ad ad

समाज


रानी ऐश्वर्यलाई मन परेको त्यो ‘अश्लील गीत’, सन्दीप र पललाई समात्ने यो कानुन

रानी ऐश्वर्यलाई मन परेको त्यो ‘अश्लील गीत’, सन्दीप र पललाई समात्ने यो कानुन

यौन अपराध संहिता आकर्षित हुँदा क्रिकेटर सन्दीप लामिछाने र कलाकार पल शाह समस्यामा परेका छन् (तस्बिर स्रोतः सन्दीप र पलको फेशबुक पेज)


वाशुदेव मिश्र
असोज २१, २०७९ शुक्रबार ६:२५, पोखरा

गायक सरोजगोपाल बज्राचार्यको एउटा गीतले त्यो बेला अर्थात् ३० को दशकमा तहल्का मच्चायो। गीतका सबै अन्तरा मुखाग्र हुनेहरु अहिले पनि बाँचेकै छन्।

तर, हिट भएकै बेला रेडियो नेपालले यो गीत बजाउन छाड्यो। रेडियोका तत्कालीन हाकिमहरु भन्थे, ‘गीत अश्लील भयो।’

त्यो गीत यस्तो थियो, जुन अहिले पनि गाउँघरमा गाइन्छ–

ज्यानलाई पर्नु पीर पर्यो 
देउराली उकाली चढेर, विजयपुर खोला तरेर
सानीलाई बोलाउँदा बोलिन, पर्नु पीर पर्यो
अँधेरी खोलाको तिरैमा बच्चामा हामी खेलेथ्यौँ

गण्डकीको भिरैमा बयर टिपी खाएथ्यौँ
बयर टिपी खाएथ्यौँ 
अब त हेर सानीको, जिउमा रङ्ग चढेछ
छुन पनि डर लाग्यो, पर्नु पीर पर्यो, ज्यानलाई पर्नु पीर पर्यो 
बारीको पराल भारीमा बच्चामा लुकी खेलेथ्यौँ
लै लै भाका छोपेर हात समाई नाचेथ्यौँ  
अब त सानी तरुनी भइ, भेट भए पनि बोल्दिन
आँखा जुधे पनि तर्सिन्छे, पर्नु पीर पर्यो
ज्यानलाई पर्नु पीर पर्यो

राजा वीरेन्द्र र रानी ऐश्वर्य काठमाडौंको मिनपचास जाडो छल्न पोखराको रत्नमन्दिरलाई मुकाम बनाउँथे। रत्नमन्दिर मुकाममा पोखरा र सो भेगका कवि–कलाकार निम्त्याइन्थ्यो। राजा–रानीको अगाडि सिर्जनाहरु प्रस्तुत गरिन्थ्यो। हातमा ह्विस्की लिएका राजा मुड चल्दा कलाकारहरुसँग बात मार्न आउँथे। प्रस्तुति मन परे ताली पिट्थे। बक्सिस दिन्थे।

हिउँदको एउटा त्यस्तै चिसो साँझमा सरोजगोपाल पनि रत्नमन्दिर निम्त्याइए। रेडियो नेपालमा प्रतिबन्धित ‘देउराली उकाली चढेर’ सुनाए। रानी ऐश्वर्यलाई गीत मन पर्यो। रानीले ताली पिटिन् र वान्स मोरको आदेश दिइन्। अनि त के थियो! सवारीसँगै आएका दरबारका मान्छेले रानीको इच्छा ‘नोट’ गरे। एकाएक रेडियो नेपालबाट सरोजगोपालको गीत घन्कन थाल्यो। 

स्वर्गीय सरोजगोपाल स्वयंले एकपटक यो पंक्तिकारसँग भनेका थिए, ‘मेरो गीतमा अश्लील भन्ने कुरै छैन, त्यहाँ त बढ्दो उमेरसँगैको भावना समेटिएको छ, केटामा जुँगाको रेखी बसेपछि केटा र रजश्वलापछि केटीको मनोभाव बदलिन्छ नि।’

यो भाव व्यक्त गर्नेमा सरोजगोपाल एक्ला छैनन्। चर्चित लोकशिल्पी स्वर्गीय कल्याण शेरचनलाई नै हेरौँ न!

पोखराले गएको साउन १२ गते वरिष्ठ लोकगायक कल्याण शेरचनको जन्मजयन्ती मनायो। कल्याण शेरचन स्मृति प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा उनकै सम्मानमा कौरागीत प्रस्तुत गरियो। 

हा... हा... नानी त रैछौ हाम्रै दवाँली
किन नानी नबोलेको जोवन दिँदा खेरी 
यो नानीको शीरको फूल चोखो छ कि जुठो छ?
सोह्र वर्षे उमेरमै मै पनि झिल्के हुँदो हुँ ... अहिले पो बुढो भयो र ...। 

अक्सर विद्यालयको वार्षिकोत्सवको क्रममा नाचिने यो गीतका शब्दहरुले पनि १६ वर्षे उमेरलाई ‘मानक’ मानेको छ र प्रेमालापको ‘अफर’ पस्केको छ। यी त उदाहरणमात्रै हुन्। नेपाली समाजमा चल्तीमा रहेका धेरै लोकगीतहरुले १६ वर्षलाई प्रेमालापको मानक बनाएका छन्। कतिपय गीतले, १६ वर्ष उमेर पुगेपछि गरिने वासनायुक्त छेडछाडलाई जायज नै ठहर्याएका छन्। युवतीको मानमर्दन नै पनि गरिएको छ।

कुमार बस्नेतको ‘आफ्नै छोरी तरुनी हाम्लाई के को दोष?’ होस् कि ‘झिल्के उमेर भएर’ होस् कि ‘कल्ले सम्झ्यो लाइरन्छ बाडुली’ जस्ता गीतमा सोह्र वर्षपछि देखिने शारिरीक परिवर्तन र मायाप्रेमको चाहनालाई उजागर गरिएको छ। सो उमेरमा हुने विपरीत लिङ्गप्रतिको आकर्षण र युवतीको शक्ति आकलन गर्दै वरिष्ठ गीतकार चेतन कार्कीले गीतमार्फत् नै भनेका छन्–

‘हे मर्दले आँटे नि’ वर्ष दिन भन्छन्
आइमाइले आँटे नि’ एकै छिन
म धाउन लागेको दुई वर्ष पुग्यो नि
तिमीले आँट्ने कुन दिन रे ...’

सोह्र वर्षमा हुने प्रेमालापसम्बन्धी यी गीतहरु अहिले चाहिँ असान्दर्भिकजस्ता भएका छन्। उमेरको कारणले हैन कि कानुनले नै यी गीतहरुमाथि अघोषित बन्देज लगाएको छ। 

किनकि, मुलुकी अपराध संहिता २०७४ ले यौनको आसयले जिस्काउनु वा हैरानी दिनु, लिखित वा सांकेतिक रुपमा वा विद्युतीय माध्यम प्रयोग गर्नु, अश्लिल चित्र वा तस्वीर देखाउनुलाई यौन दुव्र्यवहार मानेको छ भने बालयौन दुव्र्यवहारसम्बन्धी कानुन त झन कडा रहेको छ। ती कानुनहरु आकर्षित हुँदा ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना तिर्नुपर्छ। 

अझ डरलाग्दो त के छ भने, १८ वर्षभन्दा कम उमेरमा प्रेमसम्बन्धसँगै यौनसम्बन्ध पनि कायम भयो भने कानुनले त्यसलाई बलात्कार नै मानेको छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसूर र त्यसको दण्ड व्यवस्थाबारे उल्लेख गरिएको छ। जसको दफा २१९ मा जबरजस्ती करणी गर्न नहुने उल्लेख छ। त्यसरी कानुनले नगर्न भनिएको कुरा गरेमा कुनकुन अवस्थामा के कति दण्ड सजाय हुने भन्ने प्रष्ट तय गरिएको छ।

दफा २१९ को उपदफा (२) मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ भनिएको छ। 

यता, मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले ‘विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन’ भनेर २० वरको विहेलाई अवैधानिक दर्ज गरेको छ।

‘१६ वर्षे झिल्के’ हुँदा कायम भएको यौन सम्पर्क र अपराध संहिताको दफा २१९ को उपदफा (२) आकर्षित हुँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने समस्यामा परेका छन्। उनीमाथि एक १७ वर्षीया किशोरीले जबर्जस्तीको आरोप लगाएकी छन् भने नायक पल शाह यस्तै काण्डका कारण जेलमा छन्। 

यी दुई प्रकरणले बलात्कार र विवाहसम्बन्धी कानुन परिवर्तनको पक्षमा बहस सुरु गराएको छ भने कतिपयले यी कानुनी व्यवस्थालाई अव्यवहारिक दर्ज गरेका छन्। यौन निजी स्वतन्त्रता र जैविक आवश्यकताको विषय हो कि हैन भन्ने अर्को विषयको पनि उठान भएको छ।

बलात्कारको त हैन विहेको विषय भने संसदमै पसेको छ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले संसदमै भनेका थिए, ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहा गर्न २० वर्ष कुर्नुपर्छ। सम्मानित संसदमा सम्मानीय सभामुखमार्फत् म के निवेदन गर्न चाहन्छु भने बिहा गर्न २० वर्ष कुर्नुपर्ने अवस्था चाहिँ कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन। यसले बरु अपराध बढाउने काम भइरहेको छ, बालविवाहमा सजाय भइरहेको छ। त्यसैले यसमा समीक्षा गर्नुपर्छ र कानुन मन्त्रालयले समीक्षाको प्रक्रिया थालिसकेको ब्यहोरा म अनुरोध गर्न चाहन्छु।’ 

कानुन परिर्वतन भएको छैन। पल शाह प्रकरणलाई नजिकबाट नियालेका कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले पछिल्लो समय नेपाली समाजमा भएका परिवर्तन त स्वीकारे तर आफ्नो काम कानुन कार्यान्वयनको मात्रै भएको तर्क गरे।

‘मैले पनि नेपाली गीत सुनेको छु, नेपाली समाजलाई नजिकबाट नियालेको छु, व्यवहारिक पक्ष एउटा छ तर प्रहरीले कानून हेर्ने हो,’ तिवारीले भने, ‘कानुनको दृष्टिमा २० वर्ष वर भएको विहे अवैधानिक नै हो भने १८ वर्ष उमेर नपुगी सहमतिमै भएको यौनसम्पर्क पनि बलात्कार नै हो।’

पछिल्लो समय नेपालीको आनीबानी बदलिएको छ। जंक फुड, पौष्टिक आहार र सामाजिक सञ्लालको प्रभाव अहिलेको पुस्तामा देखिन थालेको छ। उनीहरु मानक मानिएको १६ वर्ष अगावै यौनका लागि तयार भएको विभिन्न अध्ययनहरुले दाबी गरेका छन्।

यस्तो मत जाहेर गर्नेमध्येमै पर्छन्– नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष कवि तीर्थ श्रेष्ठ। नेपाली कानुनले प्रकृतिको नियमलाई नबुझ्दा अहिलेको समस्या आएको उनको तर्क छ।

पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिवसमेत रहेका कवि तीर्थले भने, ‘१६ वर्षमा बैंस आउँछ भन्ने कुरा असान्दर्भिक छैन। केटाको ओठमाथि रेखी पलाउँछ, केटीका छाती उठ्छन्। कानुनले सबैलाई गोलमोटल गर्ने हो नि। मेरै आमा १६ वर्ष हुँदा म जन्मेको हुँ। सरकारले विहेको उमेर तोक्ने हो, प्रेम गर्ने उमेर तोक्ने हैन। शरीर विज्ञानले प्रजनन सामथ्र्य कहिले सुरु हुन्छ भन्ने कुरा प्रष्टसँग भनेको छ। प्रकृतिको नियमलाई उल्टो हिँडाएर हुन्छ र?’

उनले बैंसमा पदार्पण गर्नु र विहे गर्ने उमेर एउटै हुन सक्दैन भन्ने कुरा बुझ्नुपर्नेमा जोड दिए।

उनले थपे,‘ कानुनले व्यक्तिको अधिकार र राज्यले प्रदान गर्नुपर्ने सेवासँग जोडेर बालिग मानेको हुन्छ, यहाँ १२ वर्षमा एमए पास गरेका मान्छे पनि छन्, त्यो अपवाद हो। कानुनले अपवादलाई मान्दैन तर आँखाले देखेको सत्यलाई त मान्नुपर्यो नि। अहिलेको दुनियाँमा १६ वर्षमा यौनको विषय थाहै थिएन भन्नु झुटो हो, राज्यले त्यो पक्षलाई हेरेको छैन।’

कानुनले रोक्दैमा नेपाली समाजमा चलेका गीतहरु असान्दर्भिक नहुने उनको जिकिर छ। सामान्यतयाः १६ वर्षे उमेरलाई मानक बनाएर सिर्जित गीतहरुले सिर्जना समयको कथामात्र नभएर प्रकृतिको सिद्धान्तलाई पनि समातेकाले ती कालजयी नै हुने उनले ठोकुवा गरे।

प्रेमपछिको यौनको विषयमा भने उनी रिजर्भ नै देखिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .