ad ad

समाज


सिंगापुर हेरेर फर्केका मेयर अर्जुनबाबु भन्छन्– एउटा ट्वाइलेट बनाउन सकिन्छ कि

‘नेपालमा पृथ्वीनारायणलाई थुक्छन् सिंगापुरमा कसैलाई थुक्दैनन्’
सिंगापुर हेरेर फर्केका मेयर अर्जुनबाबु भन्छन्– एउटा ट्वाइलेट बनाउन सकिन्छ कि

नेपालखबर
भदौ २, २०७९ बिहिबार १९:९, काठमाडौँ

तेह्रथुमको लालिगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ लेखक एवं चिन्तक हुन्। पहिलो कार्यकालमा जनताको विश्वास जितेका कारण उनले दोस्रोपटक नेपाली कांग्रेसका तर्फबाट मेयर जिते। चुनाव जितेको दुई महिनापछि उनी सिंगापुरको भ्रमणमा निस्किए।

नगरपालिकाबाट विदा मागेर व्यक्तिगत खर्चमा सिंगापुर घुम्न निस्केका माबुहाङले त्यहाँ चार रात बिताए। सिंगापुर प्रहरीमा कार्यरत भाइ भीम माबुहाङले अर्जुनलाई निजी खर्चमा सिंगापुर डुलाए। त्यहाँ रहेका नेपाली युवासँग अन्तरक्रियासमेत गराए।

दाजुलाई सिंगापुर घुमाउनुको उद्देश्य पारिवारिक भेटघाट मात्र नभएर सिंगापुरबाट केही सिक्न सकुुन् भन्नेसमेत रहेको भीमले बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पारिवारिक सम्वन्ध आफनो ठाउँमा होला, तर मुख्य गरी लालीगुराँस नगरपालिकाका मेयरलाई सिंगापुर भ्रमण गराउनुको अन्तर उद्देश्य भनेको विकसित देशका संघ संस्था प्रणालीहरु कसरी निर्देशित र परिचालित हुन्छन् भन्ने ज्ञान दिलाउनु थियो।’

भीमले अगाडि भनेका छन्, ‘साथै ऐतिहासिक सम्पदाहरु र प्रकृतिलाई जगेर्ना गर्दै प्रविधि र आधुनिक पूर्वाधारका विकासलाई कसरी अगाडि धकेलेर पहिलो मुलुकहरु समृद्वशाली बने भन्ने कुराहरु बुझाउने र मनन गराउने थियो। ताकि त्यसको प्रत्यक्ष लाभ लालीगुराँस नगरपालिकाका नगरवासीलाई पुगोस्। कति देखाएका र बुझाएका कुराहरु मेयरका दिमागमा क्लिक भए भन्ने कुराहरु आउँदो समयले नै बताउनेछ।’

सिंगापुरमा नेपाली युुवासँग अन्तरक्रिया गर्दै मेयर माबुहाङ

सिंगापुर भ्रमणबाट फर्केका मेयर माबुहाङलाई हामीले काठमाडौंमा भेटेर सोध्यौं, ‘नेताहरु नेपाललाई सिंगापुर बनाउने भन्छन्, तपाई भर्खरै सिंगापुरको पारिवारिक भ्रमण गरेर फर्कनुभएको छ, अब लालिगुराँस नगरपालिकामा त्यहाँबाट सिकेको कुन कुरा अप्लाई गर्नुहुुन्छ?’

जवाफमा उनले भने, ‘यहाँ मैले तुरुन्तै सक्ने भनेको एउटा ट्वाइलेट बनाउन सकिन्छ कि भन्ने हो। सिंगापुरको ट्वाइलेट संसारकै सबैभन्दा राम्रो। त्यति सफा। मैले मुन्धुमकाे   अवधारणामा चोत्लुङ पार्क निर्माण गरें, तर त्यहाँको ट्वाइलेट राम्रो छैन।’

लिम्बु संस्कृति, मुन्धुम एवं इतिहासका अध्येतासमेत रहेका माबुहाङलाई सिंगापुरमा सबै जाति र समुदायको भाषालाई गरिएको सम्मान असाध्यै मन परेछ। साथै सिंगापुरले इतिहासको सम्मान गरेको देख्दा अचम्मै लागेछ।

सिंगापुर भ्रमणको छोटो अनुभव माबुहाङकै शब्दमा– 

सिंगापुरमा खानेपानीको अभाव रहेछ। समुद्रको पानी कसैले खाँदैनन्। त्यहाँ खानेपानी मलेसियाबाट लगिँदोरहेछ। सिंगापुरले मलेसियाबाट लगेजस्तै नेपालमा कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने भनेको होला। उनले ठीकै कुरा गरेका हुन्।

सिंगापुर त एउटा सामुद्रिक टापु न हो। हाम्रो त पहाड हो। पहाड कहीँ जोडिँदैन, समुद्र जहीँ पनि जोडिन्छ। सिंगापुरको विकास हुनुको मुख्य कारणचाहिँ समुद्रसँग जोडिएकाले पनि हो जस्तो लाग्छ।

त्यहाँ बृटिसको उपनिवेश चल्यो। त्योभन्दा पहिले मलेसियाका सुल्तानहरुको किपट रहेछ सिंगापुर। उताबाट बृटिसहरु आए। डाका, तस्कर, खाने–पिउने सबै कुराहरु लिएर हिँड्थे। त्यसक्रममा सिंगापुरको टापुमा बृटिसहरु धेरै आए। त्यहाँ आइसकेपछि उनीहरुले भूमिपुत्र मुसलमानहरुबाट अलिअलि गर्दै जमिन लिए। पछि त्यहाँ बृटिशहरुको कोलोनी (उपनिवेश) नै बन्यो। त्यहाँ बृटिसहरुले अफिसियल रुपमा प्रयोग गरेका पुराना घरहरु अहिले पनि देखिन्छन्।

पछि त्यहाँ जापानले बमबारी गर्यो। अमेरिकाले जापानमा बम हान्नु अघिसम्म सिंगापुरलाई जापानले लिएको रहेछ। अमेरिकाले जापानमा बम हानेपछि उसले सिंगापुर छाडेको रहेछ। पछि लि क्वान यु जस्ता मान्छेहरु निस्किएपछि सिंगापुर स्वतन्त्र भयो।

सिंगापुरबाट नेपालले सिक्ने कुरा त कति छ कति। आधुनिकताको नक्कल सिंगापुरले जुनसुकै देशको गरेको छ। रेलै कुदाउने पनि त सिंगापुरको आफ्नै आविस्कार होइन। तर, उसले सिस्टमचाहिँ राखेको छ। उसले सिस्टमको विकास गर्यो। सिंगापुरको सिस्टम कसरी विकसित भयो भन्ने कुरा त्यहाँ कलेजहरुमा अध्ययन हुँदोरहेछ।

मेयर अर्जुनबाबु माबुहाङ

हामीले यहाँ २०७४ मा स्थानीय चुनाव जित्यौं। प्रशासनमा बहुभाषाको कुरा उठ्यो। धेरै बाहुन क्षेत्रीहरुले के भने भने कतिववटा भाषा कसले जान्दछ? आखिर सबैले बुझ्ने त यही नेपाली भाषा हो। हामीले बोल्न पनि सकेनौं। सिंगापुरमा त के गरेको रहेछ भने सडकको छेउमा गाडीका लागि देखाएको बाटोको संकेत चिह्नमा चारवटा भाषा छन्। मलेसियनको भाषा छ। तामिल भाषा छ। चाइनिज भाषा छ। अंग्रेजी भाषा छ। इण्डियनको भाषा छ। त्यहाँ त लिटिल इण्डिया एउटै प्रान्तैजस्तो राखिदिएको छ। नामै राखिदिएको छ। यहाँ नाममा हाम्रो कत्रो विवाद छ। त्यहाँको मुस्तफा भन्ने बजार त इण्डियाका लागि छाडिदिएको छ।

हामी राई लिम्बु जनजातिहरुले खाली राजनीति र जागिरमा मात्रै समावेशी खोज्यौं। त्यहाँ चारवटा स्टल राखिएको छ भने मलेसियन, चाइनिज, इण्डियनहरुको स्टल हुन्छ। एउटा स्टल खाली भयो भने सोही समुदायले मात्रै राख्न पाउँछ।

सिंगापुरको जस्तै गर्ने हो भने हाम्रोमा बाहुन क्षेत्रीले रक्सी बेच्नै पाउँदैनन्। लिम्बुले दूध दही बेच्नै पाउँदैन। हाम्रोमा त समावेसी राजनीतिका लागि, सांसदका लागि मात्र भयो। तर, सिंगापुरमा बाटोको एरो (संकेत) देखि लिएर चोक गल्ली सबैमा समावेशी रहेछ। चोकको नाम चारवटा भाषामा लेखिँदोरहेछ।

हामी नेपालमा पहिचान भन्दाखेरि राजनीतिमात्रै खोज्छौं। जागिर मात्रै खोज्छौं। तर, त्यो होइनरहेछ।  सिंगापुरमा इण्डियनहरुको इतिहास के होला र। तर, लिटिल इण्डिया नामै लेखिदिएको छ।

सिंगापुरले हिजो आधुनिकरणका नाममा सबै नष्ट गरेर गयो। प्रकृतिमाथि विनास गरेर गयो। अब अहिले इको सिस्टमलाई सन्तुलनमा राख्नका लागि उसले लेक बेसीं हिँउद बर्खा सबै मौसममा फुल्ने फूलहरुलाई टनेल जस्तो बनाएर राखेको छ। उसले जति सक्दो प्रकृतिलाई बचाउन खोजेको छ। नसकेका ठाउँमा पनि उसले प्रकृतिको नक्कल गरेको छ।

सिंगापुरले संसारका मान्छेलाई तानेको छ। नत्र के छ र सिंगापुरमा? केही पनि छैन। न तेल छ, न खानेपानी छ। नेपालको जत्तिको बाटो पनि फराकिलो छैन सिंगापुरमा। तैपनि संसारका मान्छे तानिरहेको छ। पढ्न आएका छन्। बाटोमा गाडीहरु हरियो रातो बत्तीका आधारमा चल्छन्। मैले त त्यहाँ ट्राफिक प्रहरी नै देखिनँ। कहीँ देखिनँ मैले। यस्तो राम्रो सिस्टम रहेछ। प्रशासनमा मान्छे नै देखिँदैन। सबै डिजिटल सिस्टम। एउटा रिबनले छेकिहाल्छ।

त्यहाँ अर्को एउटा राम्रो पक्ष के रहेछ भने जुनसुकै पार्क जानोस्, उसले त्यहाँ डिजिटल बोर्डमा अन्तरीक्षमा मान्छे कसरी जिउन सक्छ भन्ने पनि देखाइरहेछ, समुद्र मुनिको दृश्य पनि देखाइराखेको छ। तर, एउटा कुरा उसले छाड्दैन– सिंगापरको इतिहास। जहीँ गए पनि उसले एउटा भिजुअल त्यहाँको इतिहास राख्छ। सिंगापुुर हिजो कस्तो थियो, लि क्वानले कसरी बनाए, त्यसपछि कसरी विकास भयो, सबै कुरा एउटा सामान्य बच्चाले पनि बुझ्ने गरी पढाइन्छ।

हामीकहाँ त पृथ्वीनारायण शाहको इतिहासलाई मान्छेले थुक्छन्। मैले मेरो बाबु बाजेको कुरा गरें भने रुढिवादी कुरा गर्छ भन्छन्। मुन्धुमको कुरा गर्यो भने रुढीवादी कुरा गर्यो भन्छन्। त्यहाँ सिंगापुरमा हिजो जसले सिंगापुरेहरुलाई अन्याय गरेका थिए, त्यस्ता मान्छेहरुको पनि स–सम्मान फोटोहरु राखेको छ। हिजो गोराहरुले त्यहाँका जनतालाई कत्रो अत्याचार गरेका थिए? रुसमा लेनिनको सालिक ढल्यो। तर सिंगापुरमा गोराहरुका सालिक ढलेनन्। म त छक्क परें।

सिंगापुरेहरुमा कसैप्रति इगो नै छैन। पत्रिका चारवटा भाषामा निस्कन्छन्। यहाँ त हाम्रा आङकाजीले पृथ्वीनाराणलाई थुकेनन् त? त्यहाँ कसैले कसैलाई थुक्दैन। त्यहाँ अन्य जातिको संस्कारलाई सबैले सम्मान गरेको देखियो। नत्र सिंगापुरको बजार बीचमा लिटिल इण्डिया नाम किन राख्नुपर्यो?

त्यहाँका मान्छेले सत्रु पनि चिनेका, मित्रु पनि चिनेका। सत्रु मित्रु सबै मिलेर मात्रै विकास गर्न सकिँदोरहेछ। चाहे इतिहास होस् चाहे वर्तमान होस्। चाहे हिजोको शासक होस्। सबै मान्छेहरु नमिली देशमा केही पनि गर्न सकिँदैन भन्ने उनीहरुले सन्देश दिएका रहेछन्। अचम्म लाग्यो मलाई त।

अब यहाँ मैले तुरुन्तै सक्ने भनेको एउटा ट्वाइलेट बनाउन सकिन्छ कि भन्ने हो। सिंगापुरको ट्वाइलेट संसारकै सबैभन्दा राम्रो। त्यति सफा। मैले मुन्थुमको अवधारणामा जसरी चोत्लुङ पार्क निर्माण गरें, यहाँ ट्वाइलेट राम्रो छैन।

सिंगापुरमा पनि सबै कुरा ढुंगा, माटोले नै बनाउन खोज्दा रहेछन्। ढुंगा र माटोले नसकेपछि मात्रै कंक्रिट। हामीले आरा काटेर फालेका बाकलहरुबाट संरचना बनाएका छन्। डेन्टिङ पेन्टिङ केही छैन। समुद्रबाट एउटा ढुंगो भेटियो भने त त्यहाँ देउता भेटेजस्तो हुँदोरहेछ।

मेरो स्वास्थ्य त्यति ठीक थिएन। नेपालको भात मिस गरियो। त्यहाँ चामल कस्तो रहेछ भने प्लास्टिक चपाउँदा बरु रस आउँछ होला। भात अलिकति खाँदारहेछन्। यत्ति खायो ५ डलर, फेरि थप्यो, फेरि ५ डलर।

सबै कुरा हेर्ने हो भने त हाम्रो नेपाल त स्वर्ग। नेपालमा जत्तिको प्रकृतिलाई उपभोग गर्न अहिले संसारको कुनै पनि नागरिकले सक्दैन। अहिले नेचरलाई हामीले त्यति उपभोग गरिरहेका छौं। सिंगापुर त कहाँ यस्तो छ र? एउटा रुखै देखिँदैन। समुद्रमा नरिवलहरु देखिन्छन्। झाडीहरु भर्खर बनाएका छन्। ठुल्ठुला रुखै छैनन्, सकिइसके। हिजो लडाइँ भयो। मान्छेले आधुनिकताका नाममा सबै ध्वस्त पारिसके। भर्खर सुुरु गरेका रुखपातका संरचना छन्। समुद्र हेर्दा नीलो छ नि के गर्नु, तिर्खा लाग्दा समुद्रको पानी खान मिलेन।

याे पनि- 
बाध्यताले दुईचोटि मेयर बनेका एक यायावर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .