सरकारी अस्पतालले अत्यावश्यक समयमा प्रयोग हुने भेन्टिलेटरलगायतका उपकरण खरिद गरेर पनि प्रयोगमा नल्याएको पाइएको छ। महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनले भेन्टिलेटर खरिद गर्ने तर प्रयोगमा नल्याउने गरेको पाइएको उल्लेख गरेको हो।
प्रतिवेदनले कोसी अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र सहिद गंगालाल राष्ट्रिय हृदरोग केन्द्रले उपचार खरिद गरेर प्रयोग नगरेको देखाएको छ।
कोसी अस्पतालले २ करोड ८ लाख ६५ हजारमा खरिद गरेको भेन्टिलेटर लगायतका ५ उपकरण, चिकित्सा विज्ञान प्रतिष्ठानले ४ करोड २९ लाख ६५ हजार मूल्यका ७ प्रकारका उपकरण प्रयोग नभएको प्रतिवेदनले औल्याएको छ।
न्याम्स आफैँले खरिद गरेको र स्वास्थ्य सेवा विभागले दिएको भेन्टिलेटर, पेसेन्ट मनिटर लगायतका उपचार प्रयोग नभएको देखाएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वास्थ्य सेवा विभागले ५ करोड ५९ लाख ४९ हजार लागतमा खरिद गरेर लिएको ११ थान भेन्टिलेटर र पोर्टेबल यूएसजी मेसिन प्रयोग नगरेको औँल्याएको छ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा दिएको २ करोड २५ लाख मूल्यको प्लाज्मा स्ट्रेलाइजर मेसिनसहितका उपकरण प्रयोगविहीन अवस्थामा रहेको जनाएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड १९ को समयमा स्थापना गरेको भेन्टिलेटरसहितको २० बेड आईसीयू कक्ष प्रयोगमा नआएको, २४ करोड ५१ लाख लागतको उपकरण बिग्रिएर प्रयोग नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
ट्रमा सेन्टरमा मुटु रोगको उपचारमा प्रयोग हुने ५० हजार ५०० अमेरिकी डलर पर्ने क्याथल्याव मेसिन र १४ थान भेन्टिलेटर, ५ थान सीआर्म मेसिन, ब्याकमान काउल्टर बिग्रिएर सञ्चालमा नआएको जनाएको छ।
प्रतिवेदनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकरण प्रयोग भए नभएको अनुगमन गरेर प्रभावकारी उपयोगको व्यवस्था मिलाउन आग्रह गरेको छ।
Shares

प्रतिक्रिया