ad ad

समाज


काकाले आमा जलाएको जब १६ वर्षीया छोरीले देखिन्

काकाले आमा जलाएको जब १६ वर्षीया छोरीले देखिन्

उजिर कार्की
जेठ २७, २०७९ शुक्रबार १३:९, काठमाडौँ

शैल्यशिखर नगरपालिका १ बारिलका भोजबहादुर खडायत बुधबार बिहान ३ बजेतिर अनिभा खडायतको घरमा पुगे। 

‘भाउजू! भाउजू!’ घर बाहिरैबाट उनले अनिभालाई बोलाए। ४० वर्षीया अनिभा उनको छिमेकी भाउजू पर्थिन्। भोजबहादुर उनलाई बोलाउँदै घरभित्र छिरे। 

‘काका घरभित्र आएर आमालाई लिएर जाँदा बाहिर अरु पनि कोही गुनगुनाउँदैथे,’ अनिभाकी १६ वर्षीया छोरी गौमतीले प्रहरीलाई सुनाइन्। 

भोजबहादुरसँग बाहिर निस्केकी अनिभा निकैबेरसम्म पनि फर्किनन्। छोरी गौमतीले आमाको मोबाइलमा फोन गरिन्। मोबाइल बन्द थियो। 

एकछिनपछि भोजबहादुर फेरि घरमा आएर गौमतीलाई बोलाए। आमालाई लिएर गएका काकाले बोलाएपछि गौमती घरबाहिर निस्किन् र सोधिन्, ‘आमा खै?’

त्यसको जवाफ नदिई भोजबहादुरले गौमतीको हात समातेर तान्न थाले। गौमती मुस्किलले फुत्किएर तल्लो घर रणवीर खडायतकहाँ पुगिन्। उनी चिच्याउँदै पुगेपछि रणवीरको परिवार उठेर बाहिर निस्कियो। त्यतिबेला बिहानको साढे ४ बजेको थियो। 

गौमतीले आफूलाई काकाले हात समातेर तानेको कुरा सुनाएपछि हल्लाखल्ला भयो। उनीहरुको घरमाथि भित्तामा आगो बलिरहेको थियो। अनिभा घर फर्किएकी थिइनन्। गौमतीले आमालाई बिहानै बोलाएर लगेको र त्यसपछि घर नफर्किएको सुनाइन्। 

रणवीरको परिवारका सदस्य आगो बलिरहेको स्थानमा पुगे। त्यहाँ अनिभा जलिरहेकी थिइन्। केही समय पहिले मात्रै काकाले लगेकी आमालाई गौमतीले जलिरहेको अवस्थामा फेला पारिन्। 

‘खरको थुप्रोमा अनिभालाई जलाइएको थियो। दन्किरहेको आगोमा शव अलिअलि मात्रै देखियो। त्यसपछि देख्नेहरुले शव चलाएनन्। प्रहरीलाई खबर गरे,’ वडाध्यक्ष भरतबहादुर खडायतले भने। 

एउटा खुट्टो र एउटा हात थिएन। जलिसकेको रहेछ। बाँकी भाग पनि जलिसक्न लागेको थियो। 

केही समयपछि घटनास्थलमा प्रहरी पुग्यो। गाउँलेहरुले भने घटनामा संलग्न को–को थिए भन्ने प्रहरी पुग्नुपहिले नै लख काटिसकेका थिए। सोही गाउँका तीन जना अघिल्लो दिनदेखि नै रक्सी खाएर गाउँमा घुमिरहेका थिए। 

यो वडामा रक्सी किनबेच गर्न प्रतिबन्ध छ। 

वडाध्यक्ष खडायत भन्छन्, ‘बैतडीतिरबाट ल्याएछन्। हाम्रोमा त किनबेच बन्द छ।’

गाउँलेहरु घटनास्थलमा भेला भएपछि गाउँकै वीरेन्द्र खडायत र तुला खडायत भने भागेछन्। वीरेन्द्र माओवादी केन्द्रको शैल्यशिखर नगर कमिटी उपाध्यक्ष हुन्। तुला भारतमा काम गरेर फर्किएका हुन्। 

भोजबहादुर चमेली हाइड्रोका सुरक्षा गार्ड हुन्। 

‘तीनै जना फरार भएको सूचनापछि हामीले उनीहरुको खोजतलास पनि सुरु गर्यौँ। नजिकका जिल्लाहरुमा पनि फोटो पठाएर खोजी गर्न भन्यौँ। हामीले जिल्लामा पनि टोली परिचालन गर्यौँ,’ दार्चुलाका डीएसपी प्रतीक विष्टले भने। 

वीरेन्द्र र तुला धनगढीको बस चढेर बैतडीतर्फ लागेछन्। उनीहरुलाई प्रहरीले बुधबार बैतडीको खोचलेकमा गाडीमा फेला पार्यो। कहाँ जान लागेको भनेर सोधीखोजी गर्दा तुलाको लागि कन्या खोज्न बझाङ हिँडेको उनीहरुले बताए। 

हत्याको आशंकामा प्रहरीले दुवै जनालाई पक्राउ गर्यो। उनीहरुसँग सोधपुछ सुरु गर्यो। भोजबहादुरको पनि खोजी भइरहेको थियो। भोजबहादुरलाई पनि बैतडीबाटै बिहीबार पक्राउ गरिएको डीएसपी विष्टले बताए। 

गौमतीले बिहीबार नै जिल्ला प्रहरी कार्यालयमा पुगेर किटानी जाहेरी दिएकी छन्। अन्य अनुसन्धान र सोधपुछ भइरहेको डीएसपी विष्टले बताए। 

प्रहरीले अनिभाको बलात्कारपछि हत्या भएको आशंका गरेको छ। घटनास्थलमा एकजना पुरुषको कट्टु फेला परेको वडाध्यक्ष खडायतले बताए। 

अनिभाको टाउकोमा ढुंगा प्रहार गरेको पाइएको छ। घटनास्थलमा ढुंगो फेला परेको छ। उनको टाउकोमा चोट थियो। 

अनिभाका श्रीमान् ७ वर्षपहिले नै बितेका थिए। उनका  तीन छोरी र एक छोरा छन्। जेठी छोरीको विवाह भइसकेको छ। छोरा कामका लागि बेंग्लोरमा छन्। आमाको हत्यापछि उनलाई झिकाइएको वडाध्यक्ष खडायतले बताए। 

१२ वर्षीया कान्छी छोरी भने आमाको हत्या हुँदा घरमै निदाइरहेकी थिइन्। उनले घटनाबारे पछि मात्रै थाहा पाइन्। 

‘घटनामा संलग्न व्यक्तिहरु पक्राउ परिसकेका छन्। अब सबै कुराको अनुसन्धान हुन्छ। प्रमाणले पुष्टि गर्छौँ,’ डीएसपी विष्टले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .