समाज


सुदूरपश्चिममा एकै रात तीन भूकम्प, सात वर्षमा पहिलो पटक मानवीय क्षति

तीनैको केन्द्रबिन्दु डोटीको खप्तड क्षेत्र
सुदूरपश्चिममा एकै रात तीन भूकम्प, सात वर्षमा पहिलो पटक मानवीय क्षति

भूकम्पले डोटीमा क्षतिग्रस्त एक घर


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार ६:५७, काठमाडौँ

गएराति डोटीको खप्तड क्षेत्रलाई केन्द्रबिन्दु बनाएर तीनवटा भूकम्प गएका छन्। यी भूकम्पमध्ये बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६  म्याग्निच्युडको भूकम्पले सुदूरपश्चिममा मानवीय क्षति पनि भएको छ।

डोटीको पूर्वी चौकी बजारमा कम्तीमा ६ जनाको ज्यान गएको खबर आएको छ। २०७२ वैशाख १२ को गोरखा भूकम्पयता पहिलो पटक सुदूरपश्चिममा मानवीय क्षति हुने गरी ठूलो धक्का महसुस भएको हो। यसले कयौँ घरसहितका भौतिक पूर्वाधार क्षतिग्रस्त भएका छन्। 

यी भूकम्पमध्ये खप्तडलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ९ बजेर ७ मिनेटमा खप्तड क्षेत्रलाई नै केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो।

यो भूकम्पको धक्काले घर र अन्य भौतिक पूर्वाधार हल्लिए पनि कुनै क्षति भएको थिएन। त्यसपछि अर्को भूकम्पको धक्का मंगलबार राति नै ९ बजेर ५६ मिनेटमा महसुस भयो।

४.१ म्याग्निच्युडको यसले पनि मानिसहरुलाई आतंकित बनायो। तर कुनै मानवीय र भौतिक क्षति भएन।

तर यी दुई धक्कापछि मानिसहरु सुतिसकेको समयमा बुधबार बिहान सबेरै गोरखा भूकम्पयताकै ठूलो ६.६ म्याग्निच्युडको धक्का महुसस भयो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार यो भूकम्पको केन्द्रबिन्दु पनि खप्तड नै थियो।

यस भूकम्पका कारण सुदूरपश्चिम र कर्णाली प्रदेश तथा अन्य छिमेकी भूगोलमा पनि कडा धक्का महुसस भयो।

अघिल्ला दुईवटाले कुनै भौतिक तथा मानवीय क्षति भएको थिएन। तर यसले डोटीको पूर्वीचौकी गाउँपालिका–३ टाढा गाउँमा घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको ज्यान गएको छ।

यस भूकम्पका कारण मस्त निद्रामा रहेका मानिसहरुबीच खुला ठाउँ र सडकमा भागाभागको अवस्था ल्याइदियो। काठमाडौंसहित पू्र्वी नेपालमा २०७२ को गोरखा भूकम्पले ठूलो क्षति गरेको थियो।

त्यसबेलादेखि नै सुदूरपश्चिम पहाड भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका थिए। त्यसक्षेत्रमा लामो समयदेखि भूकम्प नगएका कारण जोखिम आँकलन गरिएको थियो।

सुदूर र मध्यपश्चिम पहाडमा यसअघि साना धक्का महसुस भइरहन्थे। तर यति शक्तिशाली धक्का गोरखा भूकम्पयताकै पहिलो हो। जसले मानवीयसँगै ठूलो भौतिक क्षति पनि गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .