजिँदै

हेलिकप्टर खोजीका लागि काठमाडौंबाट उद्धार टोलीसहित १२ जना, जोमसोमको नारायण दल गणबाट ६२ जना सेना खटिएको थियो।

यस्तै सशस्त्र प्रहरीको ३० जना र नेपाल प्रहरीका २५ जनाको टोली खटिएका थिए।

‘हामी मानापाथीको अर्कोपटिको भागमा पुगेर फर्कियौं। त्यहाँबाट जान सक्ने सम्भावना भएन। अब भोलि बिहान अर्को पाटोमा जाने कुरा छ’, उद्धारमा सहभागी एक सुरक्षा अधिकारीले भने।

माथि हिमाली भागमा पुगेको टोली अहिले कोवाङमा ओर्लिएको छ। केही सुरक्षाकर्मी जोमसोम नै फर्किने र केही स्थानीय युनिटका प्रहरी कोवाङमै बस्ने भएका छन्।  

आइतबार संकास्पद विभिन्न स्थानमा सुरक्षाकर्मी पुगे पनि फेला पर्न सकेन। रात परेसँगै खोज तथा उद्धारमा खटिएको टोली सुरक्षित स्थानतर्फ फर्किएको हो। सैनिक प्रवक्ता नारायण सिलवालले अब सोमबार बिहानैबाट खोजी तथा उद्धारको काम सुरु हुने जानकारी दिए।

खोजी कार्यमा खटिएको टोली पाइलटको मोवाइल ट्रयाकिङ भएको क्षेत्रमा पुगेको थियो। यार्सागुम्बा खोज्न गएको टोलीले जहाज त्यस क्षेत्रमा दुर्घटनामा परेको जानकारी सुरक्षाकर्मीलाई दिएका थिए।

मानापाथी हिमालको पहिरो मुनि भएको आशंका गरिए पनि त्यहाँसम्म आइतबार टोली पुग्न सकेन। आइतबार दिनभर त्यसक्षेत्रको मौसम खराब हुँदा हेलिकप्टर माथिल्लो भागमा जान सकेन।

कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कलसाइन भएको जहाज उडेको केही समयमै सम्पर्कविहीन भएको थियो।

पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो। लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएका छन्।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक गरी १९ जना सवार छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .