समाज


साहुले नै तलब खाइदिएपछि ऋणमा डुबेका कटकबहादुर

दुबईमा सुरेशको पञ्जाबाट बल्लतल्ल फुत्किए, नेपाल आएर पनि पाएनन् न्याय
साहुले नै तलब खाइदिएपछि ऋणमा डुबेका कटकबहादुर

तस्बिर/भिडिओ : विशाल कार्की


राधिका अधिकारी
पुस २४, २०८० मंगलबार ७:३०, काठमाडौँ

सपना परिवारलाई भरपेट खुवाउने, एकसरो लगाउन दिने अनि छोराछोरीलाई राम्रो स्कुलमा पढाउने।

देशमै बसेर यो सपना पूरा गर्ने न आयस्ता थियो, न रोजगारी माग्दै हिँड्ने शैक्षिक योग्यता। परिवारप्रतिको जिम्मेवारी र आफ्नै सुखको सपनाले अछाम, मल्लेख गाउँपालिकाका कटकबहादुर बुढाले परदेश जाने योजना बनाए।

गाउँदेखि सहरसम्मको बाटो नै राम्ररी नचिनेका ३९ वर्षीय बुढाका लागि परदेशको बाटो झन् कल्पनाबाहिरको कुरा थियो। उनलाई जसरी पनि परदेश नगई भएको थिएन।

अघिल्लो वर्ष माघमा उनी काठमाडौँ आए। केही म्यानपावर कम्पनी धाए। तर, परदेश जाने मेसो भेट्टाउन सकेनन्। 

घर फर्किनुअघि उनी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे। त्यहीँ काम गर्थे, नारायण कोइराला। कोइरालासँग बुढाको चिनजान थियो। उनी कोइरालालाई दाइ भन्थे। काठमाडौँ बसेका, यतै जागिर खाएका कोइरालासँग भेट्न पाए केही उपाय लाग्थ्यो कि भन्ने सोचेर बेलिविस्तार लगाए। 

कोइरालाले भने, ‘तिमी चिन्ता नगर। मैले चिनेको साथीले दुबई (संयुक्त अरब इमिरेट्स्)मा होटल चलाएको छ। तिमी पैसाको जोहो गर। विदेश पठाउने व्यवस्था मै गरिदिन्छु। ’

कोइरालाले मासिक २२ सय दिराम (करिब ८० हजार नेपाली रूपैयाँ) तलब पाउने गरी दुबई पठाउने वचन दिए। त्यसका लागि ३ लाख ५० हजार खर्च लाग्ने बताए।

चिनजानका दाइको आश्वासन पाएपछि बुढा २०७९ माघ अन्तिम साता कोइरालालाई पासपोर्ट बुझाएर गाउँ फर्किए। फागुनको पहिलो साता नै कोइरालाको फोन आयो, ‘तिम्रो काम हुने भयो। पैसा खोजेर जाने तयारी गर।’ 

बुढा पनि ४ लाख ऋण खोजेर दुबई जाने तयारीमा लागे। भन्छन्, ‘ब्याज दिने सहमतिमा ऋण खोजेर कोइरालालाई पठाएँ। फागुनको दोस्रो हप्ता उडाउँछु भनेको थियो। मैले पहिलो हप्ता नै पैसा हालिदिएको हुँ।’ 

यतिबेलासम्म बुढालाई विदेश कसले लैजाने हो, काम कसले दिने हो, केही थाहा थिएन।

भदौ तेस्रो साता दुबई उडाउने भनेका कोइरालाले आधा वैशाखसम्म आजभोलि भन्दै झुलाइरहे। वैशाख १४ गते बल्ल बुढा दुबईका लागि उडे।

उड्नुभन्दा ३ दिनअघि मात्रै कोइरालाले सुरेशकुमार रञ्जितलाई भेटाए। दुबईको ओमलकुनमा रञ्जितले भर्खरै होटल लिएका रहेछन्। बुढा त्यहीँ गएर काम गर्न थाले। कोइरालाले चिनेको साथी भनिएका व्यक्ति पनि तिनै रञ्जित रहेछन्।

सुरुका २ महिना रञ्जितले राम्रै व्यवहार गरेको बुढा बताउँछन्। होटलमा खाना दिन्थे। बस्ने व्यवस्था थियो।

रञ्जित महिनाको अन्तिमतिर दुबई जान्थे, अर्को महिनाको सुरुतिर नेपाल फर्किन्थे। गएको एक महिनामा बुढाको बैंक खाता खोलियो। उनको बैंकको कार्ड बन्यो। रञ्जितले सुरुमै बुढाको नाममा २ वटा मोबाइल नम्बर लिएका थिए।

‘एउटा मलाई दिए। अर्को मेरो नाममा निकालेको नम्बर आफैँले लिए। आफूले लिएको नम्बर बैंकमा खाता खोल्दा राखेको रहेछ। मेरो खातामा भएको कुनै पनि कारोबारको म्यासेज मलाई आउँदैनथ्यो,’ आइतबार काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलअगाडि भेटिएका बुढाले सुनाए, ‘बैंकले कार्ड दिएकै दिन रञ्जितले एक्टिभ गर्नुपर्छ भन्दै लगे। त्यसपछि दिएनन्।’ 

बुढाले ४ महिनासम्म घरमा बुबा, आमा र श्रीमतीलाई तलब पाइरहेको भनेर झुट बोले। उनीहरू भन्थे, ‘साहु घरमा आउन लागे। अब त पैसा पठाइदेऊ।’

उता उनको हातमा एक पैसा पनि थिएन। उनी भन्थे, ‘हामी साथीहरू मिलेर एक–एक जनाको घरमा पठाइरहेका छौँ। केही महिनापछि मेरो पालो आउँछ, अनि एकमुष्ठ पठाउँछु।’ 

७ दशक उमेर पार गरेका बुवा छोराको विश्वास गर्थे। तर, उता बुढाले रञ्जितसँग तलब माग्न थालेको ५ महिनासम्म पाएनन्।

आजित भएर उनले घरमा सबै कुरा बताए। 

छोराको सकस सुनेर बुढाका बुवा गाउँमा बस्न सकेनन्। काठमाडौँ आए। उनी काठमाडौँ आउँदा रञ्जित दुबई नै गएका थिए।

दुबईमै रहेका रञ्जितसँग बुवाले प्रश्न गरे, ‘मेरो छोराले तलब किन पाएन?’

रञ्जितले अनेक बहाना सुनाए। अन्तिममा भने, ‘अब म काठमाडौं आउँछु। भाइलाई पनि लिएर आउँछु।’

उनका बुवाले बुझिसकेका थिए, छोराले काम गरेवापतको पैसा पाउँदैन। उनले भने, ‘मेरो छोरा २ वर्षका लागि गएको हो। तलब दिनुहुन्न भने उसको भिसा बाँकी भएको अवधिसम्म अन्य ठाउँमा काम गर्न कागज फिर्ता दिनू।’

तर, रञ्जितले बुढाका कागजात पनि दिएनन्।

उनका सम्पूर्ण काग जफत गरेका रञ्जितले त्यसपछि कामबाट पनि निकालिदिए। बुढा दुबईमा अलपत्र परे। उनीसँग न नेपाल फर्किने कागजात थियो, न खानका लागि पैसा। खाना उनका साथीहरूले होटलबाट लुकाएर ल्याएर ख्वाउँथे। नेपाल कहिले लगिदिन्छौ भनेर बुढा रञ्जितलाई प्रश्न गरिरहन्थे। रञ्जित टारिरहन्थे। 

रञ्जितले धेरै निहुँ खोजे पासपोर्ट कालोसूचीमा राखेर दुबईको जेलमा हालिदिने धम्की दिन थाले।

त्यसपछि उनका बुवाले गौशाला प्रहरीमा रञ्जितविरुद्ध उजुरी दिए।

यही पुस १६ मा प्रहरीले ४२ वर्षीय सुरेशकुमार रञ्जितलाई पक्राउ गर्‍यो। उता कटकबहादुर सम्पर्कविहीन भए। उनीसँग नम्बर थिएन। बसिरहेको ठाउँको वाईफाई गयो।

यता रञ्जितले उनका बुवासँग ५ लाख दिने कागज गरे। एक लाख नगद दिए। त्यसको केही दिनपछि कटक बुवाको सम्पर्कमा आए। कागज पनि आफ्नो लागेको खर्च र काम गरे बराबरको नभएकोमा गुनासो गरे।

बुढालाई सबै छोडेर नेपाल फर्किनु थियो। तर, उनीसँग कुनै कागजात थिएनन्। दुबईमै रहेका रञ्जितका साझेदारसँग कुरा गरे, आफ्ना कागजात मागे। तिनले पनि आफूलाई थाहा नभएको बताए।

सुरेशकुमार रञ्जित

यसबीचमा रञ्जितसँग भेट गराइदिने कोइरालासँग सम्पर्क गर्न उनले अनेक प्रयास गरे, सफल हुन सकेनन्। आजित भएर दूतावास जाने र आफ्नो कुरा राख्ने विचारमा पुगे।

उनीसँग दूतावजास जाने पैसा पनि थिएन।

उनका दाजुले दुबईमा रहेका टेकबहादुर नेपालीलाई फोन गरेर ५ सय दिराम दिन भने। त्यसपछि उनी टयाक्सी लिएर दुबईस्थित नेपाली दूतावास पुगे। आफ्नो सबै समस्या सुनाए। दूतावासले ट्राभल डकुमेन्ट र पुलिस रिपोर्ट बनाएर नेपाल फर्काइदिने आश्वासन दियो। उनी एक साता दूतावासमै बसे। दूतावासले पनि उनको कागजात हराएर अलपत्र परेकाले नेपाल फर्किन पाउने गरी कागजात बनाइदियो।

उनका बुवाले नेपालबाटै टिकट पठाइदिए। तर, दुबई विमानस्थल अध्यागमनले उनलाई पक्राउ गर्‍यो। 

अध्यागमनले नेपाल फर्किनका लागि भिसा क्यान्सिल अथवा काम गर्ने कम्पनीले दिएको बिदाको कागज माग्यो। उनीसँग थिएन। उनले काम गरिरहेको कम्पनीमै फिर्ता पठायो।

दूतावासका प्रतिनिधि गएर सोधपुछ गरे। होटल व्यवस्थापनले ३ दिनमा पठाइदिने वचन दियो। दूतावासको पहलमा होटलमा छापा मारियो बुढाको पासपोर्ट बल्ल भेटियो।

उनी अर्कोपटक नेपाल फर्किन विमानस्थल पुगे। पुनः अध्यागमनले फर्कायो। हरायो भनेर कागजात बनाएका कारण दुबई प्रहरीले उनको पासपोर्ट लक गरिदिएको रहेछ। प्रहरी मुख्यालय गएर पोसपोर्ट अनलक गरेर आउन भन्यो। 

उनलाई थप समस्यामा फसे। न अंग्रेजी जान्दथे, न अरबी। प्रहरी मुख्यालय पनि कता पर्छ थाहा थिएन।

उनको समस्या गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्म पुगेछ। एनआरएनए पदाधिकारी कुमार श्रेष्ठ गाडी लिएर एयरपोर्टमै पुगे। उनलाई लिएर प्रहरी मुख्यालय गए। पासपोर्ट अनलक गराए।

श्रेष्ठले आफ्नै पैसाले टिकट काटे र गत हप्ताको शुक्रबार अध्यागमन पार नगर्दासम्म एयरपोर्टमै कुरेर बसे।

९ महिनाको कष्टपछि कटकबहादुर बल्ल नेपाल आइपुगे। 

दुबई जाँदा लिएको ऋण, उनको उद्धारका लागि पहल गरिदिन भनेर ठाउँठाउँमा मागेको पैसा, उनका बुवाले काठमाडौँमा बसेर उनको उद्धारका लागि लड्दा लागेको ऋण, सबै कटकबहादुरको थाप्लोमा छ। नेपाल आएपछि उनले रञ्जितसँग भेट गराइदिने कोइरालालाई फोन गरे र आफ्नो समस्या सुनाए। अहिले कोइराला उनलाई चिन्दै नचिनेको दाबी गर्छन्। 

‘उहाँसँग गत वर्षको माघदेखि कुरा गरेको कल डिटेल्स मसँग छ, चाहिएको खण्डमा उपलब्ध गराउन सक्छु। तर अहिले उहाँले मलाई चिन्दिन भन्नुहुन्छ,’ कटकले मलिन अनुहारमा सुनाए। 

उता रञ्जितले कटकबहादुरको खातामा मासिक ८ हजार दिराम ३ महिनासम्म हालेका रहेछन्। 

‘उहाँले मेरो एटीएम कार्ड मेरो हातमा पर्न नपाउँदै किन लैजानुभयो भन्ने सोचिरहेको थिएँ। उहाँले त मासिक ८ हजार मेरो खातामा हाल्दै, आफैँले निकाल्दै गरेर उल्टो मलाई बेमान देखाउनु खोज्नुभएको रहेछ,’ उनले भने, ‘मैले उहाँको होटलबाट काम गरेवापत लिएको भनेको ८० दिराम हो। त्यो पनि कपाल काट्ने नाइलाई तिरेको। त्यसमा २० रुपैयाँ बढाएर सय रुपैयाँ दिएको कागज गराएको छ। त्यसबाहेक एक पैसा पाएको छैन।’ 

नेपाल आएपछि रञ्जित र कटकबहादुरको भेट वैदेशिक रोजगार विभागमा भयो। रञ्जितले सोधे, ‘मैले तिमीलाई के गर्नुपर्‍यो?’ कटकबहादुरले भने, ‘मलाई तपाईंले गरेको अमानवीय व्यवहारले दुःख लागेको छ।’

रञ्जितले कटकबहादुरमाथि गरेको शोषण र ताडना यतिमै सीमित छैन। कटकलाई न्यायका लागि सहयोग गर्नेहरूलाई समेत खोजीखोजी मुद्दा हाल्ने र प्रहरीमा थुनाउने कामसमेत गरेका छन्। 

कटकबहादुर अहिले ऋणैऋणमा छन्। श्रममा रञ्जितले ८ हजार दिराम तलब दिलाएको बताएका रहेछन्। ‘उसको हिसाबले झण्डै ३० लाख मैले पाउनुपर्छ। तर, मलाई हरामको पैसा खानु छैन। मलाई यहाँबाट २२ सय दिराम दिन्छु भनेर लगेको हो। ९ महिनाको तलब र मेरो लागेको लागत दिओस्, म ऋण तिरेर अऋणी भएर बस्न चाहन्छु,’ कटकबहादुर भन्छन्। 

रञ्जित भने उनका कागजातबारे थाहै नभएको र आफूले दुःख पनि नदिएको जिकिर गर्छन्। नेपालखबरको सम्पर्कमा आएका रञ्जितले भने, ‘यो वैदेशिक रोजगारमा मुद्दा परेको विषय हो। अदालतले जे निर्णय गर्छ, म त्यो भोग्न तयार छु। यो विषयमा मलाई धेरै बोल्नु छैन।’

उल्टै रञ्जित कटकबहादुरलाई विभिन्न आरोप लगाउँछन्। भन्छन्, ‘दुबई गएको ३ महिनामा झगडा गर्न थाल्यो। काम राम्रोसँग गरेन। कम्पनीका केटाहरुले राम्रोसँग काम गर्दा भन्दा उल्टै फेसबुकमा तेरो फोटो हालेर झुण्डिएर मरिदिन्छु भनेर धम्की दियो। यो सबैको प्रमाण मसँग पनि छ। चाहिन्छ भने उपलब्ध गराउँछु।’ 

रञ्जित आफू कुनै एजेन्ट नभएर कम्पनीको मालिक भएको बताउँछन्। उनले आफूले अनाहकमा मुद्दा खेपिरहेको दाबी गरे।

प्रहरीदेखि कर्मचारीसम्म सेटिङ मिलाउन सिपालु तिनै रञ्जितलाई वैदेशिक रोजगार विभागले समेत एकपक्षीय सुनुवाइका आधारमा रातारात हिरासतमुक्त गरिदियो। अब उनलाई राज्यका निकायबाट न्याय पाउने आस पनि मर्दै गएको छ।

राज्य संयन्त्रले रञ्जितकै कुरा पत्याउने र उनकै पक्षमा तर्कहरू जुटाउँदै गएकोले अब न्याय होइन, अझै धेरै दुःख र यातना भोग्नुपर्ने त होइन भन्ने सुर्ताले सताइरहेको छ, कटकबहादुरलाई।

तैपनि, उनी हार नखाने बताउँछन्। भन्छन्, ‘मैले अब गुमाउन बाँकी केही छैन। घर गए पनि साहुहरूले सताउँछन्। त्यसैले न्यायका लागि अन्तिमसम्म यहीँ लड्छु।’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .