समाज


विमला पौड्यालको तर्क : १८ वर्षमा बिहे अनुपयुक्त, महिला परिपक्व भइसकेका हुँदैनन्

विमला पौड्यालको तर्क : १८ वर्षमा बिहे अनुपयुक्त, महिला परिपक्व भइसकेका हुँदैनन्

नेपालखबर
असार १०, २०७९ शुक्रबार १७:४७, काठमाडौँ

राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्यालले महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त हुने बताएकी छन्। 

शुक्रवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौड्यालले महिलाको विवाह गर्ने उमेर १८ वर्षमा झार्नु अनुपयुक्त भएको बताइन्। 

उनले शारीरिक, मानसिक र परिपक्वताको दृष्टिले पहिलोपल्ट आमा हुने उचित समय २० वर्षदेखि ३० वर्ष भएकाले नेपालमा विवाहको उमेर २० वर्ष बनाइएको उल्लेख गरिन्। 

पौड्यालले महिलाको विवाह गर्ने उमेर २० वर्ष पुर्‍याएसँगै नेपालमा मातृ मृत्युदर घटेको पनि बताइन्। 

सांसद पौड्यालले कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले विवाह गर्ने उमेर घटाउन पैरवी गरिरहेको भन्दै त्यसप्रति आपत्ति जनाइन्। 

उनले महिलाको विवाहयोग्य उमेरबारे राष्ट्रिय वहस हुनुपर्ने बताइन्। कानुन मन्त्रीलाई महिलाको स्वास्थ्य र जीवनप्रति खेलबाड गर्ने अधिकार नभएको पनि उनको भनाइ थियो। 

‘स्वास्थ्य पढेका विज्ञले भन्छन्, शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले, परिपक्वताको दृष्टिले पहिलोपल्ट आमा हुने र बच्चा जन्माउने उचित समय २४÷२५ वर्ष पछाडि हो’, उनले भनिन्, ‘२० वर्षदेखि ३० वर्ष उत्तम समय हो । यो जनस्वास्थ्यविद् र चिकित्सा शास्त्रले भनेको कुरा हो । यसैलाई हेरेर हामीले २० वर्ष बनाएका हौँ।’ 

छिमेकी देश भारतले यसैलाई हेरेर १८ वर्षबाट मोदी सरकार आउनेबित्तिकै २१ वर्ष उमेर बनाएको पनि उनले बताइन्। 

‘उहाँहरुले सशक्तीकरणका लागि, महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि र मातृ मृत्युदर घटाउन भन्नुभएको छ २१ वर्ष बनाइएको छ’, उनले भनिन्, ‘छिमेकी देश चीनमा २० वर्ष महिलाको उमेर छ, २२ वर्ष पुरुषको उमेर छ । तर हाम्रा कानून मन्त्रीले के भन्नुभयो भने यो वैज्ञानिक छैन । किन वैज्ञानिक छैन? उहाँको उत्तर के थियो ? १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्न पाउँछ । त्यसकारण १८ वर्षमा विवाह गर्न पाउनुपर्छ । यही हो वैज्ञानिक?’

उनले विवाह गर्ने उमेर भनेको प्रजनन स्वास्थ्यको उमेर पनि भएको बताउँदै स्वास्थ्यमा को कतिबेला परिपक्व हुन्छ भन्ने कुरो कानून मन्त्रीले जान्ने कि स्वास्थ्य पढ्ने डाक्टरहरुले जान्ने हो? भनेर प्रश्न गरिन्। 

‘जनस्वास्थ्यविद्हरुले भन्दैछन्, हामीले जे जति उपलब्धी अहिले हासिल गरेका छौँ, मातृ मृत्युदर घटाउन महत्वपूर्ण फ्याक्टर भनेको २० वर्षको वैवाहिक उमेर राखेको कारणले हो । त्यो घटायौँ भने हाम्रो यो उपलब्धी त घट्छ नै त्यो सँगसँगै शिक्षा, स्वास्थ्यमा, महिला हिंसाका कुरामा उनको के हालत हुन्छ?’, उनले सोधिन्, ‘आफ्ना छोरीलाई १८ वर्षको उमेरमा विवाह गरिदिन हामी तयार छौँ ? अनि अरुलाई भन्ने ? अनि अर्को हास्यास्पद तर्क छ, बालविवाह बढ्यो रे त्यसकारण विवाह गर्ने उमेर घटाएर १८ वर्ष पु¥याउने रे । तपाई १०० मिटर कुद्दै हुनुहुन्छ, अनि गोल पोष्ट चाहिँ ५० मिटरमा झारेर मैले जितेँ भन्ने?’

उनले दिगो विकास लक्ष्यमा नेपालले सन् २०३० सम्ममा मातृ मृत्युदर घटाएर १ लाखमा ७० जना महिलाभन्दा कममा लैजाने प्रतिवद्धता गरिएको भन्दै यसका लागि विवाह उमेर बढाएर २० वर्ष पुर्‍याइएको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .