शुक्रबार दिउँसो सिन्धुलीमा विङगर दुर्घटना हुँदा घाइते भएका ११ जनामध्ये चालकलाई बढी चोट लागेको प्रहरीले जनाएको छ।
गोलोन्जोर गाउँपालिका-७ स्थित सुनकोसी मरीन डाइभर्सन नजिक प्रदेश २ -०३-००१ ज ०१३२ नम्बरको विङगर आफैँ अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको गाडी सडकबाट ३० मिटर तल खस्दा चालकसहित ११ जना घाइते भएका हुन्।
घाइतेमध्ये गाडी चालक सर्लाहीको बागमती नगरपालिका- २ घर भएका ३८ वर्षीय रुपलाल राउतलाई बढी चोट लागेको प्रहरीले जनाएको छ। उनलाई सिन्धुलीकै शुभजीवन अस्पतालमा सामान्य उपचार गरेर थप उपचारको लागि काठमाडौँको ट्रमा सेन्टरमा रेफर गरिएको छ।
बाँकी १० जना घाइतेको शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हेर्नुहोस् घाइतेहरुको विवरण
Shares
प्रतिक्रिया