समाज


महाकालीमा भारतीय तटबन्धले जनस्तरमै बिग्रिएको सम्बन्ध सुधार्दै प्रशासन

अझै हटाइएन एक पक्षीय अवैध संरचना
महाकालीमा भारतीय तटबन्धले जनस्तरमै बिग्रिएको सम्बन्ध सुधार्दै प्रशासन

सम्बन्ध सुधारका लागि दार्चुला प्रशासनले गरेको छलफल। तस्बिर : नेपालखबर


गोकुल जोशी
पुस २४, २०७९ आइतबार २२:६, कञ्चनपुर

महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धका कारण नेपाल र भारतका स्थानीय नागरिकबीच सम्बन्ध सुमधुर छैन।

महाकाली नदी नेपाली भूभागतिर फर्काउने गरी भारतले संरचना बनाइरहेको भन्दै दार्चुलाबासी विरोधमा छन्। उनीहरुले महाकाली नेपालतिर फर्काउन नदिन भारतको काममा अवरोध गरिरहेका छन्। 

अवरोधबीच भारतीय पक्षले एकलौटी तवरले काम अगाडि बढाउँदा दार्चुलाबासी ढुंगामुढामै उत्रिएका छन्। महाकालीपारि धार्चुलाको हालत पनि यस्तै छ।

तटबन्ध निर्माणले दार्चुला सीमामा दिनहुँ विवाद हुँदा जनस्तरमा पनि दुई देशका नागरिकको सम्बन्ध सुधार हुन नसकेको हो। 

१८ मंसिरको घटनायता बिग्रिएको नेपाली र भारतीय नागरिकबीच सम्बन्ध सुधारको प्रयासमा दुवै देशका प्रशासन सक्रिय छन्।

त्यसदिन महाकालीको धार नेपालतिर फर्काउने गरी तटबन्ध निर्माण गरेको विरोधमा दार्चुलाबासी उत्रिए। उनीहरुमाथि महाकाली पारीबाट भारतीय नागरिकले ढुंगा हाने।

त्यसक्रममा ४ जना नेपाली घाइते भएका थिए। त्यही दिन नेपालीले महाकालीमाथि झोलुङ्गे पुल नाका बन्द गराए। अर्को दिन भारतीय नागरिकले पनि पुल बन्द गराएका थिए। 

भारत आवातजावतमा नेपालीमाथि कडाइ गरियो भने ढुंगामुढा गरेको आरोपमा ७ जना विरुद्ध धार्चुला प्रहरी थानामा उजुरी नै दर्ता गरिएको थियो। 

महाकाली नदी

त्यसयता नेपाल र भारतबीच जनस्तरमा बिग्रिएको सम्बन्ध सुधारका लागि दुवै देशका स्थानीय प्रशासनले आइतबार छलफल गरेका छन्। 

जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा भारतीय अधिकारी सहित नेपाल र भारतका नागरिकबीच छलफल भएको हो। 

तटबन्ध निर्माणले जनस्तरमा बिग्रिदै गएको सम्बन्ध सुधारका लागि छलफल गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

‘तटबन्ध निर्माणले दुवै देशका स्थानीयबीच सम्बन्ध बिग्रिन दिनुहुँदैन भनेर स्थानीयबीच छलफल चलाएका हौं, यसमा हामीले समन्वय मात्रै गरेका थियौं,’ उनले भने, ‘महाकालीको धारलाई कुनै असर नपर्ने गरी काम गर्न दिन दुवैतिरका स्थानीय सहमत भएका छन् ।’

छलफलमा धार्चुलाका स्थानीय, एसडीएम, तटबन्ध निर्माण कम्पन्नीका प्रतिनिधि तथा नेपालतर्फबाट स्थानीय, सीडीओ, जनप्रतिनिधि लगायतको उपस्थित थिए।

तटबन्ध निर्माणका क्रममा भारतले बनाएका अस्थायी संरचना हटाउनु पर्ने दार्चुलाका स्थानीयले माग गरेका थिए। त्यसले गर्दा महाकाली नेपाली भूभागतिर फर्किएर वर्षात्मा क्षति पुर्‍याउने गरेको उनीहरुले बताएका थिए।

पूर्वसहमति अनुसार महाकालीको धार बदल्ने संरचना अझै नहटाइएकोले तत्काल त्यो कार्यान्वयन हुनुपर्ने माग दार्चुलाबासीले राखेका छन्। 

धार्चुलाका स्थानीयले तटबन्ध निर्माण कम्पनीले संरचना हटाउने प्रतिवद्धता जनाएका थिए। नहटाए आफूहरुले ठेकेदारलाई अस्थायी संरचना हटाउन दबाब दिने प्रतिबद्धतासमेत उनीहरुले जनाए।

महाकालीले दार्चुला र धार्चुला दुवैतिर क्षति नगर्ने गरी तटबन्ध निर्माण अगाडि बढाउनुपर्ने दुवै देशका स्थानीयको माग छ।

विवादपछि रोकिएको तटबन्ध निर्माणको काम पनि सुचारु गर्न दुवै देशका नागरिक सहमत भएका छन्। यस्तै, तटबन्ध निर्माणका क्रममा विवाद आए दुवैतर्फका प्रशासनलाई जानकारी गराएर छलफल गर्ने सहमति पनि बैठकमा भएको छ। 

भारतको एकपक्षीय तटबन्ध निर्माणको कामले विवाद उत्पन्न भएपछि नेपाल र भारतका स्थानीय अधिकारीहरुले गत मंसिरमा छलफल गरेका थिए।

त्यसयता नेपाल र भारतका अधिकारीबीच छलफल भएको छैन। छलफलपछि विवाद भएको ठाउँमा काम अगाडि बढाउने र महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रमा थुप्रिएको अस्थायी संरचना हटाउन भारत सहमत भएको थियो।

तर, यसबीचमा भारतीय पक्षले अस्थायी संरचना पूर्ण रुपमा नहटाएर काम अगाडि बढाएपछि फेरि विवाद उत्पन्न भएको थियो। 

भारतीय पक्षले हटाउने भनेको अस्थायी संरचना पूर्ण रुपमा नहटाएको दार्चुलाका सीडीओ उपाध्यायले बताए।

‘केही अस्थायी संरचना हटाइएको छ, तर पूरै हटाइएको छैन, केही संरचना राखिएकै छन्,’ उनले भने, ‘महाकालीको धारमा कुनै असर नगर्ने गरी संरचना बनाउन दिन दुवैतर्फका स्थानीय सहमत भएका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .