समाज


बाबु छोरा हत्या प्रकरण : बुहारीले सुपारी दिएर बनाएकी थिइन् याेजना

बाबु छोरा हत्या प्रकरण : बुहारीले सुपारी दिएर बनाएकी थिइन् याेजना

शैलेन्द्र महतो
जेठ १७, २०७९ मंगलबार २२:१०, जनकपुरधाम

सिरहामा बाबु छोराको हत्या विवाहमा नबोलाउँदा बुहारीले नै गराएको खुलेको छ। 

गएको जेठ ८ गते राति घरमा सुतिरहेको बेला सिरहाको अर्नामा गाउँपालिका वडा नं. १ महनौर बस्ने ६० वर्षीय लुचाई भन्ने चन्देश्वर पाल र उनका छोरा १९ वर्षीय सन्त कुमार पालको धारिलो हतियार प्रहार गरी विभत्स हत्या भएको थियो। सो हत्या घटना चन्द्रदेव पालकै साहिली बुहारी २६ वर्षीया शान्तिदेवी पालले सुपारी दिएर गराएको रहस्य खुलेको छ। 

हत्यामा संलग्न भएको अभियोगमा शान्ति, गोलबजार नगरपालिकाका ६५ वर्षीया बेचु पाल र अर्नामा गाउँपालिका १ बस्ने ४८ वर्षीय जानिफ मियाँ पक्राउ परेका छन्। 

हत्या घटनामा प्रयोग भएको खुकुरी, झोला, खुकुरी बेरेर राखेको लुंगी, मोबाइल लगायतको समान प्रहरीले बरामद गरी तीनै जनालाई मंगलबार सार्वजनिक गरेको हो। 
 

उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

यसरी भयो हत्याकाण्ड 
प्रहरीले दिएको जानकारी अनुसार मृतक सन्त पालको जेठ ११ गते मोरङ जिल्ला बस्ने यूवतीसँग विवाह तय भएको थियो। शान्तिका पति वैदेशिक रोजगारीमा छन्। शान्तिको घरपरिवारसँग सम्बन्ध ठीक नरहेको कारण गोलबजारमा डेरा गरी बस्दै आएकी छन्। देवर सन्त पालको विवाहमा शान्तिलाई निम्ता थिएन। 

जेठ ११ गते तय भएको देवर सन्त कुमार पालको बिहेमा ससुरा चन्देश्वरले बुहारी शान्तिलाई भनेका थिए ‘तिमी आउनु पर्दैन, तिम्रो चरित्र राम्रो छैन, तिमी बिहेमा आयौ भने छिमेकीहरु हाम्रो घरमा आउँदैनन् त्यसैले तिमी बिहेमा नआउनु तिम्रो बच्चाहरुलाई मात्र पठाउनु।’

सासुससुराले शान्तिलाई अंशसमेत नदिएका कारण उनी क्रुद्ध थिइन्। पहिलाको पारिवारिक रिसईवी र बिहेमा निम्ता नदिएको रिसमा शान्तिले जेठ पहिलो साता ससुरा र देवरको हत्याकै योजना बुनिन्।

जनिफ मियाँ र बेचु पालसँग सासु देवरको हत्याको योजना बनाइन्। बेचुको छोराको विवाह पनि पहिला सन्तको विवाह हुने बेहुलीसँग तय थियो। तर उनकै छोराले नमान्दा बिहे टलेको थियो।

सोही कारण मृतक चन्द्रदेवसँग बेचुले रिस पालेका थिए।

शान्तिका पति विदेश जाने बेला श्रीमतीलाई केही समस्या परे हेरविचार गरिदिनु भनेर जानिफ मियाँलाई जिम्मेवारी सुम्पेका थिए।

तीनैजनाको सल्लाहले शान्ति आफ्ना ससुरा र देवरलाई हत्या गर्ने निष्कर्षमा पुगिन्। शान्तिले ससुरा देवरको हत्या गराउन जानिफ मियाँ र बेचु पाललाई ५० हजार रुपैयाँको सुपारी दिने बचन दिइन्। हत्या गरेपछि पैसा दिने शान्तिले भनेकी थिइन्। 

११ गते बिहे रहेकामा ७ गते राति नै सो घटना गर्न चन्द्रदेवकै घर छेउमा रहेको राजदेवी मन्दिरमा दुवै जना भेट्ने योजना थियो। हत्या गर्नको लागि जनिफ मियाँले बन्चरो ल्याउने र बेचु पालले खुकुरी लिएर जाने तय भएको थियो।

बेचु पाल झोलामा खुकुरी लिएर मन्दिरमा पुगे। तर जानिफ पुगेनन्। सो घटना एक्लै बेचुले नै गर्ने मनसाय बनाए।  

मध्य रातिसम्म घरमा चन्द्रदेवको घरमा महिलाहरुले विवाहको गीत गाइरहँदा बेचु केहीबेर मन्दिरमा आराम गरे।

गीत बन्द भएपछि बेचु पाल घरमा पुगेर पहिला गोठमा सुतिरहेका चन्द्रदेवलाई गर्धनसहित विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरे। त्यसपछि छोरा सन्त पाल सुतिरहेको कोठामा पुगेर खुकुरीले विभिन्न भागमा प्रहार गरी हत्या गरे।

कोठामा बाहिरबाट चुकुल लगाई पुनः मन्दिरमा फर्केर राम्रोसँग हातमुख धोइ फर्केको घटनाको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यो घटना राति २ बजे परिवारजनले थाहा पाएपछि प्रहरीलाई खबर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .