हाल देशभर पश्चिमी वायुको प्रभाव छ भने स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण यतिबेला (मंगलबार साँझ) पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मुख्यतया सफा छ।
कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा पनि भइरहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार राति पनि देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
आंशिक बदली भनेको आकाशमा पातलो बादल लाग्नु हो भने मौसम मुख्यतया सफा भनेको लगभग आकाश खुला हुनु हो।
मौसमविद्का अनुसार एक/दुई स्थानमा वर्षाको सम्भावना देखिनु भनेको पानी पर्ने सम्भावना निकै कम रहनु हो।
देशभरका पहाडी क्षेत्रका एक/दुई स्थान भन्नाले यसका जुनसुकै ठाउँमा पानीपर्न सक्छ भनेर बुझ्नपर्ने हुन्छ, वर्षा यही ठाउँमा हुन्छ भने निश्चित स्थान तोक्न भने नसकिने मौसमविद् बताउँछन्।
यस्तै हल्का वर्षा भनेको १० मिलिमिटरभन्दा कम पानी पर्नु हो।
हाल नेपालमा पोस्ट मनसुन चलिरहेकोे छ, जुन सिजन नोभेम्बरसम्म रहन्छ र यसपछि अर्थात् डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।
Shares

प्रतिक्रिया