समाज


पर्वतमा दम्पती हत्या प्रकरण : एक महिनापछि २ युवक पक्राउ

पर्वतमा दम्पती हत्या प्रकरण : एक महिनापछि २ युवक पक्राउ

हत्या गरिएका जिसी दम्पती


नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १४:२६, काठमाडौँ

पर्वतको जलजला गाउँपालिका-२, मल्लाज दह गाउँका दम्पती हत्या घटनाका २ आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। 

सीआईबीका प्रवक्ता होबीन्द्र बोगटीका अनुसार म्याग्दीका कृष्ण विक र दीपक परियारलाई पक्राउ गरिएको हो। 

गत चैत १९ गते धारिलो हतियार प्रहार गरी पर्वत दह गाउँका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो।

हत्याराले उनीहरूका गरगहना पनि लुटेका थिए।

हत्यालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वत, गण्डकी प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी एकाइबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको थियो। 

त्यस क्रममा झन्डै एक महिनापछि प्रहरी आरोपित २ जनालाई पक्राउ गर्न सफल भएको हो। उनीहरूका विषयमा प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन। 

जिसी दम्पतीको हत्या लुट्ने उद्देश्यले गरिएको अनुमान प्रहरीले गरिरहेको छ। जिसी दम्पती कास्कीको पोखरामा डेढ करोडको जग्गा किन्ने तयारीमा थियो। पहिल्यै बैना गरिसकेको जग्गा यही महिनाभित्रमा पास गर्ने तयारी थियो। 

त्यसका लागि उनीहरू रकम जम्मा गरिरहेका थिए। दुईवटा सहकारीबाट ऋण निश्चित गरिसके पनि रकम निकाल्न भने बाँकी रहेको देखिएको छ। 

यस्तै कोरियामा रहेका दुई भाइ छोराले पनि जग्गा पास गर्नका लागि पैसा पठाएका थिए। तर त्यो रकम पनि बैंकमै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख रुपैयाँ तत्कालै लिने जग्गाको कागजपत्र मिलाइसकेपछि अरु ऋण थप गर्ने सहमति भइसकेको थियो। 

मल्लाज बहुउदेश्यीय सहकारी संस्थाबाट २७ गते १० लाख रुपैयाँ लिने तयारी थियो। सहकारीले सबै प्रक्रिया पूरा भए पनि जिसी परिवारले नै २७ गते मात्रै पैसा लैजाने बताएका थिए। 

घरमा बाआमाको हत्या हुँदा जेठा छोरा बेनीमा र दुई छोरा दक्षिण कोरियामा थिए। उनीहरू बाबुआमाको हत्यापछि नेपाल फर्किसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .