भारतको नयाँ दिल्लीबाट नौ जना नेपाली युवतीको उद्धार गरिएको छ।
राम्रो कामको प्रलोभनमा पारेर दिल्ली पुर्याइ जबर्जस्ती वेश्यावृत्तिमा लगाइएका उनीहरुलाई नेपाल प्रहरीले दूतावास, विभिन्न संघसंस्था तथा भारतीय प्रहरीसँग समन्वय गरी उद्दार गरेको हो।
काठमाडौंका बिभिन्न बार, क्लव, क्याफे, दोहोरी साँझमा काम गर्ने ती युवतीहरूलाई दिल्लीका होटल, रेष्टुरन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने भनी प्रलोभनमा पारि त्यहाँ पुर्याइएको प्रहरीले जनाएको छ।
दिल्ली पुर्याइ बन्धक बनाएर जबर्जस्ती वेश्यावृतीमा लगाइएको गोप्य सूचना मानव बेचबिखन अनुसन्धान ब्युरोमा प्राप्त भएपश्चात प्रहरीले उनीहरुको उद्दार प्रयास गरेको थियो।
भारतस्थित नेपाली दूतावास, भारतीय सामाजीक संस्था किन इन्डिया, नेपाल स्थित शक्ति समूह एवम् भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई सकुशल उद्दार गरी चैत ७ गते नेपाल ल्याई सामाजिक संस्थाको संरक्षणमा राखिएको छ।
उनीहरुलाई भारत पुर्याई जबर्जस्ती बन्धक बनाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न मध्ये ३ जनालाई पक्राउ गरी अदालत बाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी गाउँपालिका–९, बस्ने वर्ष २० की सम्झना तामाङ उर्फ सेन्जी तामाङ, धादिङको धुनबेशी नगरपालिका–२ बस्ने वर्ष २५ को भुवन तामाङ र भुवन तामाङकी श्रीमती वर्ष २० की शुष्मा मग्राती रहेका छन्।
प्रहरीका अनुसार उनीहरुले काठमाडौंको माछापोखरी, बसपार्क लगायतका ठाँउहरुमा मनोरञ्जनको क्षेत्रमा काम गर्ने युवतीहरुलाई विभिन्न माध्यमबाट सम्पर्क गरी प्रलोभनमा पार्ने गरेका थिए।
ती युवतीलाई भारतको दिल्ली लैजान काठमाडौंबाट नेपालगञ्ज हुँदै जमुनाहा नाका पार गरी दिल्लीको बसमा चढाई दिल्ली पुर्याइएको थियो।
बेचबिखनमा संलग्न गिरोहले २०७९ सालको असोज महिनादेखि फागुन महिनासम्ममा ९ जना युवतीलाई काठमाडौंदेखि दिल्ली पुर्याएको देखिएको छ।
पीडित मध्ये केही युवतीहरुलाई प्राइभेट गाडीमा राखी प्याकिङ खाना तथा जुसमा औषधि मिसाई बेहोस बनाई बोर्डर क्रस गराउने गरेको पाईएको प्रहरीले जनाएको छ।
पीडित युवतीहरुलाई दिल्ली पुगेको केही दिनमा नयाँ मोबाइल तथा भारतीय नम्बरको सिम उपलब्ध गराई फेसबुक आईडी समेत पीडकले नै खोली दिई सो को पासवर्डसमेत आफैले राखि अनलाइन निग्रानी गर्ने गरेको पाइएको छ।
पीडित युवतीहरुलाई दिल्ली किशनगढ स्थित पंजावीढावा भन्ने स्थानमा भाडामा लिएको फ्ल्याटमा सीसी क्यामेराको निगरानीमा राखिएको थियो।
सम्पर्कमा आएका व्यक्तिहरुलाई ह्वाट्सएप मार्फत पीडित युवतीहरुको फोटो पठाई उनीहरुले छानेको युवतीहरूलाई बेश्यागमनमा आउने व्यक्तिहरुले भनेको होटल, घरहरुमा ट्याक्सी बुक गरी पुर्याइदिने गरिएको अनुसन्धानमा खुलेको छ।
आफ्ना चिनजानका विश्वासिला ट्याक्सी ड्राइभर मार्फत सम्बन्धित ग्राहकले भनेको स्थानमा पठाउने र ग्राहकसँगको कारोबार अनलाइन मार्फत हुने गरेको पाइएको छ।
प्रत्येक महिनामा एक जना युवतीले कम्तीमा १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने दवाब दिने गरेको पीडितले बताएका छन्।
सो गिरोहले पीडित युवतीहरूलाई दिल्ली बाहेकका अन्य शहरहरुमा समेत पठाउने गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया