समाज


आज पनि वर्षा जारी रहने, कहिले सुधार हुन्छ मौसम?

आज पनि वर्षा जारी रहने, कहिले सुधार हुन्छ मौसम?

फाइल तस्बिर


नेपालखबर
बैशाख १९, २०८० मंगलबार ७:०, काठमाडौँ

आज पनि देशभर मौसम बदली (बादल लाग्ने) र विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले देशभर मौसम बदली भएको छ भने सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। 

मौसम महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना छ।

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए। ‘तत्कालै वर्षा हुने नदेखिए पनि बिहान १०/११ बजेपछि काठमाडौँमा पानी पर्ने सम्भावना छ’, उनले भने, ‘पानी पर्ने रोकिने, फेरि पर्ने हुने देखिन्छ।’

आज राति पनि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान र देशका बाँकी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

कहिले सुधार हुन्छ मौसम?
मौसमविद् वरुण पौडेलका अनुसार हिजोभन्दा तुलनात्मक रूपमा आजैदेखि मौसम केही सुधार हुने देखिएको छ।

‘तर खासगरी बिहीबारदेखि मौसम क्रमश: सुधार हुँदै जाने सम्भावना देखिएको छ’, उनले भने। 

काठमाडौँमा चिसो
केही दिनदेखि लगातार मौसम बदली र देशभर विभिन्न स्थानमा वर्षाका कारण तापक्रम ह्वात्तै घटेको छ। काठमाडौँ उपत्यकामा त बिहान-बिहान निकै चिसो महसुस भइरहेको छ। 

‘३२/३३ डिग्रीसम्म पुगेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम अहिले १८/२० डिग्रीमा झरेको छ’, मौसमविद् पौडेलले भने, ‘दुई/तीन दिनदेखि बादल लागेर घाम लाग्न नपाएकाले तापक्रम घटेको हो। फेरि घाम लाग्न थालेपछि गर्मी सुरु हुन्छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .