ad ad

समाज


मंगलबार रातिदेखि देशभर लगातार वर्षा, अझै नरोकिने

मंगलबार रातिदेखि देशभर लगातार वर्षा, अझै नरोकिने

फाइल तस्बिर


नेपालखबर
असार १५, २०७९ बुधबार ७:३८, काठमाडौँ

मंगलबार रातिदेखि देशभरजसो लगातार वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बुधबार बिहान ७ बजे दिएको जानकारीअनुसार ६ घण्टायता देशभर लगातार वर्षा भइरहेको हो। 

‘सबैतिर वर्षा भएको छ। वर्षा नभएको ठाउँ एकदम कम छ, रातिदेखि झरी लागेको छ’, मौसमविद् पौडेलले नेपालखबरसँग भने, ‘६ घण्टाभन्दा बढी समयदेखि वर्षा जारी छ।।’

उनका अनुसार धेरै स्थानमा मध्यम वर्षा भएको छ। कतै भारी वर्षा भएको छ भने कतै अति भारी वर्षा भएको छ। 

मौसमविद् पौडेलका अनुसार लुम्बिनी र गण्डकीका धेरै जिल्लामा धेरै वर्षा भएको छ। महाशाखाको वर्षामापन केन्द्र भएका स्थानमध्ये सबैभन्दा बढी पोखरामा वर्षा भएको छ। पोखरामा १६४ मिलिमिटर वर्षा भएको उनले बताए। 

यसपछि नेपालगन्ज र दाङमा समान १४५ मिलिमिटर वर्षा भएको छ। मौसमविद् पौडेलका अनुसार पाल्पामा १४८ मिलिमिटर तथा  प्युठानमा १४० मिलिमिटर वर्षा भएको छ। 

मौसमविद्का अनुसार ५० मिलिटिरभन्दा माथिलाई भारी, सय मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा भनिन्छ। 

काठमाडौंमा भने भारी वर्षा भएको छैन। मौसमविद् पौडेलका अनुसार काठमाडौं उपत्यकामा २६ मिलिमिटर वर्षा भएको हो। 

आज दिनभर वर्षा जारी रहने सम्भावना रहेको उनले बताए। ‘पहाडी र तराई भूभागका अधिकांश स्थानमा वर्षा जारी रहने देखिएको छ, पूर्वका एक दुई ठाउँमा वर्षा केही बेर रोकिने सम्भावना छ’ यसबाहेक अन्य स्थानमा वर्षा जारी रहने उनले बताए। 

‘हिमाली क्षेत्र हुम्ला कालिकोटतिर वर्षा कम भएको होला’, उनले भने, ‘अन्यथा देशका पहाडी र तराई क्षेत्रमा वर्षा जारी छ।

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गरी आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिएकाे छ। 

जसमा भनिएको छ : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .