ad ad

समाज


यस वर्ष दसैंका लागि काठमाडौंबाट गत सालभन्दा दोब्बर यात्रु बाहिरिने अनुमान

यस वर्ष दसैंका लागि काठमाडौंबाट गत सालभन्दा दोब्बर यात्रु  बाहिरिने अनुमान

फाइल फाेटाे


नेपालखबर
असोज ६, २०७९ बिहिबार १८:१६, काठमाडौँ

यस वर्ष दसैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौँ उपत्यकाबाट गत सालभन्दा बढी यात्रु बाहिरिने भएका छन्। नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ। गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर सङ्ख्यामा बाहिरिने अनुमान गरिएको राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए।

‘अहिले चहलपहल बढेको छ र घटस्थापनापछि अझै पनि बढ्नसक्छ’, उनले भने, ‘चुनावी चहलपहल र कोरोना कम भएकाले यस वर्ष बढ्नसक्छ।’

सरकारले १० गतेबाट २५ ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गर्न लागिएको छ। तोकिएभन्दा फरक भाडा लिँदा वा कुनै पनि किसिमको दुर्व्यहार हुँदा सम्पर्कमा राख्न उपाध्यक्ष सुवेदीले यात्रुलाई अनुरोध गरे। ठाउँठाउँमा कुनै पनि समस्या हुँदा सम्पर्क गर्न प्रहरी र महासङ्घको नम्बर टाँस्ने उनको योजनामा छ। उनले भने, ‘अघिल्ला वर्षमा कोभिडका कारण उत्साहपूर्ण नभएकाले यो वर्ष केही उत्साह थपिने अनुमान छ।’

चितवनसम्म सडकको अवस्था राम्रो भए पनि बुटवल–नारायणगढ सडक नाजुक भएकाले आवतजावत गर्न अप्ठ्यारो भएको जनाइएको छ। अहिले नारायणगढबाट बुटवलसम्म पुग्न नै ५ घण्टा लाग्ने अवस्था छ। उपत्यकाबाट बाहिर र बाहिरका जिल्लाबाट उपत्यका प्रवेश गर्ने यात्रुका लागि सरकारले गत शनिबारबाट अग्रिम टिकट खुलाइएको छ। यातायात व्यवस्थापनलाई सहज बनाउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीमा अग्रिम टिकट खुलाएका हुन्। 

विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी सम्मिलित भदौ २२ गतेको बैठकले सो निर्णय गरेको थियो। यात्रुको सहजतालाई ध्यान दिएर अनलाइन बुकिङको व्यवस्था मिलाउने र यात्रुलाई छुट र सहुलियत प्रदान गर्ने निर्णय भएको थियो। कोभिड–१९ माहामारीलाई मध्यनजर गर्दै मास्कको प्रयोग अनिवार्य गरिएको विभागले जनाएको छ। उपत्यका भित्रने र बाहिरिने सवारीसाधनको विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी, मजदुरसँग सहकार्य गरेर प्रभावकारी अनुगमनको व्यवस्था गर्ने बताइएको छ।

सुरक्षित रूपमा यात्रु घर जानसक्ने वातावरण बनाउन यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरीलगायत सबै लाग्न जरुरी रहेको वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए। उनले सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने बताए। अहिले अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बीसचक्के सवारीसाधन चल्नुहुँदैन। यातायात व्यवस्था विभागले १५ गतेबाट यी मालबाहक सवारीसाधन रोक्ने निर्णय गरेको छ। 

विभागले यात्रुको जानकारी लागि ठाउँठाउँमा भाडाको दर राख्नुपर्ने विभागले जनाएको छ। सामान्य, डिलक्स, सुपर डिलक्स र एसी गाडी चार थरीका गाडीमा तोकिएको भाडा लिन जनाइएको छ। यात्रुले तोकिएको ठाउँमा नै गएर टिकट काट्दा मात्रै ठगिनबाट बच्न सक्नेछन्। विभागले १४ ठाउँमा नागरिक सहायता कक्षको व्यवस्था गर्ने भएको छ। त्योसँगै सडक राम्रो बनाउन समन्वय गर्ने, ट्राफिक व्यवस्थापन विभागको काम हो। यातायात व्यवसायीले भएका सवारीसाधनमार्फत यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए। 

यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने महासङ्घले जनाएको छ। शनिबारदेखि नै टिकट लिन थालिए पनि असोज १० गतेबाट धेरै यात्रु जानेछन्। हाल भएका यात्रुमध्ये कोही अहिलेदेखि नै जान थाल्छन् भने कोही घटस्थापनादेखि जाने र सबैभन्दा बढी चाप फूलपातीपछि हुने उनले बताए। उनले भने, ‘फूलपातीपछि अति धेरै चाप हुन्छ।’

यात्रु सजिलो रूपमा आवतजावत गर्न सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। व्यवसायी, मजदुर र ट्राफिक, विभागले भूमिका निर्वाह गरेपछि मात्रै यात्रु सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सक्ने उनले बताए। सरकारले अनलाइन टिकट सुरु गरे पनि त्यसको प्रयोग अपेक्षाअनुसार बढ्न सकेको छैन। पहिलेभन्दा केही बढे पनि अझै व्यवस्थित हुन नसकेको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए। अहिलेको समयमा सधैँ यात्रु लाममा लागेर नहुने भए पनि सरकारले अनलाइन टिकटलाई प्रभावकारी बनाउन सकिरहेको छैन। 

प्रविधिको विकासदेखि सडक मर्मतका विषयमा समयमा नै सुरु गर्नुपर्ने भए पनि चाडपर्व नजिकै आएपछि मात्रै सबै पक्षले ध्यान दिने उनले बताए। यात्रुले काउन्टरमा टिकट काटेपछि हेरेर मात्रै हिँड्नुपर्ने उनले बताए। आफू जाने ठाउँ, मिति मागेको सिट हो/होइन तत्काल हेरेर सच्याउनुपर्ने उनले  सुझाव दिए।

दसैँ, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रु यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ। सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभिइक्वुपमेन्ट’ ठाउँठाउँमा राख्न वरिष्ठ उपाध्यक्ष सिटौलाले सडक विभागलाई अनुरोध गरेका छन्।

यस वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखाल्डी परेका छन्। वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरोका कारण अहिले पनि सडक बन्द भइरहेको उनले बताए। काठमाडौँबाट सदरमुकाम गएर त्यहाँबाट यात्रु गाउँगाउँमा जानुपर्ने उनले बताए। उनले भने, ‘गाउँका पहाडी भेगका सडक पनि त्यहाँका डिभिजन सडक कार्यालयले खाल्डा पुर्ने, अवरोध हटाउने र सवारीसाधन चल्न सक्ने बनाउनुपर्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .