समाज


८४ सञ्चारमाध्यममा आचारसंहिता प्रतिकूल सामग्री

८४ सञ्चारमाध्यममा आचारसंहिता प्रतिकूल सामग्री

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार २२:१, काठमाडौँ

प्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको देखिएको छ।

यही कात्तिक २९ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेकामध्ये १५ छापामाध्यम, पाँच टेलिभिजन, २० रेडियो, ४४ अनलाइन गरी ८४ सञ्चारमाध्यम र पाँच वेबपोर्टलबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको हो।

काउन्सिलले त्यसमध्ये छ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधेको जनाएको छ। दर्ता/सूचीकरण नभएका पाँच वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने तीन अनलाइन मिडियालाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको छ। मिडियाअन्तर्गत केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गराइएको छ।

काउन्सिलले सबै प्रावधानतर्फ विशेष ध्यान दिइ समाचार, विज्ञापन सम्प्रेषण गर्न÷गराउन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको ध्यानाकर्षण गराएको छ। काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताए।

‘निर्वाचनको समयमा मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्छ, पक्षधरता लिनै हुँदैन, जे हो त्यो प्रस्तुत गर्न सकेन भने मिडियालाई पत्याउँदैनन्’, अध्यक्ष बस्नेतले भने, ‘निश्चित विधि, प्रक्रिया र आधार विनाको सर्वेक्षणले एउटा समाचार त बन्ला तर त्यो कतिको विश्वसनीय हुन्छ भन्ने प्रश्न उठिरहन्छ, त्यसैले मिडियाप्रति भरोसा बढाउनकै लागि संयमित र सन्तुलित हुनु जरुरी छ।’
 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन आगामी मंसिर ४ गते नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनका नयाँनयाँ प्रवृत्तिहरू देखिएको र यस्तो प्रवृत्ति सरकारी र निजी दुवै क्षेत्रका सञ्चार माध्यममा देखिएको काउन्सिलको अध्ययनमा छ।

पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहित निर्वाचन आचारसंहिता, २०७९ मा मतदान कार्य सकिनुअघि नै मत सर्वेक्षण तथा विश्लेषण गर्न नहुने र विज्ञापन सम्प्रेषण गर्दा साइज, समयमा ध्यान दिइ सःशुल्क उल्लेख गर्नुपर्ने सम्बन्धमा निर्वाचन आचारसंहितामा स्पष्ट रुपमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .