ad ad

समाज


रानीतलाउ र महेन्द्रपार्क पर्यटकको गन्तव्य बन्दै

रानीतलाउ र महेन्द्रपार्क पर्यटकको गन्तव्य बन्दै

नेपालखबर
पुस ५, २०७६ शनिबार ६:१४,

नेपालगञ्जको ऐतिहासिक रानीतलाउ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ।

डेढ दशक अघिसम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज–८ स्थित प्रसिद्ध ऐतिहासिक रानीतलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेको सङ्ख्या अहिले बढ्दै गएको छ।

नगर प्रमुख डा. धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरुपमा विकसित गर्दै लगिएको बताए। उपमहानगरपालिकाको करिब रु २५ लाखको लागतमा पुनःनिर्माण गरेको पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन्।

यसैगरी नेपालगञ्जकै अर्को ऐतिहासिक महेन्द्रपार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ। यस पार्कलाई ‘मिनी जू’ को पनि नाम दिइएको छ। पार्कमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्नथरिका चरा पाइन्छन्। सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाइने निर्णय गरेरअनुसार उपमहानगरपालिकाले पनि यहाँको पर्यटकीयस्थललाई आकर्षक बनाउने कार्य शुरु गरिसकेको नगर प्रमुख राणाले बताए।

नेपालगञ्जको यी दुई पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, कान्तिताल र वाटरपार्कको निर्माण धमाधम भइरहेको छ । नेपालगञ्ज फोहरमुक्त बनाउन प्लाष्टिकजन्य वस्तुको व्यवस्थापनलाई पनि नगरपालिकाले आफ्नो कार्यक्रममा समेटेको उनको भनाइ छ।

संरक्षणको पर्खाइमा ऐतिहासिक विद्यालय

नेपालगञ्जको पुरानो ऐतिहासिक युद्ध संस्कृत विद्यालय संरक्षण र सहयोगको पर्खाइमा रहेको छ। शिक्षक नारायण शर्माका अनुसार, यो विद्यालयमा झण्डै ८० प्रतिशत विद्यार्थी अरुको घरमा काम गर्न बसेका बालबालिका हुने गरेकाले पनि बेवास्तामा पर्ने गरेको छ।

विद्यार्थी संख्या कम भए पनि विद्यालयमा शिक्षकको अभाव भने छैन। जेनतेन चलेको यो विद्यालय गैरसरकारी संस्थाको आँखामा समेत पर्न नसकेको शिक्षक शर्माको भनाइ छ। विसं १९८६ मा स्थापना भएको यो विद्यालयमा शुरुमा संस्कृत विषय पनि पढाइ हुन्थ्यो। विसं २०५६ बाट भने साधारण विद्यालयमा रुपान्तरण गरिएको हो। विद्यालयमा अहिले करिब २०० विद्यार्थी अध्ययनरत छन्। जसमध्ये अधिकांश विद्यार्थी काम गर्न बसेका घरबाट पढ्न आइरहेको शिक्षक शर्माले बताए।

विद्यालयमा शुद्ध पानी पिउने व्यवस्था छैन। विद्यालयको तीन वटा कोठा जीर्ण अवस्थामा छन् भने प्रावि तहमा एक जना शिक्षकको अपुग छन्। विद्यार्थी भर्नाका बेलामा सबै अभिभावक बालबालिकाको हात समातेर आए पनि भर्ना गरिसकेपछि बोलाएको बेलामा एकदमै कम विद्यालयमा उपस्थित हुने गरेको प्रधानाध्यापक दिलीपकुमार श्रीवास्तवको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .