समाज


उदय आलेः जसले कुसुण्डा भाषाको शब्दकोश नै तयार पारे

उदय आलेः जसले कुसुण्डा भाषाको शब्दकोश नै तयार पारे

कृष्ण आचार्य
असार २१, २०७६ शनिबार ११:२९,

उदय आलेले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा डिग्री सके र जन्मस्थल दाङको देउखुरी गए। त्यहाँ उनी अध्यापन तथा पत्रकारिता गर्दै थिए। सोही क्रममा एकदिन एक कुसुण्डा समुदायका व्यक्तिले उनको कार्यालयमा फोन गरे। ती व्यक्तिले मिडियामा आफ्नो समुदायका विषयमा समाचार नै नआउने गरेको गुनासो गरे। यस कुराले उदयको मनमा ठूलै तरंग ल्याइदियो। लगत्तै उनले कुसुण्डाबारे स्व–अध्ययन गर्न थाले। यो कुरा आजभन्दा १० वर्षअघिको हो।

kusunda 2

कुसुण्डाको भाषाबारे जान्ने ईच्छा जागेपछि उदयले त्यस भाषाको विज्ञ खोज्न थाले। खोज्दै जाँदा ज्ञानुमैया सेन कुसुण्डा नामकी एक बुढी आमा (८४ वर्षीया) भाषाको राम्रो जानकार रहेको पत्ता लगाए। उनी गुल्मीको भलकुटस्थित एक जंगलमा जन्मिएकी रहिछन्। त्यसपछि उनले प्युठान र रोल्पाका विभिन्न जंगलमा आफ्नो जीवन बिताइछन् । जसले बिहेपछि जंगली जीवन त्याँग्न पुगिन्।

उनीसँग भाषाको अध्ययन गर्दै कुसुण्डाहरुको नाता–सम्बन्धबारे पनि उदयले जानकारी लिए। लगत्तै तनहुँ, अर्घाखाँची, कपिलवस्तुु, दाङ प्युठान, सुर्खेतलगायतका स्थानमा पुगेर कुसुण्डाबारे जानकारी संकलन गरे।

‘मैले लामो समय कुसुण्डा बसोबास गर्ने क्षेत्र र उनीहरुबारे प्रकाशित–प्रसारित सामग्रीको अध्ययन गरेँ’ उदय भन्छन्, ‘त्यसपछि मलाई उनीहरुको जीवनशैली र विगतमा झन् चासो बढ्यो।’

राउटेका राजा
कुसुण्डा विशेषगरी घुमन्ते जाति हुन् । उनीहरुको मुख्य वासस्थान जंगल हो। पुरुषहरु शिकार गर्न जाने र महिलाहरु जंगल नजिकको गाउँमा माग्न गएर आफ्नो जीविका चलाउँछन्।

माग्ने क्रममा भन्ने गर्छन्, ‘वन राजा, वन रानी आए, आटो–पिठो जे छ देउ।’ अर्थात, कुसुण्डाहरु आफूलाई गिलाङ्देई म्याहाक ठान्छन्। उनीहरुको भाषामा गिलाङ भनेको वन र म्याहाक भनेको राजा हो।
‘उनीहरु आफूलाई जंगलको राजा ठान्छन्’ उदय भन्छन्, ‘गाउँलेहरुको सम्बन्ध भनेको पनि आटो–पिठो माग्नेमात्र हो ।’

kusunda 3

कुसुण्डाहरु आफूलाई कुशका सन्तान मान्छन्। गाईले कुश खान्छ। त्यसैले उनीहरु गाईं वा खुट्टामा खुर हुने जनावरसँग सम्बन्धित कुनै चीज खाँदैनन्। घरमा गोवरलेसमेत लिप्दैनन् । न कुशले छाएको छानोमा नै बस्छन्। जंगलमा पाइने कालिज र गोहरा उनीहरुको प्रिय खाना हो। उदयले यो सबै कुरा अध्ययनका क्रममा पत्ता लगाए।

यतिमात्र नभएर जंगली जीवनका क्रममा कुसुण्डाले राउटेलाई आफ्नो पर्दा ठानेको कुरासमेत उदय बताउँछन्। उनी भन्छन्, ‘राउटेले वर्षमा एक पटक कुसुण्डालाई कर (आर्थिक नभएर तरुल, कन्दमुललगायतका खाने कुरा) तिर्दा रहेछन् । नत्र राउटेलाई कुसुण्डा बसेको जंगलमा बस्न नदिइँदो रहेछ।’

भाषा परिवारमा नअटेको भाषा
कुसुण्डाहरु आफ्नो भाषालाई गिपन भन्छन्। नेपालमा ४ वटा भाषा परिवार छन्। तर, कुसुण्डा भाषाको यी कुनै परिवारसँग सम्बन्ध गाँसिएको छैन । उदय यतिबेला कुसुण्डाको त्यही लोपउन्मुख भाषाको संरक्षणमा लागेका छन् ।

भन्छन्, ‘नेपालमा भारुपेली, तिब्बेतली, अस्ट्रिक र ड्रविड भाषा परिवार अस्तित्वमा छन्। यी चार वटा भाषामा कुसुण्डा भाषा पर्दैन, त्यसैले हामी यसलाई कुसुण्डा भाषा भनेर एउटा परिवार अन्तर्गत राख्ने तयारीमा छौँ।’

कुसुण्डा भाषा नेपालको मात्र नभएर विश्वकै अमूल्य जीवित सम्पदा हो। तर, नेपालमा रहेका १५० जना कुसुण्डामध्ये अहिले ज्ञानुमैया, कमला सेनले मात्र यो भाषा बोल्छन्। उनीहरुबाट सिकेर उदय पनि कुसुण्डा भाषा मज्जैले बोल्ने भएका छन्।

उदयले लामो अध्ययन तथा अनुसन्धानपश्चात् कुसुण्डा भाषाको संरक्षणका लागि ‘कुसुण्डा जाति र शब्दकोष’ नामक पुस्तकसमेत प्रकाशित गरेका छन्। जसमा कुसुण्डाको भाषाको शाब्दिक अर्थ समेटिएको छ।

उदयसहितको एक टोलीले पछिल्लो समय कुसुण्डा भाषाको शब्द संकलन, भाषिक इतिहास लेखन र वर्ण पहिचान गरेर भाषा आयोगमा बुझाएको छ। यस विषयमा आयोगमा छलफल भइरहेको छ।

कुसुण्डाको घट्दो जनसंख्या
२०६८ सालको जनगणनामा कुसुण्डाको कुल जनसंख्या २७३ र वक्ता २८ जना उल्लेख छ। तर, अहिले खास वक्ता २ जना र कुसुण्डाको कुल संख्या १५० जनामात्र रहेको छ।

‘हामीले जनसंख्या पत्ता लगाउन लामै अध्ययन गर्यौँ’, उदय भन्छन्, ‘१५–२० जना भारतको भूपाल गएको पायौँ त्यसबाहेक १५० जना हुनुहुन्छ।’

उनीहरुको संख्या घट्नुका दुई कारण रहेको उदय बताउँछन् । एउटा, कुसुण्डाको बिहे गैरकुसुण्डासँग हुनु र अर्को आफूहरुलाई हेयको दृष्टिकोणले हेरिने भएपछि कुमाल, ठकुरी जातिमा रुपान्तरण हुनु। पुरुषहरु समेत कुमाल महिलासँग बिहे गरेर आफू कुमाल बनेका उदाहरण छन्।

kusunda 5

अहिले कुसुण्डाको आफ्नो जग्गा–जमिन छैन। जंगलको छेउ–छाउमा बसोबास गर्छन्। त्यसैले केही समयमा उनीहरुको संख्या झन् घट्ने देखिन्छ। यसरी विभिन्न स्थानमा छरिएर रहेका कुसुण्डाको भाषा संरक्षणका लागि राज्यले ‘कुसुण्डा ग्राम’ निर्माण गरेर प्राज्ञिक तथा पर्यटकीय गन्तव्य बनाउनुपर्ने उदयको धारणा छ। व्यक्तिगत रुपमा उदयले यसका लागि पहल थालिसकेका छन्।

राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता र ज्याला–मजदुरी गरेर कुसुण्डाहरु आफ्नो जीविका चलाइरहेका छन्। शैक्षिक अवस्था निकै कमजोर छ।

‘५० वर्षअघि जंगलमा बस्ने कुसुण्डालाई फेरि जंगलमै फर्काउन त नसकिएला तर सामूहिक बसोबासमार्फत उनीहरुको भाषा भने बचाउन सकिन्छ’ उदय भन्छन्।

भाषा संरक्षणका लागि ट्युसन कक्षा
कुसुण्डा भाषाको संरक्षणका लागि अदयको पहलमा केही समयअघि ‘कुसुण्डा भाषा तालिम’ दिइएको छ। ९० घण्टाको उक्त भाषा प्रशिक्षणबाट आफ्नै भाषा नजान्ने कुसुण्डाले २०० देखि ३०० वटा शब्द बोल्न सिकेका छन्।

दाङ, रोल्पा, प्युठान र सुर्खेतका २० कुसुण्डा र २ गैरकुसुण्डालाई उक्त तालिम दिइएको थियो। जसको संयोजन भाषा आयोगले ग¥यो।

दुई जनाबाहेक अन्य कुसुण्डा नेपाली बोल्छन्। सीमित व्यक्तिलाई ५० देखि १०० वटासम्म शब्दहरु मात्र थाहा छ। नयाँ पिँढी भने कुसुण्डा शब्दसँग नै अनविज्ञ छन्। उनीहरुको जीवनशैलीमा आएको परिवर्तनले भाषामा असर पु¥याएको देखिन्छ।

उदयले कुसुण्डाले बोल्ने १५ सय शब्दहरु संकलन गरेका छन्। थप २–३ सय शब्द लोप भएको उनको बुझाई छ।

‘९० घण्टाको कक्षा नयाँ पिढीका लागि निकै फलदायी रह्यो’ उदयको भनाई छ, ‘उनीहरु आफ्नो भाषा सिक्न उत्सुक देखिए । आगामी दिनमा यस्तो कक्षा निरन्तररुपमा सञ्चालन गर्ने विषयमा भाषा आयोगसँग कुरा भइरहेको छ।’

अंग्रेजी विषयमा मास्टर्स गरेका उदयलाई कुसुण्डा भाषा सिक्न त्यति सहज थिएन । तर, भाषाको विद्यार्थी भएकाले रुचीले यो सफलता दिलायो । उदय भन्छन्, ‘मैले त सिक्न सकेँ भने कुसुण्डाका सन्तानले नसक्ने कुरै छैन । म यही अभियानमा छु अहिले ।’

kusunda 4

कुसुण्डा भाषाबारे विश्वब्यापी चासो
उदयले आफ्नो कुसुण्डा भाषा शब्दकोष अंग्रेजीमा पनि प्रकाशन गरेका छन्। जुन विश्वब्यापी रुपमा बिक्री भयो। युरोप, अमेरिका, अष्ट्रेलिया, जापान, न्युजिल्यान्ड, आयरल्यान्डलगायतका देशका बौद्धिक ब्यक्तित्व तथा प्राध्यापकसँग उनको किताब पुगेको छ।

‘उहाँहरुले इमेलमार्फत सम्पर्क गरेर पुस्तक नै मगाउनुभयो’ उदय भन्छन्, ‘त्यसैले कुसुण्डाको विषयमा विश्वब्यापी चासो छ।’ उनको पुस्तक झन्डै ३ सय प्रति विदेशीले किनेका छन्। उनी थप नयाँ शब्द राखेर पुस्तकको दोस्रो संस्करण निकाल्ने तयारीमा छन्।

पुस्तक निकालेपछि विदेशी अध्येताले आफूसँग सम्पर्क गरेर कुसुण्डाबारे चासो देखाइरहेको उनी बताउँछन्। ‘कतिपय त नेपाल आउन ईच्छुक पनि छन्’, उदय भन्छन्, ‘सरकारले उनीहरुलाई संरक्षण गर्ने हो भने त देशलाई पनि फाइदा हुँदोरहेछ नि।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .