ad ad

समाज


राहुल महराको बयान : दावाजिनलाई ११ वर्षपहिले चिनेको हुँ, भन्सारका कर्मचारीले भेप हेर्नै दिएनन्

राहुल महराको बयान : दावाजिनलाई ११ वर्षपहिले चिनेको हुँ, भन्सारका कर्मचारीले भेप हेर्नै दिएनन्

उजिर कार्की
असोज २१, २०८० आइतबार १७:५२, काठमाडौँ

इलेक्ट्रिक सिगरेट (भेप) मा तस्करी भएको ९ किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान टुंग्याएको छ। सीआईबीले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

अब केही दिनमै सरकारी वकिल कार्यालयले उनीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्नेछ। सीआईबीले राहुलसहित चार जनालाई प्रतिवादी बनाउन राय दिएको छ। उनीहरूविरुद्ध संगठित अपराध र भन्सार अवैध चोरी पैठारीको कसुरमा मुद्दा चलाउन राय प्रहरीको छ।  

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलले भन्सारमा भेप छुटाउनको लागि गएको स्वीकार गरे पनि त्यहाँ तस्करीको सुन रहेको कुरा आफूलाई जानकारी नभएको बताएका छन्। 

यस्तै उनले चिनियाँ तस्कर दावा जिन वाङसँग ११ वर्ष पहिले नै चिनजान भएको बयानमा बताएका छन्। सन् २०११ मा पढ्न जाँदा चिनमै उनीसँग चिनजान भएको राहुलको बयान छ। 

यो प्रकरणमा प्रहरीले पहिले नै मुद्दा बुझाएको थियो। तर राहुल र कृष्णबहादुर महराको समेत संलग्नता खुले पनि मुद्दा नचलाएको भन्दै चौतर्फी विरोध भएपछि पुनः अनुसन्धान गरेर राहुलविरुद्ध पनि मुद्दा चलाउन लागिएको हो। उनका बाबु कृष्णबहादुर महराविरुद्ध भने मुद्दा नचलाउने सीआईबीको राय छ।

कृष्णबहादुरसँग कागज भने यस पटक गराइएको छ। 

राहुलले यसअघि नै घटनामा तथ्य खुल्ने आफ्ना मोबाइलहरू गायब पारेका थिए। यस्तै अन्य प्रतिवादीले पोलेका विषयमा पनि जानकारी नभएको बयान दिएका छन्।  

यस्तो छ राहुलको बयानः 
म २०१२ मा चीनको छन्दु भन्ने स्थानमा चिनियाँ भाषा अध्ययन गर्नको लागि चिनमा गएको समयमा चिनियाँ नागरिक दावाजिन वाङसँग चिनजान भएको हो। दावाजिनले तत्काल चिनबाट विभिन्न प्रकारका फलफुलहरु नेपालमा आयात गरी बिक्री गर्ने काम गरी आएको छु भनेका थिए। 

६ महिना चिनमा चिनियाँ भाषा गरेर नेपाल फर्कि आएको हो। त्यसपछि दावाजिनसँग मेरो बेला बखत फोनमा सामान्य कुराकानी हुँदै आएको थियो। मलाई हाल एकिन मिति याद भएन दावाजिनले मलाई निजको मोबबाइल नं ९८०१०९९....बाट मलाई मेरो मोबाइल नम्बर ९८५११११....मा कल गरी मेरो साथीको इलेक्ट्रिक सिगरेट (भेप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ मिल्दैन बुझिदिनु पर्यो भनि मलाई अनुरोध गरेको कारण मैले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरी इलेक्ट्रिक सिगरेट (भेप) एयरपोर्टमा रोकिएछ, के भएर रोकिएको हो भनि मुक्ति प्रसाद श्रेष्ठलाई सोधपुछ गर्दा निजले उक्त इलेक्ट्रिक सिगरेट जफत भएको छ, भन्सार तिरेर पनि फिर्ता दिन मिल्दैन, यो लिलामी प्रक्रियामा अगाडी बढ्छ भनि मलाई भनेका थिए। त्यसपछि पनि दावाजिन वाङले मलाई पटक पटक फोन गरी उक्त भेप को के भइरहेकोछ बुझिदिनु पर्यो भन्ने गरेका थिए। 

करिब दुई हप्तापछि निज दावाजिनसँग मेरो फोनमा कुराकानी हुँदा एक दिन दावाजिनले तपाईं नै भन्सारमा गएर बुझिदिनु पर्यो भनेकोले मैले पनि के भएको रहेछ बुझौं नत भनि म एयरपोर्ट जाँदा भन्सार कार्यालय अगाडी दावाजिन र उनका ड्राइभर लोकेन्द्र कुमार पौडेल र मैले नचिनेका दुई जना चिनियाँहरूसँग भेट भएपछि म लोकेन्द्र र तिब्बतीयन जस्तो देखिने नेपाली बोल्न जान्ने १ जना व्यक्ति समेत हामी ३ जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा गएको हो। 

अरुण पोखरेललाई निजको कार्यकक्षमा भेटी निजसँग अब जफत भएको उक्त इलेक्ट्रिक सिगरेटलाई के गर्न सकिन्छ भनी कुराकानी हुँदा उक्त भेप लिलामी प्रक्रियामा जाने भन्सार तिरेर लैजान नमिल्ने कुरा बताएका थिए। 

मसँगै गएका चिनियाँ जस्तो देखिने नेपाली बोल्न जान्न व्यक्तिले भेप हेर्न मिल्छ कि मिल्दैन, त्यही नै छ कि छैन छैन भनि अरुण पोखरेललाई सोध्दा अरुण पोखरेलले उक्त इलेक्ट्रिक सिगरेट हेर्न नमिल्ने बताए।

भेप लिलामी हुने बताएपछि हामी तिनै जना फर्कि म आफ्नो घर गएको थिएँ। 

यसमा मैले अरुण पोखरेललाई निजको मोवाइल नम्बर ९८४१२९५...मा एसएमएस गरेको मलाई याद छैन। मेरो फोन के कति पटक भयो याद छैन। मेरो आफ्नो काम विशेषले एक पटक अरुण पोखरेललाई भेट गरेको थिए। निज अरुण पोखरेललाई खुलाई लेखाई दिए जसरी उक्त भेपको विषयलाई लिएर निजको कार्यालयमा ६÷७ पटक गई छुटाउनका लागि दबाब दिने काम गरेको थिएन, छैन। 

भेपमा अवैध रुपमा सुन लुकाएर ल्याएको कुरा पछि पत्रपत्रिकाबाट थाहा पाएको हुँ। मैले प्रयोग गरेको मोवाइल आइफोन १३ प्रोम्याक्स फुटेर बिग्रियो। दुई तीन पटक बनाउँदा पनि नबनिएपछि घरमा नै फालिदिएको थिएँ। आइफोन १४ प्रोम्याक्स मेरो साथी गोपाल शर्माको हो। उक्त मोबाइल मैले उसैलाई फिर्ता गरेको हो। हुवाइको फोन मैले घरमा नै राखेको थिएँ। मेरो आफन्तले घरमा खोज्दा ती फोन फेला नपरेको भनी मलाई जानकारी गराएकोले मैले उक्त मोबाइलहरू उपलब्ध गराउन सक्दिन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .