समाज


इजलासमा रमन श्रेष्ठको जिकिर : जाहेरी नै नलाग्ने मुद्दामा कसैलाई थुनिरहनु जरुरी छैन

इजलासमा रमन श्रेष्ठको जिकिर : जाहेरी नै नलाग्ने मुद्दामा कसैलाई थुनिरहनु जरुरी छैन

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८० बिहिबार १३:७, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा बिहीबार पनि काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको छ। बिहीबार प्रतिवादीहरुको तर्फबाट पूर्वमहान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले सबैभन्दा पहिले प्रतिरक्षा बहस गरे।

आइतबारदेखि मंगलबारसम्म सरकारी वकिलहरुले बहस सकेपछि बुधबारदेखि प्रतिवादीको तर्फबाट प्रतिरक्षा बहस सुरु भएको थियो। श्रेष्ठले बिहीबार सानु भण्डारी र टंक गुरुङको तर्फबाट बहस गर्दै यो मुद्दाको जाहेरी नै गैरकानुनी रहेको तर्क गरे।

कानुनले बर्जित गरेको कामका लागि रकम लिएको भनिएको यो मुद्दामा जाहेरी नै गलत रहेको श्रेष्ठले बताए। 

‘गैरकानुनी उद्धेश्यका लागि रकम लिएको भनिएको छ। जाहेरवालाले पनि त्यही दाबी गरेका छन्। गैरकानुनी कामका लागि लिएको रकमबारे मुद्दा नै चल्दैन। कानुनले बर्जित गरेको काममा जाहेरी नै लाग्दैन’, उनले भने, ‘गर्नै नसकिने कामका लागि रकम लिएको कुरामा जाहेरी नै लाग्दैन। नेपालीलाई अमेरिका पठाउन रकम लिइएको भनिएको छ। त्यो हुने र मिल्ने कुरा पनि होइन, कानुनले बर्जित गरेको छ।’

उनले कुनै पनि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन नसकिने कुरा जाहेरवालालाई पनि थाहा भएको सुनाए।

‘नेपालीलाई भुटानी बनाउन सकिँदैन भन्ने जाहेरवालालाई थाहा छ। कानुनले निषेध गरेको कामका लागि रकम दिएको भनेर बिगो माग गरिएको छ, यही नै गैरकानुनी छ’, उनले भने, ‘यो चाहिँ विष रोपेर अमृत फलाउने प्रयास जस्तै हो। यदि यस्तो गर्न मिल्छ भने मैले लागुऔषध खरिदका लागि पैसा दिएको थिएँ, ठगी गर्यो भनेर उजुरी परे मुद्दा चलाउने कि नचलाउने?’

उनले कसैले मान्छेको ज्यान लिन पैसा दिँदा काम नभएर ठगिएको भन्यो भने मुद्दा चलाउने कि नचलाउने भनेर पनि प्रश्न गरे।

‘भोलि मान्छे मार्न मैले पैसा दिएको थिएँ, तर काम नगरेर ठगी गर्यो भनेर उजुरी आए मुद्दा चलाउने कि नचलाउने?’, उनले भने, ‘यो कुरा पनि त्यस्तै हो कानुनले बर्जित गरेको काम गर्न पाइँदैन। यो जाहेरी नै अवैध छ। प्रहरीले जाहेरी नै लिन हुँदैन थियो। नेपालीलाई भुटानी बनाएर पठाउन कानुनले पनि दिँदैन। व्यवहारिक हिसाबले पनि सम्भव छैन।’

उनले यो मुद्दामा अभियुक्तहरुलाई थुनेर राख्नु पनि जरुरी नरहेको बताए। ‘यो मुद्दामा पनि कसैलाई थुनामा राख्नु जरुरी छैन’, उनले भने, ‘स्थापित हुनै नसक्ने जाहेरी लिएर मुद्दा चलाइनु नै बेठीक छ।’

सानु भण्डारी र टंक गुरुङको तर्फबाट बहस गरेका श्रेष्ठले अब पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेको पक्षमा पनि बहस गर्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .