भारतमा छुट्टै राज्य माग गर्दै खालिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहबारे अध्यागमन विभागले निगरानी सुरु गरेको छ। विभागले उनलाई निगरानी सूचीमा राखेको विभागका महानिर्देशक झलकराम अधिकारीले बताए।
काठमाडौंस्थित भारतीय दूतावासले उनी नेपाल आउन सक्ने भन्दै निगरानी गरिदिन आग्रह गर्दै विभागलाई पत्र पठाएको थियो। त्यसलगत्तै अध्यागमन विभागले उनलाई निगरानी सूचीमा राखेको जनाएको छ।
भारतीय दूतावासले उनी नेपालमा लुकेर बसेको हुनसक्ने आशंका गरेको छ। नक्कली पासपोर्ट प्रयोग गरेर आवतजावत गर्न सक्ने भएकाले विभागलाई दूतावासले उनको फोटोसमेत उपलब्ध गराएको छ।
अमृतपालिविरुद्ध भारतमा ज्यान मार्ने उद्योग, अशान्ति मच्चाएको र कानुन कार्यन्वयनमा अवरोध पुर्याएको आरोप छ। भारतीय प्रहरीले खोजी गरिरहे पनि फेला पार्न नसकेपछि उनी छिमेकी देश खासगरी नेपालमा आएको हुनसक्ने आशंका बढेको हो।
शुक्रबार दिल्ली र पन्जाबमा सर्च अप्रेसन चलाएको थियो। त्यहाँ फेला नपरेपछि अन्य प्रान्तमा पनि अलर्ट गराइएको छ।
यसअघि भारतीय प्रहरी पनि अमृतपाल नेपाल छिर्न सक्ने आशंकाले नेपाली सीमानामा निगरानी बढाएको थियो। नेपालका प्रमुख नाकाहरुमा भारतीय खुफिया एजेन्सी र सुरक्षाकर्मीको निगरानी बढाइएको थियो।
सिंहको समूहले केही समययता छुट्टै सिख राज्य खालिस्तानको माग गर्दै आन्दोलन गरिरहेको थियो।
खालिस्तानी कमान्डर सिंहसहित पाँचजना अन्य समर्थकको नाममा पन्जाब प्रहरीले वारेन्ट जारी गरेको थियो। त्यसपछि उनीहरुको खोजीमा भारतको सुरक्षा संयन्त्र तीव्र रुपमा लागेको छ।
मार्च २३ मा उत्तर प्रदेशको लखिमपुर खिरीमा देखिएका अमृतपाललाई त्यसपछि प्रहरीले फेला पार्न सकेको छैन।
भारतीय प्रहरीको दमनपछि पछिल्लो समय शान्त रहेको पृथकतावादी आन्दोलन अमृतपालले पुनः जगाएको भारतीय प्रहरीको आरोप छ।
३० वर्षीय सिंहको नेतृत्वमा भारतमा केहीले अभियान थालेसँगै यसको असर अन्य देशमा पनि देखिएको छ। बेलायतस्थित भारतीय दूतावासमा खालिस्तानी समर्थकले भारतीय झण्डा निकालेर आफ्नो झण्डा राखेका थिए।
आन्दोलन बढ्दै गएपछि भारतीय प्रहरीले उनलाई नियन्त्रणमा लिन अभियान चलाएको हो।
प्रतिक्रिया