उच्च अदालत, पाटनले चिनियाँसँग मिलेर सुन तस्करीको गिरोह सञ्चालन गरेको र त्यसका लागि वालेट कम्पनीहरू नै खडा गरी रकम ओसारपसार गरेको आरोप लागेका सबै नेपाली अभियुक्तलाई धरौटीमा छाड्ने आदेश गरेको छ।
उच्च अदालतका न्यायाधीशद्वय डालकुमार खड्का र ब्रजेश प्याकुरेलको इजलासले पुस ७ गते गरेको आदेश काठमाडौँ जिल्ला अदालतमा पुगिसकेको छ। यसै आदेशमा रहेर अधिकांशले धरौटी जम्मा गरेर पनि छुटिसकेका छन्।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका ९ जना अभियुक्तलाई उच्चले धरौटीमा छाडेको हो। यस्तै ३ जना अभियुक्तसँग जिल्लाले तोकेको धरौटी रकम पनि उच्चले घटाइदिएको छ। ४ जनाका हकमा मात्र थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्चले सदर गरेको छ।
चिनियाँ नागरिक दाओजिन वाङ नेतृत्वको समूहले विभिन्न इलेक्ट्रोनिक तथा अन्य उपकरणमा लुकाएर नेपालमा करिब ३ हजार २ सय किलो सुन तस्करी गरेको पाइएको थियो। त्यही समूहका बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दोस्रो चरणको अनुसन्धानका क्रममा २० जना पक्राउ गरेको थियो। मुद्दा चलाउँदा भने यस प्रकरणमा जोडिएका ४६ जनालाई अभियुक्त बनाएको थियो।
उनीहरूको अवैध कारोबारको अंक मात्र २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रूपैयाँको हिसाब अभियोगपत्रमा प्रस्तुत गरिएको छ।
जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले गत असार २६ गते राजु थापा भन्ने प्रेमनाथ सेढाईं, थर्कमान लामा भन्ने कान्छा लामा र रूपक भण्डारी गरी ३ जनालाई मात्र धरौटीमा छाड्न आदेश दिएको थियो। त्यतिखेर सेढाईंसँग ५७ लाख, लामा र भण्डारीसँग ९७/९७ लाख धरौटी माग गरिएको थियो। त्यतिखेर १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको थियो।
तर, उच्च अदालतले अधिकतम ४५ लाख रूपैयाँ मात्र धरौटी लिने आदेश गरेको छ।
जिल्ला अदालतले थुनामा पठाएर उच्चबाट छाडिएकामा फुन्छोक डाग्पा अथुप्छाङ खम्पा, लालबहादुर कुँवर, राजु खत्री, कास्यप मानन्धर, सुरजशम्शेर जबरा, सुरेन्द्रमान श्रेष्ठ, भीमप्रसाद तिमिल्सिना, प्रज्वल आचार्य र अरूणकुमार यादव छन्।
उनीहरूविरूद्ध सुनको चोरी पैठारी, संगठित अपराध, नागरिकता किर्ते, राहदानी कसुर, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी फर्स्योट ऐन र हातहतियार खरखजनासम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो।
पे वेल र सजिलो पे नामक वालेट कम्पनीहरू अवैध भुक्तानी प्रक्रियामा संलग्न देखिएका थिए। उनीहरूले राष्ट्र बैंकले तोकेका मापदण्ड र सीमा उल्लंघन गरी तस्करीको सुनवापतको रकम भुक्तानी गरेको पाइएको थियो। भीमप्रसाद तिमल्सिना पेवेलका अध्यक्ष हुन् भने प्रज्वल आचार्य सहायक प्रमुख कार्यकारी अधिकृत र सुरजशम्शेर जबरा लेखा प्रमुख हुन्।
यस्तै काश्यप मानन्धर सजिलो पेका प्रमुख कार्यकारी अधिकृत हुन् भने फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र सुशीला जाकिबन्जा सदस्य हुन्। लालबहादुर कुँवर र अरूणकुमार यादव एजेन्टहरू हुन्।
वैजनाथ ब्रह्मादत्त गोयल, मनोजराज श्रेष्ठका साथै २ चिनियाँ नागरिक कुंगा टासी शेर्पा भन्ने गेंगा झाछी र मिङसिङ तेरेन्सत्से गरी ४ जनालाई भने थुनामा पठाउने जिल्ला अदालतको आदेश नै उच्चले सदर गरेको छ।
Shares

प्रतिक्रिया