समाज


ढाड दुखाइ पनि बन्छ गम्भीर बिरामीको कारण, नसा च्यापिँदा हुनसक्छ प्यारालाइज (भिडिओ)


वसन्त अर्याल
असार १८ , काठमाडौँ

ढाड र टाउको दुखाइ विश्वका धेरै मानिसको साझा समस्या बनेको छ। डाक्टरहरुका अनुसार ८० प्रतिशत मानिसले आफ्नो जीवनमा ढाड दुखेको समस्या भोग्दै आएका छन्। ३ महिनाभन्दा बढी ‘क्रोनिक’ ढाड दुखाइ भएका करिब २९ प्रतिशत छन्। 

धेरैले मानिसले ढाड दुख्ने मुख्य कारण नसा च्यापिनुलाई बताउने गरेका छन्। ब्लुबर्ड इन्टरनेशनल क्लिनिकका डाक्टर डा. अभिनाश चन्द्र ढाड दुख्ने कारण नसा च्यापिनु मात्रै नहुने बताउँछन्। 

डा. अभिनाशका अनुसार शरीरले थेग्नेभन्दा बढी कामको बोझ भएमा पनि ढाड दुख्न सुरु हुन्छ। मानिसमा हड्डी खिइदै जाँदा ढाड दुख्ने समस्या बल्झिने गरेको छ। उमेर बढ्दै जाँदा हड्डी खिइने पक्रिया हुन्छ।

त्यसपछि बसाईको तरिका, काम गर्ने तरिका र शरीरले धान्नेभन्दा बढी भारी उठाउँदा ढाड दुख्ने समस्या देखिन्छ। हड्डी, रगत र नसामा कुनै इन्फेक्सन आउँदा पनि ढाड दुखेको हुनसक्छ। महिलाहरुमा पाठेघरको समस्या आउँदा पनि ढाड दुख्ने गरेको छ। 

‘ढाड दुख्ने कारण अनेकौँ छन्, नसा च्यापिनु मुख्य कारणमा पर्छ,’ डा. अभिनाश भन्छन्। 

ढाड दुख्ने रोग बढ्दै गएको छ। मानिसको जीवनशैलीमा आएको परिवर्तनले हो। कुर्सीमा बस्ने, भुँडी लाग्ने जस्ता कारणले ढाड दुख्ने समस्या बढ्दै गएका छन्।

मानिसहरु सवारी साधनबाट लामा–लामा यात्रा गर्दा ढाडको सिधा नहुँदा दुख्ने हुनसक्छ। मुख्यगरी दुईपांग्रे सवारी चढ्नेहरुमा ढाड दुख्ने कारण बनेको छ।  

‘टेवल वर्क’ गर्ने संख्या बढ्दै जाँदा कुर्सीमा बसाईको तरिका नमिल्दा ढाड दुख्ने गरेको छ। त्यसबाहेक अस्पताल र डाक्टरको संख्या बढ्दै जाँदा मानिस अस्पताल पुग्दा संख्या बढेको देखिएको छ। 

नसा च्यापिँदाका लक्षण
नसाले ‘विद्युतीय तरङ्ग’ लैजाने जस्तो काम गर्छ। ढाडमा विभिन्न किसिमका नसा हुन्छन्। नसाअनुसारको लक्षण देखिएको हुनसक्छ। 

‘ढाडका नसा च्यापिँदा झमझमाउने र थाहा नपाउने मुख्य लक्षण हुन्छन्,’ डा अभिनाश सुनाउँछन्, ‘धेरैमा देखिने लक्षणमा ‘साइटिका’ हो। जसले बुढीऔँलादेखि खुट्टासम्मै असर गर्छ। यी समस्या बढ्दै जाँदा प्यारालाइज हुन सक्छ।’  

नसा च्यापिनेबित्तिकै अपरेसन गरिहाल्नु पर्ने कुराको धेरै बिरामीमा डर हुन्छ। नसा थिचिँदा प्यारालाइसिस हुने डर पनि देखिन्छ। नसा थिचिनेबित्तिकै अपरेसन गर्नु पर्दैन। अपरेसन गर्नुपर्ने डरले डाक्टरकहाँ नजाने गर्नु हुँदैन। डाक्टरसँग सल्लाह गरी राख्नुपर्ने उनी बताउँछन्। 

‘नसा च्यापिएकै कारण मानिसमा थकाई हुन थाल्नु ठुलो समस्या हो। खुट्टा चल्न समस्या भयो, शरीरको कुनै भागमा लाटोपन बढ्दै जान थाले, दिसा–पिसाबमा समस्या भए मेडिकल इमर्जेन्सी हो। तुरुन्तै डाक्टर भेट्नुपर्छ,’ उनी भन्छन्। 

कसरी जोगिने?
नसा च्यापिनबाट कसरी बच्ने? डा. अभिनाश मुख्यतः मानिसको बसाईको तरिका बदल्नुपर्ने सुझाउँछन्। ढाड सोझो हुनेगरी बस्नुपर्ने परामर्श उनले दिएका छन्। 

विकासक्रममा ४ वटा हातखुट्टाले टेकेर हिँड्ने मानिस २ वटाले मात्रै हिँडडुल गर्न थालेको हो। मानिसले ढाडलाई ‘मेनटेन’ गर्नसके नसा च्यापिने समस्या कम हुन्छ। 

‘ढाड सिधा बनाएर बस्नुपर्छ। कुर्सी छनोट गर्दा ब्याक सपोर्ट भएको हुनुपर्छ। निहुरिएर गर्ने काम सकेसम्म कम गर्नुपर्छ। निहुरिनुपर्ने कामलाई मिलेसम्म बसेर गर्दा नसा च्यापिने र ढाड दुख्ने समस्या कम हुन्छ’, उनले भने। 

सामान्य दुख्दा ब्यायाम, लक्षण देखिए डाक्टर
झमझमाउने जस्ता सामान्य समस्या थेरापी वा ब्यायामबाटै समाधान हुन सक्छ। 

ढाड दुख्ने, नसा च्यापिने समस्या समाधान गर्न ब्यायाम अनिवार्य हो। ब्यायाम गर्ने मानिसलाई नसा च्यापिने समस्या कम हुन्छ। नसा च्यापिएको उपचार नेपालमा सजिलो छ। नसासम्बन्धी विशेषज्ञ डाक्टर उपलब्ध छन्।

नसा रोग विषेशज्ञ नभए हाडजोर्नी र फिजिसियनसँग सल्लाह लिन सकिन्छ। डाक्टरको सुझावअनुसार शल्यक्रिया नै गर्नुपरे पनि धेरै खर्च लाग्दैन। 

ढाड दुख्दैमा तुरुन्तै हस्पिटल कुदिहाल्नु पर्दैन। डाक्टरलाई भेटिहाल्न जरुरी पनि छैन। ढाड दुखेर मांसपेशी पनि दुखेको भए आराम गर्दा ठिक हुनसक्छ। ढाड दुख्दैमा नसा च्यापिएको हुँदैन। ढाड दुख्दैमा इमर्जेन्सी हुँदैन। 

तर, ढाड दुखाइसँगै अन्य लक्षण भए तुरुन्तै अस्पताल जानु पर्छ। केही मानिस ठूलो समस्या हुँदा पनि डाक्टरलाई भेट्दैनन्। त्यहीकारण ‘प्यारालाइज’ हुने अवस्था आउने भएकाले सजग हुनुपर्छ। सामान्य दुखाइलाई व्यायामबाट निको बनाउन सकिन्छ।

भिडिओः

असार १८, २०८० सोमबार २०:१२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .