ad ad

समाज


यूएन मिसनमा जागिर खान्छन् नेपाली सेनाका चारवटा कुकुर

यूएन मिसनमा जागिर खान्छन् नेपाली सेनाका चारवटा कुकुर

उजिर कार्की
कात्तिक ७, २०७९ सोमबार १९:२१, काठमाडौँ

नेपाली सेनाका चार वटा कुकुर संयुक्त राष्ट्र संघको मिसनमा खटिएका छन्। सेनाले २०७४ असोज १७ गतेबाट युएनस्मल मिशन, लिवियामा स्पेशल गार्ड (शान्ति सेना) पहिलो डफ्फाबाट ‘डग’ खटाउन थालेको हो। हाल लिवियामा चार वटा डग कार्यरत छन्। 

लेब्राडोर जातको ‘किलो’ नामको कुकुर २०७७ कात्तिक १४ गते लिविया पुगेको हो। उसलाई त्यहाँ नेपाली सेनासँगै आर्म्स एण्ड एक्सप्लोसिभको काममा खटाइएको छ। 

तर किलो भन्दा पहिले नै लिवियामा रेक्स पुगेको थियो। रेक्स पनि लेब्राडोर जातकै हो। यसले पनि आम्र्स एण्ड एक्सप्लोसिभकै काम गर्छ। रेक्स २०७४ असोज १७ गतेदेखि त्यहाँ कार्यरत छ। 

त्यही कार्यरत ज्याक जर्मन सेफर्ड जातको हो। ज्याक पनि २०७८ माघ २९ गते लिविया पुगेको हो। ज्याकलाई त्यहाँ गार्डको रुपमा खटाइएको छ। ज्याकसँगै खटिएको छ बलु। बलु पनि जर्मन सेफर्ड हो। ज्याक र बलु गत माघमा सँगै लिविया पुगेका हुन्। 

२०५५ सालमा भारतबाट केही सैनिक कुकुरहरु उपहार स्वरुप पाएपछि पशु परिवहन गुल्म अन्तर्गत रहने गरी डग प्लाटुन खडा गरिएको थियो। त्यतिबेला द्वन्द्वको समयमा उक्त गुल्मलाई केनाइन कम्पनीको रुपमा स्तरोन्नती गरिएको थियो। २०६० सालबाट भैरव वाहन गुल्मको रुपमा नामकरण गरिएको थियो। 

हाल नेपाली सेनाको एक मात्र केनाइन युनिट भैरव वाहन गुल्मले तालिम प्राप्त सैनिक कुकुर परिचालन गर्दै आएको छ। 

सेनासँग जर्मन सेफर्ड, लेब्राडोर, ककर स्पानियल, बेल्जियम मेलोनाइज, र गोल्डेन रिट्रिभर प्रजातिका तालिम प्राप्त सैनिक कुकुरहरु छन्। उनीहरुलाई सेनाले स्निफिङ, खोज तथा उद्धार, ट्रयाकिङ, गार्ड तथा पट्रोलिङ कार्यहरुमा प्रयोग गर्दै आएको छ। 

तालिमप्राप्त सैनिक कुकुरको सहायताले अधिकांश सैनिक कारबाहीमा सफलता प्राप्त भएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए। 

अहिले हातहतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउन, प्रारम्भिक चेतावनी, भीड नियन्त्रण, खोजि कार्य गर्न, माइन तथा बुबि ट्रयाप पत्ता लगाउन, ड्रग्स पत्ता लगाउन कार्यमा सैनिक कुकुरको सहायता लिने गरिएको छ। यस्ता कार्यमा मान्छेले भन्दा कुकुरले छिटो र तीब्र गतिमा पत्ता लगाउने गरेको सेनाको केनाइन गुल्मले जनाएको छ। 

नेपालमा अति विशिष्ट व्यक्तिहरु सहभागी हुने विभिन्न समारोह तथा कार्यक्रमहरुमा, सवारी मार्गमा पनि कुकुरबाट सर्च गराएर सुरक्षित भएको एकिन गर्ने गरिएको छ। कुकुरले सुरक्षा निश्चित गरेपछि मात्रै भीआईपीको सवारी तथा कार्यक्रममा सहभागीता हुने गरेको छ। यसको प्रयोग अनिवार्य जस्तै बन्दै गएको सुरक्षा निकायको भनाई छ। 

यसअघि नेपालमा पनि सेनाले कुकुरको सहायताबाट ठूला उपलब्धि हासिल गरेको छ। २०६० साल भदौ ३० गते रसुवास्थित नेपाली सेनाको राम्चे पोष्ट पहिरोले बगाउँदा पहिरोमा परेका सुरक्षाकर्मी, हातहतियार तथा सैनिक सामाग्रीहरु सैनिक कुकुरले नै पत्ता लगाएका थिए।

२०७२ सालको भुकम्पमा पनि सेनाले ट्रयाकरहरु प्रयोग गरेको थियो। जसको सहायतामा भग्नाबसेस भित्र पुरिएका मानिसको उद्धारमा सहज भएको थियो। त्यहाँ मान्छे रहेको नरहेको कुकुरले नै एकिन गरेका थिए। 

यस्तै, चितवन राष्ट्रिय निकुन्जमा हुने अवैध शिकारी तथा चोरी तस्करी नियन्त्रणमा पनि कुकुरले उल्लेख्य कार्य गरेको सेनाले जनाएको छ। शान्ति मिसनमा लिवियामा तैनाथ कुकुरले पनि विद्रोहीहरुले लुकाएका हतियार तथा विस्फोटक पदार्थहरु पत्ता लगाएको केनाइन गुल्मले जानकारी दिएको छ। त्यहाँ उनीहरुले प्रशंशनीय कार्य गरेका छन्। 

सेनाले समयानुकुल कुकुरहरुलाई पनि आधुनिक तालिम दिँदै आएको छ। नेपाली सेनामा सैनिक कुकुरहरुको क्षेत्र विस्तार गर्दै लैजाने योजना रहेको प्रवक्ता सिलवालले बताए। 

शान्ति मिसनमा खटिएका कुकुरलाई पनि संयुक्त राष्ट्र संघले सुविधा दिने गरेको छ। उनीहरुले काम गरेबापत नेपाली सेनालाई रकम आउने गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .