समाज


अस्पतालको लापरबाहीबाट बालिकाको ज्यान गएको आरोप, उचित क्षतिपूर्ति माग

अस्पतालको लापरबाहीबाट बालिकाको ज्यान गएको आरोप, उचित क्षतिपूर्ति माग

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १७:१६, काठमाडौँ

अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाको आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पत्तिले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग क्षतिपूर्तिको माग गरेका छन्।

मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डा. जयदेव यादवसँग क्षतिपूर्ति माग गरेका हुन्।

मंगलवार पत्रकार सम्मेलन गरी उनीहरुले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्न माग गरे। सामान्य रुघाखोकी लागेकी प्रशंशालाई उनीहरुले सो अस्पतालमा माघ २३ गते पुर्याएका थिए।

उपचारको क्रममा डाक्टर यादवले सामान्य परीक्षण समेत नगराई औषधि चलाएको, कान्ति बाल अस्पतालमा उपचारका लागि रिफ्र लेटर पठाउँदा चिकित्सकको हस्ताक्षर र अस्पतालको स्टयाम्प समेत नभएको र अस्पतालले मेडिकले रेकर्ड समेत नदिएर आफ्नी छोरीको ज्यान गएको उनीहरुको आरोप थियो।

अन्तिम अवस्थामा विरामी नबाँच्ने भएपछि महाराजगंजस्थित मेट्रो अस्पताल पुर्याएका थिए। त्यहाँ पुर्याएको दुई घण्टा पनि नवित्दै प्रशंशाको मृत्यु भएको थियो। हिमाल अस्पतालका चिकित्सक यादवकै लापरबाहीका कारण छोरीको ज्यान गएको पीडित गंगा गौतमको बुझाई छ।

उनले रुघाखोकी र ज्वरो आएको नानीलाई अस्पतालले सामान्य परीक्षण समत नगराई औषधि दिएका कारण ज्यान गुमाउनुपर्ने अवस्था आएको बताए। पीडित गौतमले छोरीको उपचारमा लापरबाही गर्ने सो चिकित्सकको लाईसेन्स छानबिन गर्न नेपाल मेडिकल काउन्सिलमा उजुरी पनि दिएका छन्। 

पत्रकार सम्मेलनमा घटना विवरणबारे जानकारी गराउँदै उनले भने, ‘यो डाक्टरको योग्यतामाथि छानबिन हुनु पर्छ कि पर्दैन? मेडिकल काउन्सिलले यस्ता डाक्टरहरुलाई लाईसेन्स दिँदाखेरी छानबिन गर्छ कि गर्दैन? हामीलाई क्षतिपूर्ति चाहियो। उनको योग्यतामाथि छानबिन हुनुपर्यो भन्ने माग राख्दै हामीले यो पत्रकार सम्मेलन गरेका हौं। नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय, प्रहरी परिसर टेकु र यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको छ।’

गौतमले सो अस्पतालमा छोरी प्रशंशाको परीक्षण गराएका थिए। तर अस्पतालले आफूहरुको आग्रहमा पाँचौ दिन एक्स रे गरेर हेर्दा फोक्सोको ६० प्रतिशत भागमा पानी जमेको पाइएपछि कान्तिबाल अस्पतालमा रिफ्र गर्न भनेको थियो।

चिकित्सक यादवले पिआईसियू नभएको भन्दै कान्तिबाल अस्पतालमा रिफर गरेका थिए। तर रिफर गरिएको लेटरमा चिकित्सक यादवले आफ्नो हस्ताक्षर समेत नगरेर लापरबाही गरेको पीडित गौतमको दुखेसो थियो।

पीडित गौतमले फागुन ८ गते सोमबार आफूहरुमाथि न्यायको माग गर्दै नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिएका छन्। त्यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको पीडित गौतमले बताएका छन्। 

गौतम दम्पत्तिको आग्रह छ–‘लापरबाही गर्ने हिमाल अस्पताल र त्यहाँका चिकित्सक यादवको योग्यतामाथि छानवीन गरी कारबाही गरियोस् ।’ 

प्रशंशाको १३ औं पुण्यतिथि सकिएपछि पीडित गौतमले न्यायको खोजी गर्दै पत्रकार सम्मेलन गरेका हुन्। उनले न्यायका लागि अदालत पनि जान बाध्य हुने बताए।

फागुन १० गते (भोलि) पीडित पक्षले हिमाल अस्पतालको व्यवस्थापनसँग सो विषयमा कुरा गर्ने तयारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .