समाज


न्यायाधीशकै अगाडि विष पिएकी बिनु भन्छिन् : म गलत रहेछु भने जेल जान तयार छु

न्यायाधीशकै अगाडि विष पिएकी बिनु भन्छिन् : म गलत रहेछु भने जेल जान तयार छु

राधिका अधिकारी
मंसिर १७, २०७९, शनिबार , काठमाडौँ

देशमा मुख्य सहरहरुमा दिनहुँ हिंसाविरुद्धका नारा लेखिएका ब्यानर बोकेर र्याली निस्किरहेका छन्। त्यही र्यालीको अग्रपंक्तिमा उभिएर सरोकारवालाहरु ठुल्ठूला भाषण गर्छन्, महिला हकहितका कुरा गर्छन्। कपनको एउटा अँध्यारो कोठामा बसेर यी सबै दृश्य हेर्दै आँसु झारिरहेकी छिन् बिनु यादव। ‘मलाई न्याय देऊ’ भनेर चिच्याइरहेकी एक युवतीको चित्कार नसुन्ने नाराले आफैँलाई गिज्याएजस्तो लाग्छ उनलाई।

बिनुको रातको निद्रा र दिनको भोक खोसिएको ३ वर्षभन्दा बढी भइसक्यो। हिजोआज उनलाई निद्रा पर्दैन, आफ्नै जिन्दगी सम्झेर ऐँठन पर्छ। मानिसहरु उनीतिर फर्किएर प्रश्न गर्छन्, ‘तेरो फिजिकल निड कसरी पुरा गरिरहेकी छस्?’ तर कसैले पनि उनलाई सोधेको छैन, ‘तँ कसरी बाँचिरहेकी छस्? तेरो पेट कसरी भरेकी छस्?’ सोधेको भए बिनुसँग यी सबै प्रश्नको जवाफ थियो। तर, उनी मान्छे हुन् भन्ने समाजले बिर्सिएको छ। मानिसहरु उनलाई लोग्ने छाडेर बसेकी केटीशिवाय केही देख्दैन। 

अक्सिजनको साहारामा सास फेरिरहेकी आमा छोरीको अवस्था हेरेर दिनहुँ रुन्छिन्। बिनुलाई लाग्छ, ‘म त आफ्नो जिन्दगीको मात्रै होइन, आमाको पनि अपराधी हुँ। सन्तान भएर पनि आमालाई खुसी दिन सकिनँ, म कति अभागी हुँ?’ 

बिनुको परिवार सम्पन्न थिएन तर सुखी थियो। सर्लाहीका यादव उनका बुबाले ओखलढुंगाकी कटुवालसँग प्रेम विवाह गरेका थिए। बुबा–आमा दुवै सरकारी जागिरे। बिनुका तीन दिदी–बहिनी र एकजना भाइ छन्। उनका बुबा भनिरहन्थे, ‘जेजस्तो जिन्दगी बाँचे पनि पढ्नु चाहिँ पर्छ। बरु ठिक्कैको जिन्दगी बाँच तर आफ्नै पौरखमा बाँच।’ 

बुबाले छोराछोरीलाई यो हौसला लामो समय दिन पाएनन्। बुबाको देहान्तपछि परिवारको जिम्मेवारी बिनुको थाप्लोमा आयो। उनले कहिले निजी स्कुलमा पढाइन्, कहिले सरकारी स्कुलमा पढाइन्, कहिले निजी कम्पनीमा काम गरिन्। तर आफू पढ्न र भाइ–बहिनी पढाउन छोडिनन्। उनको आफ्नै सपना पनि थियो लोकसेवा आयोगबाट नाम निकाल्ने, सरकारी जागिर खाने र आमालाई खुसी राख्ने। तर अहिले यी सबै सपना भत्किएका छन्।  उनलाई कुनैदिन लाग्थ्यो, म अन्यायमा परेकालाई साथ दिन्छु। हिजोआज उनी आफैँ न्याय माग्दामाग्दै हरेश खान थालेकी छन्।

आमाको उपचार गर्दै काठमाडौंमा पढिरहेकी बिनुको भेट रामेछाप, मन्थलीका प्रदीप कठायतसँग भयो। त्यसबेला प्रदीप पनि काठमाडौंमै बसेर कलेज पढ्दै थिए। यो भेट मित्रता हुँदै प्रेममा परिणत भयो। उनका आमा–बुबाको पनि अन्तरजातीय प्रेम र विवाह थियो। बिनुलाई प्रेमभन्दा ठूलो जात लागेन। प्रदीप धनी परिवारका थिए, सामान्य परिवारकी बिनु।  उनलाई प्रेम र समर्पणभन्दा ठूलो यो असमान जीवनस्तर पनि लागेन। प्रदीपले प्रेम दर्शाए, उनले प्रेम पत्याइन्। बिनुले प्रदीपलाई नै आफ्नो जिन्दगी सम्झिइन्। भन्छिन् ‘मेरो जिन्दगीको सबैभन्दा ठूलो भूल यही भैदियो। ’

२०७५ सालमा बिनुसँगैका केही साथी जापान जाने भए। बिनुले पनि साथीसँग सल्लाह गरिन्। बिरामी आमा, भाइ–बहिनीको पढाइ, काठमाडौँको बसाइ, यी सबै कुराले बिनुले पनि जापान जाने योजना बनाइन्। सबै डकुमेन्ट तयार गरिन् र प्रदीपलाई भनिन्। प्रदीपले विदेश नजान भने। 

‘मलाई उसले धेरै माया देखाउँथ्यो, त्यसैले उसको सल्लाह मानेँ,’ बिनु भन्छिन्।

त्यतिबेला प्रदीप र बिनु प्रेममा परेको दुई वर्ष भइसकेको थियो। उनीहरुले एक–अर्कालाई स्वीकार गरिसकेका थिए। त्यसैले उनीहरुबीच नियमित शारीरिक सम्बन्ध पनि हुन्थ्यो। बिनु भन्छिन्, ‘मैले इमानदार भएर भन्नु पर्छ, सुरुवाती दिनमा मैले उसँग प्रेमले सम्बन्ध स्थापित गरेकी हुँ। उसले मलाई कुनै जबर्जस्ती नगरी मनाएरै सम्बन्ध राखेको हो। तर हामीबीच विवाह गर्ने सहमति भएको थियो।’ 

यहीबिचमा उनी गर्भवती भइन्। यहीँबाट सुरु भयो बिनुको जिन्दगीको कठिनाइ छ। उनले आफू आमा बन्न लागेको खबर प्रदीपलाई सुनाइन्। प्रदीपले बच्चा फाल्न दबाब दिए। बिनु मानिनन्। २०७५ साल चैत १९ गते अफिसबाट घर फर्किंर्दै गर्दा उनलाई असजिलो भयो। त्यो रात उनी निदाउनै सकिनन्। बिहानै टिचिङ अस्पताल पुगिन्। बच्चा पाठेघरको देब्रे नलीमा गएर बसेको रहेछ। अप्रेसन गर्नु पर्ने भयो। नगर्दा उनकै ज्यानको खतरा थियो। उनले अप्रेसन गरिन्। उनको कोखमा हुर्किरहेको बच्चा जन्मन पाएन। सबै खर्च आफैँले बेहोरिन्।

त्यो बेला प्रदीप मन्थली गएका थिए। बिनुले बोलाइन्। उनी आए। आफ्नो गर्भ रहेको स्वीकार गरे। कागज गरेर प्रदीप बिनुलाई लिएर गए। प्रदीपको घर ठिमीमा थियो। तर उनले सिनामंगलको होटेलमा लगेर राखे। 

भन्छिन्, ‘त्यहाँ आफू बसेन। दुई दिनसम्म एक्लै बसेँ।  मेरो पेटमा ९ टाँका लगाइएको थियो।  २४ गते टाँका फुकाउने भनिएको थियो। त्यसै दिन बिहानै ७ बजेतिर ऊ आयो। म शरीर पनि चलाउन नसक्ने अवस्थामा थिएँ। त्यस्तै अवस्थामा पनि उसले मसित जबरजस्ती यौन सम्बन्ध राख्यो। उसले जबरजस्ती गर्दा मेरो पेटबाट टाँकाहरु नै खुस्किए। म धेरै रोएँ। पछि अस्पताल लिएर गयो र भर्याङबाट लडेको भन्न लगायो। मैले त्यसै भनेँ।’ 

त्यसपछि बिनुलाई जडीबुटीस्थित दोलखाली फेमिली गेस्ट हाउसमा छाडेर प्रदीप बेखबर भए। बिनु आफूले काम गर्दै आएको दूधकुण्ड एक्सप्रेसको अफिसमा गएर १५ दिन बसिन्। प्रदीप फकिएनन्। बिनु आमाकैमा फर्किन्। त्यो दिन उनको मनमा के बितेको थियो, त्यो कुनै शब्दमा व्यक्त गर्न सक्दिनन्। 

२०७६ साल वैशाखमा बिनुले महानगरीय प्रहरी परिसर काठमाडौंको महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा गएर प्रदीपविरुद्ध बलात्कार आरोपमा जाहेरी दिइन्। त्यसपछि प्रदीप र उनका काका पवन कठायत बिनुमाथि खनिए। उनीहरुले बारम्बार धम्की दिए। बिनुकै कोठामा सुरक्षागार्डसहित प्रदीपका मामा डीएसपी सुरज कार्कीले पेस्तोल देखाएर धम्काए।  

भन्छिन्, ‘भाइबहिनी कलेज गइसकेका थिए। प्रदीपका मामाले घरभित्र पसेर पिस्तोल खेलाउँदै म र मेरी ममीलाई त्यो जाहेरी फिर्ता गर् नभए तेरो भाइलाई लागुऔषध मुद्दामा १० वर्ष जेल पठाइदिन्छु भन्दै धम्क्याए।’ 

त्यो दिन उनकी आमा निकै रोइन्। उनले भनिन्, ‘तेरो कारण मेरा छोराछोरीलाई केही  भयो भने म तेरो मुख हेर्दिनँ।’ 

भोलिपल्ट उनलाई र उनकी आमालाई प्रदीपका मामा र उनका मान्छे आएर अपहरणको शैलीमा लिएर गए। बाटोभरि धम्काए। मुद्दा फिर्ता गर्न लगाए। विवाहको आश्वासन दिए।  बिनुले मुद्दा फिर्ता लिइन्। 

त्यसको १५ दिनपछि प्रदीपले बिनुलाई ठिमीस्थित घर लगे। २०७६ साल मंसिर २५ गते भद्रकाली मन्दिरमा उनीहरुको विवाह भयो। २६ गते बिनु प्रदीप, उनका काका, बुबा र आमाको साथ लागेर रामेछाप गोठगाउँ पुगिन्। घरमा राम्रो व्यहार भएन। रामेछाप सदरमुकाम मन्थलीमा रहेको प्रदीपको ‘मनकामना एयरपोर्ट भ्यु होटल’मा काम गरिन्। त्यही होटलमा काका ससुरा पवन कठायतले उनीमाथि दुव्र्यवहार गरे। यही नाममा काकीसासू र काका ससुराकी छोरीले मरणासन्न हुनेगरी पिटे। यहाँ पनि आफू बन्धक जसरी बसेको बिनु बताउँछिन्।

यहीबीचमा बिनु दोस्रो पटक गर्भवती भइन्। परिवारका सबैले गर्भपतन गर्न भनेका थिए। बिनुले मानिनन्। 

‘एकदिन परिवारका सबै सदस्य मिलेर हातखुट्टा बाँधिदिएर पाँच गोली औषधि मुखमा हालिदिए र जबर्जस्ती निल्न लगाए,’ बिनुले आँखाभरि आँसु पार्दै सुनाइन्। 

त्यसपछि उनको गर्भ खेर गयो। बिनु बिरामी भइन्। आरामगर्न पाइनन्। होटलको नियमित काममा लगाइयो। एकदिन अचानक बेहोस भएर ढलेकी बिनुलाई मन्थलीस्थित तामाकोसी अस्पताल लगियो। प्रदीप र उनका काकाले बिनुलाई बिहान बेलुका २–२ गोलीका दरले औषधि खुवाए। भन्छिन्, ‘त्यो गोली स्लिपिङ ट्याब्लेट रहेछ।’ 

एक रात काका ससुरा पवन बिनुको ढोका ढक्ढक्याउन आए। जबर्जस्ती करणीको प्रयास गरे। उनी चिच्याइन्। काकी सासू, काकाकी छोरी सबै आएर गाली गरे। उल्टै कुटपिट गरे। काका ससुराले रडले पेटमा हाने, लात्ताले शरीरमा हाने।  बिनु भन्छिन्, ‘अहिले पनि रडले हानेको निलडाम मेरो शरीरमा छ।’ 

त्यसपछि बिनुप्रति हुने हिंसाले झन् धेरै बढावा पायो। रामेछापमै पनि उनले न्यायका लागि हात फैलाइन्। डीएसपी वसन्त पाठकलाई मेसेज गरेर उद्धारको आग्रह गरिन्। तर उनले काका ससुरालाई म्यासेज देखाइदिए। त्यसपछि बारम्बार हिंसा हुन थाल्यो। बिनुले विवाह दर्ता गरिदिन भनिन्। बिनुका ससुरा विमल कठायत रामेछाप नगरपालिका १ मा तत्कालीन वडा सदस्य थिए। उनको उपस्थितिबिनै २०७७ जेठ ४ मा विवाह दर्ता भयो। 

बिनु काठमाडौँ थिइन्। उनी आमा भेट्न आएकी थिइन्। त्यहीबेला उनका श्रीमानले पत्नीले मानसिक, शारीरिक हिंसा गरेको र कष्ट दिएको भन्दै सम्बन्धविच्छेदको मुद्दा हाले। यो २०७७ असोज ७ को कुरा हो।

डेढ वर्षपछि ०७९ वैशाख ७ मा जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले सम्बन्धविच्छेदको मुद्दा फैसला गर्ने भयो। 

‘सम्बन्ध विच्छेदका लागि ज्यान मार्ने धम्की आइरहेको थियो। तर मैले मानेकी थिइन । मेरो एकमात्रै आशा अदालत थियो। तर जब न्यायाधीशले सम्बन्धविच्छेदका पक्षमा फैसला सुनाए, त्यसपछि मेरो न्यायालयप्रति पनि विश्वास सकियो। किन बाँचौँ भन्ने भयो। न्यायाधीशकै सामु विष पिइदिएँ,’ उनले भनिन्।

त्यसपछि उनको उपचार भयो। मर्न विष पिएकी बिनुले मर्न पाइनन्। बिनुले जिल्ला अदालतको यो फैसलाविरुद्ध गत असार १६ मा उच्च अदालत पाटनमा पुनरावेदन गरिन्। तर उनको मुद्दा अहिलेसम्म पेसी चढेको छैन। बिनुलाई बारम्बार प्रदीपका परिवारले धम्काउँदै आइरहेका छन्। न्यालयबाट पनि न्याय पाउने आश मरेपछि बिनुले गत मंगलबार सर्वोच्च अदालतअगाडि सेतो पहिरनमा रातो रङ फालेर विरोध गरिन्। 

भन्छिन्, ‘त्यो रंग थिएन अदालतले चुसेको मेरो रगत थियो।’

परिवारका विभिन्न सदस्यहरूबाट पटकपटक भएको बलात्कार प्रयास, श्रीमानले गरेको बलात्कार, भ्रूणहत्या, ज्यान मार्ने उद्योग, शरीर बन्धकलगायत आफूमाथि भएका हिंसाका विरुद्ध डटेर लड्ने बिनु सुनाउँछिन्। 

भन्छिन्, ‘वैवाहिक बलात्कारमाथि बहस भइरहेको हाम्रो समाजमा अप्रेसन गरेको टाँका फुस्किएर रगताम्य हुनेगरी गरिएको यौन शोषणलाई सहमतिको नाम दिएर समाज मैतिर औँला उठाइरहेको छ। मैमाथि हिलो छ्यापिरहेको छ। मेरो चरित्रमाथि प्रश्न गरिरहेको छ।’

मंगलबारको घटनापछि प्रदीपका परिवारले बिनुलाई पुनः ठूलो स्वरले धम्काउन थालेका छन्। बिनुमाथि आक्षेप लगाउन थालेका छन्। तर बिनु भने अब कुनै हालतमा पछि हट्नेवाला छैनन्। 

भन्छिन्, ‘हिंसामा महिला मात्रै पर्छन भन्ने होइन्। मेरो श्रीमानले म हिंसामा परेको भनिरहेका छन्। म माथि पनि छानबिन होस्। मैले गलत गरेको रहेछु भने म जेल जान तयार छु। उसमाथि पनि छानबिन होस्, कानुन अनुसार कारबाही होस्। मेरो माग यत्ति हो।’ 

सर्वोच्च अदालतअगाडि रङ फालेपछि मौन रहेकी बिनु केही दिन बाटो हेर्ने बताउँछिन्। केही दिनमा पनि आफ्नो मुद्दा अगाडि नबढे सडक संघर्षमा आउने र सडकबाटै न्याय माग्ने बताउँछिन्। 

भन्छिन्, ‘यहाँ सडकमा नआइ हामी जस्ताले न्याय नपाउने रहेछौँ।’

मंसिर १७, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .