ad ad

समाज


विश्वमा हैजा कहिले सुरु भयो र यो कति घातक छ?

हैजाका कारण विश्वभर वार्षिक १ लाख ४३ हजारसम्म मानिसको मृत्यु हुन्छ : डब्ल्यूएचओ
विश्वमा हैजा कहिले सुरु भयो र यो कति घातक छ?

नेपालखबर
असार १६, २०७९ बिहिबार ९:५३, काठमाडौँ

केही दिनदेखि काठमाडौं उपत्यकालगायत स्थानमा हैजाको संक्रमण फैलिएको छ। काठमाडौंमा मात्र अहिलेसम्म १४ जनामा हैजाको संक्रमण देखिएको छ। 

हैजा नयाँ रोग भने होइन। 

हैजाका कारण विश्वभर वार्षिक रुपमा २१ हजारदेखि १ लाख ४३ हजारसम्म मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को आँकडा छ।

हैजाको उत्पत्ति
हैजा मानिसमा पहिलोपटक कहिले देखियो भन्ने स्पष्ट छैन। भारतीय लेखकले ईशापूर्वको पाँचौं शताब्दी तगा ग्रिसका लेखकले ईशापूर्वको चौथो र ईश्वी संवतको पहिलो शताब्दीमा लेखेको पुस्तकमा हैजासँग मिल्दोजुल्दा रोगको वर्णन गरेको पाइन्छ। 

हैजाजस्तै रोगको महामारीबारे विस्तृत जानकारीसहित पोर्चुगलका इतिहासविद् गास्पर कोरेआले सन् १५४३ को गर्मीयाममा भारत र बंगलादेश रहेको क्षेत्रमा यो रोग फैलिएको उल्लेख गरेका छन्। उनका अनुसार लक्षण देखिएका मानिसको मृत्यु ८ घण्टाभित्र हुने गरेको थियो। त्यतिबेला यो रोगबाट मृत्यु हुनेको दर पनि अत्यधिक थियो। 

त्यसपछिका केही दशकमा नेदरल्यान्ड्स, फ्रान्स, भारत र बेलायती शोधकर्ताले पनि यस विषयमा लेखेका छन्। 

हैजाको पहिलो महामारी
हैजाको पहिलो महामारी भारतमा सन् १८१७ मा फैलिएको थियो। यो महामारी समग्र भारतमा फैलिएको थियो। 

सन् १८२० सम्म आइपुग्दा हैजा थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्ससम्म फैलिएको थियो। इन्डोनेसियाको जाभा टापुमा मात्र हैजाका कारण एक लाख मानिसको मृत्यु भएको थियो। थाइल्यान्ड र इन्डोनेसिया हुँदै हैजा १८२० मा चीन र १८२२ मा जापानमा पनि फैलिएको थियो। 

त्यतिबेलासम्म हैजा एसियामा मात्र फैलिएको थियो। १८२१ मा बेलायती सेना भारतबाट ओमानतर्फ जाँदै गएका सेनाबाट यो महामारी पर्सियन खाडी क्षेत्रमा फैलिएको थियो। त्यहीँबाट यो रोग अहिलेको टर्की, सिरिया र दक्षिणी रुसमा फैलिएको थियो। 

यो महामारी सुरु भएको ६ वर्षपछि सकिएको थियो। १८२३–२४ को जाडोयाममा यो महामारी रोकियो। 

युरोप र अमेरिकामा हैजा 
हैजाको दोस्रो महामारी १८२९ को हाराहारीमा सुरु भएको थियो। पहिलो महामारी जस्तै दोस्रो महामारी पनि भारतबाटै सुरु भएको मानिन्छ। व्यापार तथा सेनाको माध्यमबाट यो महामारी मध्य एसिया र मध्यपूर्वमा पुगेको थियो। 

१८३० को मध्यसम्ममा रुसको मस्कोमा पनि हैजा देखिएको थियो। यो महामारी जाडोयाममा केही सुस्त देखिएको थियो तर १८३१ को गर्मीयाममा यसले ठूलो रूप लियो। त्यस वर्ष फिनल्यान्ड र पोल्यान्डदेखि हंगेरी र जर्मनीसम्म यो महामारी फैलियो। 

१८३२ को गर्मीयाममा बेलायतको लन्डनमा पनि हैजा महामारी फैलिएको थियो। बेलायतले हैजा नियन्त्रणका लागि मानिसहरुलाई क्वारेन्टिनमा राख्ने र स्वास्थ्य सीमा निर्धारण गर्नेजस्ता कदम पनि चालेको थियो। त्यतिबेला पनि घरमा भन्दा धेरै बिरामी अस्पतालमा मरेको भन्दै मानिसहरुमा अस्पतालप्रति वितृष्णा उत्पन्न भएको थियो। त्यसैले सरकारको नियम पालना हुन सकेन। जसका कारण बेलायतमा हैजाले उग्ररुप लिएको थियो। 

१८३२ मा हैजा अमेरिकामा पनि फैलिएको थियो। उक्त वर्षको जुन महिनामा क्युबेकमा एक हजार मानिस यो रोगबाट मरेका थिए। त्यसको दुई वर्षभित्र अमेरिकाको सबै राज्यमा हैजा फैलिएको थियो। त्यस्तै १८३३ मा यो महामारी मेक्सिको र क्युबामा पनि देखिएको थियो। यो महामारी विभिन्न चरण हुँदै १८५१ सम्म चलेको थियो। 

हैजाबारे वैज्ञानिक अध्ययन 
१८५२ देखि १९२ को अवधिमा विश्वमा थप चारवटा हैजाको महामारी देखिएको थियो। तेस्रो महामारी १८५२ बाट सुरु भएर १८५९ सम्म चलेको थियो। यो महामारीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको  थियो। यो महामारीमा १० लाखभन्दा धेरै मानिसको मृत्यु भएको अनुमान छ। त्यसबेला हैजा महाहमारी एसिया, युरोप, उत्तर अमेरिका र अफ्रिकामा पनि फैलिएको थियो। सन् १८५४ मा हैजाबाट ग्रेट ब्रिटेनमा मात्र २३ हजार मानिसको मृत्यु भएको थियो। 

उक्त वर्ष बेलायती वैज्ञानिक जोन स्नोले लन्डनको सोहो क्षेत्रको हैजा संक्रमणबारे अध्ययन गरेका थिए। उनले हैजा सार्वजनिक पोखरीको फोहोर पानीबाट फैलिएको निष्कर्ष निकालेका थिए। उनले तत्काल त्यसमा सुधार गर्न लगाए, फलस्वरूप हैजाका संक्रमित पनि घटे। 

हैजाको चौथो र पाँचौ महामारी १८६३–७५ र १८८१–९६ मा फैलिएको थियो। यी दुई महामारी भने अघिल्ला महामारीभन्दा केही कम घातक देखिएका थिए। यद्यपि मृतक संख्या भने उल्लेख्य थियो। १८७२ र ७३ को बीचमा हंगेरीमा मात्र हैजाको कारण १ लाख ९० हजार मानिसको मृत्यु भएको थियो। त्यस्तै सन् १८९२ मा ह्यामबर्गको करिब साढे १ प्रतिशत जनसंख्या घटेको थियो। 

सन् १८८३ मा जर्मन वैज्ञानिक रोबर्ट कोचले इजिप्ट र कोलकातामा हैजाको अध्ययन गरेका थिए। सो क्रममा उनले ब्याक्टेरियाको कारण हैजा फैलिने गरेको पत्ता लगाएका थिए। यद्यपि त्यसअघि नै इटालीका वैज्ञानिक फिलिप्पो पाकिनीले हैजाको ब्याक्टेरिया पहिचान गरेका थिए। जसलाई कोलेरिजेनिक भिब्रिओस नाम दिइएको थियो। तर, उनी चर्चामा भने आएनन्। 

पाँचौं महामारीको क्रममा बेलायत र अमेरिकाले खानेपानी सरसफाइमा ध्यान दिँदै क्वारेन्टिनमा सफा खानेपानी पठाएका थिए। जसका कारण हैजा रोकिएको थियो। 

छैटौं महामारी १८९९–१९२३ सम्म फैलिएको थियो। यो महामारीले आधुनिक स्वास्थ्य सेवा र सरसफाइका कारण पश्चिमी मुलुकमा खासै ठूलो क्षति गरेन। तर, भारत, रुस, मध्यपूर्व र उत्तरी अफ्रिका भने यसबाट प्रभावित बने। यो महामारीमा पनि आठ लाखभन्दा धेरै मानिसको मृत्यु भएको अनुमान छ। १९२३ सम्म भारतबाहेक विश्वका अन्य मुलुकमा हैजाको छैटौं महामारी सकिएको थियो। भारतमा १९१८ र १९१९ गरी यी दुई वर्षमा ५ लाखभन्दा धेरै मानिसको हैजाका कारण मृत्यु भएको थियो। 

हैजाको अहिलेको अवस्था 
यसअघिको महामारी सबै भारतबाट सुरु भए पनि सातौं र अहिलेको महामारी भने १९६१ मा इन्डोनेसियाबाट सुरु भएको हो। यो महामारी एसिया र मध्यपूर्वमा फैलिएको थियो। सन् १९७१ मा यो अफ्रिका पुगेको थियो। सन् १९९० मा डब्ल्यूएचओले दर्ता गरेका हैजाका संक्रमितमध्ये ९० प्रतिशत व्यक्ति अफ्रिका महादेशका थिए। 

सन् १९९१ मा हैजा पेरुमा देखिएको थियो। एक सय वर्षभन्दा लामो समयपछि दक्षिण अमेरिकामा हैजा देखिएको थियो। यो महामारीको पहिलो वर्ष पेरुमा तीन हजार मानिसको मृत्यु भएको थियो। त्यसपछि यो महामारी इक्वेडर, कोलम्बिया, ब्राजिल र चिलीमा फैलिएको थियो। त्यस्तै मध्य अमेरिका र मेक्सिकोमा पनि यो महामारी फैलिएको थियो। 

अहिलेको हैजा महामारीबाट १२० मुलुक प्रभावित भइसकेका छन्। विशेषगरी यो महामारी कम आय भएका र कम विकसित मुलुकमा फैलिने गरेको छ। 

पछिल्ला केही वर्षमा हैजाले ठूलो रूप पनि लिएको छ। जसमा सन् २००८–०९ मा जिम्बाबेमा फैलिएको हैजाबाट ९७ हजार मानिसहरु प्रभावित भएका थिए। जसमध्ये ४२ सयको मृत्यु भएको थियो। हाइटीमा सन् २०१०–११ मा भूकम्पपछि फैलिएको हैजा महामारीको कारण ५ लाखभन्दा धेरै मानिस प्रभावित भएका थिए। 

सन् २०१७ मा सोमालिया र यमनमा पनि हैजा फैलिएको थियो। यमनमा फैलिएको हैजाबाट पाँच लाख मानिस प्रभावित भएका थिए भने दुई हजारको मृत्यु भएको थियो। 

यी पनि :​

हैजाको त्रास : काठमाडौंमा जार र बोटलको पानी कति सुरक्षित?

‘केही दिन पहिले गरिएको परीक्षणमा जारको पानीमा हैजाको किटाणु भेटिएको थियो’ (अन्तर्वार्ता)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .