तेह्रथुममा आयोजित स्वास्थ्य शिविरमा १८ सय बढी बिरामीले सेवा लिएका छन्। तेह्रथुम सरोकार समाज, नेपाल मेडिकल एसोसिएशन र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न तेह्रथुम व्यापक विशेषज्ञ स्वास्थ्य शिविरमा १ हजार ८ सय २६ जनाल सेवा लिएको समाजका अध्यक्ष डिल्लीराम ढुंगेलले जानकारी दिए।
'विशेषज्ञ स्वास्थ्य शिविरबाट उपचार लिन धेरै संख्यामा बिरामी आउनुभएको थियो,' उनले भने, 'यहाँ ६ स्थानीय तहका १,८२६ जना बिरामीले सेवा लिए।'
सेवामा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ग्रामीण क्षेत्रका बिरामीहरूलाई सेवा प्रदान गर्न पाउँदा खुसी व्यक्त गरे। नेपाल मेडिकल एसोसिएशनका अध्यक्ष डा. अनिल विक्रम कार्कीले भने, 'विभिन्न रोगबाट पीडित ग्रामीण बिरामीहरूलाई स्वास्थ्य सेवा दिन पाउँदा हामी खुसी छौँ।'
डा. कार्कीले यस स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, मुख क्यान्सर, घाँटी क्यान्सर, मुटु र मृगौलासम्बन्धी रोगबाट पीडित बिरामीहरूलाई उपचार प्रदान गरिएको बताए।

उनले भने, 'यस शिविरमा २ वटा सर्जरी गरिएको छ भने ४०० वटा भिडियो एक्स-रे र अल्ट्रासाउन्ड परीक्षण गरिएको छ।'
यस्तै, म्याङलुङ नगरपालिकाका मेयर संजय तुम्बाहाम्फे यो स्वास्थ्य शिविरले बिरामीहरूलाई आवश्यक स्वास्थ्य सेवा पुर्याउन सहयोग गरेको बताउँछन्।
'दूरदराजका गाउँका बिरामीहरूका लागि आफ्नै जिल्लामा नै निशुल्क विशेषज्ञ चिकित्सकको सेवा पाउने यो राम्रो अवसर हो,' उनले भने, 'यस्तै उपचार काठमाडौँ, विराटनगर र भरतपुरमा धेरै खर्चिलो हुने गर्छ।'
Shares

प्रतिक्रिया