गएराति नवलपरासीमा भारतीय ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ।
दुर्घटनामा स्कुटर चालक पुरुष सामान्य घाइते भएका छन्।
मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका- १३ सुन्दर बस्तिमा कोठा भाडामा बस्ने करिब ३७ वर्षीया कमला घर्ति मगर रहेकी जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
टाउको र छातिमा गम्भीर चोट लागेपछि उपचारको लागि उनलाई जिल्ला अस्पताल परासी लगिएको थियो। अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा स्कुटर चालक सोही ठाउँका ५५ वर्षीय कर्णबहादुर गुरुङ घाइते भएका छन्। उनको दायाँ खुट्टा, दायाँ हातको कुममा चोट छ। उनको सामुदायिक अस्पताल भूमहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने सुनवल- १२ भूमही चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यूपी ५५ बीटी २५४६ नम्बरको भारतीय ट्रकले सोही दिशा तर्फ जाँदै गरेको लु २६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक भारत आजिङगढ घर भएका ३१ वर्षीय श्रवण यादवलाई पक्राउ गरेको छ।
Shares
प्रतिक्रिया