समाज


रिंकु सदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित चार मुद्दामा अनुसन्धान हुँदै

रिंकु सदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित चार मुद्दामा अनुसन्धान हुँदै

रिंकुको बुबासँग घटनाबारे जानकारी लिँदै मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी ।


नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १५:२७, काठमाडौँ

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु भएको छ।

सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा चारवटा मुद्दामा आठ जनाविरुद्धपूरक जाहेरी दर्ता गरेका थिए।

कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दर्तापछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।

उनले भने, ‘यस घटनाका विषयमा हामीले सुरुबाटै गहिरो अनुसन्धान गरिरहेका छौँ। पूरक जाहेरी आएपछि अब हामीलाई घटनाको सुक्ष्म अनुसन्धानका लागि झन् सहज भएको छ।’

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन्। त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएपछि सार्वजनिक भएको थियो।

गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालयले गत मंगलबार प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेकामा समितिले घटनास्थलमा पुगि प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो।

छानबिन समितिका संयोजक कोइरालाले घटना दबाउन ‘बार्गेनिङ्’ गर्ने र पञ्चायती बस्ने हाल फरार रहेका बताए। उनले भने, ‘घटना मिलाउन भूमिका खेलेका भनिएका अधिकांश व्यक्ति फरार छन्। भिडियो/फोटाबाट पहिचान गरेर खोजी गरिरहेका छौँ।’

रिंकुका बुबा बिजुलिया सदा छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेको र विभिन्न पक्षबाट डर–त्रास दिन काम भइरहेको गुनासो गरे।

यसैबीच घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न सिरहास्थित विभिन्न सामाजिक संघसंस्थाले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्रमा पीडितपरिवारलाई अझै निरन्तर धाक, धम्की, डर त्रास देखाउने काम भइरहेकाले तत्काल भयरहीत वातावरणमा बस्ने वातावरण बनाउन आग्रह गरिएको छ।

मृतकका परिवारलाई भेट्न पुगेका मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले दोषीलाई कानुनको कठ्घरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad