समाज


२ करोड हिनामिना आरोपमा सहायक रथी खड्का र सेनानी कार्कीमाथि ‘कोर्टमार्सल’

२ करोड हिनामिना आरोपमा सहायक रथी खड्का र सेनानी कार्कीमाथि ‘कोर्टमार्सल’

नेपाली सेनाका सहायक रथी रोशन खड्का


नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १०:५५, काठमाडौँ

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाली सेनाका सहायक रथी रोशन खड्कामाथि थप कारबाही गर्न कोर्टमार्सल (सैनिक अदालत) गठन भएको छ। 

कोर्ट अफ इन्क्वेरी (प्रारम्भिक अनुसन्धान) का क्रममा सहायक रथी खड्काले कल्याणकारी कोषमा रहँदा अनियमिततामा संलग्न भएकाे पुष्टि भएपछि उनलाई सजाय गर्न कोर्टमार्सल सुरु भएको हो।

यो सैनिक अदालतको इजलास हो। प्रधान सेनापतिले गठन गर्ने यस्तो इजलासले नै बहालवाला सैनिकको हकमा फैसला गर्छ। 
सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर फैसलाको प्रक्रिया सुरु भएको हो। 

यही हिनामिनामा संलग्न रहेका तर अवकाश भइसकेका अन्य २ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो। ती मध्ये जमदार आत्माराम थापा पुर्पक्षका लागि थुनामा छन्। 

वैशाख २८ गते जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतमै मुद्दा दायर भइसकेका पूर्व सेनानी लक्ष्मण अधिकारी भने विदेश फरार छन्। हाल अमेरिकामा रहेका उनलाई इन्टरपोलको सहयोगमा नेपाल फिर्ता ल्याउने प्रक्रिया अगाडी बढेको छ। 

उनीहरु चार जनाले सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत रहँदा आवास तथा बिमा शाखाबाट आवास तथा बिमा बापतको रकम हिनामिना गरेको आरोप छ। 

उक्त शाखामा रहँदा वास्तविक रुपमा भुक्तानी गर्नु पर्ने व्यक्तिलाई नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गर्ने र हिनामिना गर्ने कार्य गरेको प्रारम्भिक छानविनको निस्कर्ष छ।

यसरी २ करोड २१ लाख ५ हजार ५१५ रुपैयाँ ४ पैसा हिनामिना गरेको दाबी सेनाको छ। २०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ गतेसम्म १४४ थान चेकबाट एक करोड ४७ लाख २१ हजार ३२९ रुपैयाँ ८८ पैसा र २०७३ फागुन ९ गतेदेखि २०७५ असोज १७ गतेसम्म ४० थान चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ ६० पैसा हिनामिना गरेको आरोप छ। 

पुर्पक्षका लागि थुनामा गइसकेका अवकाशप्राप्त जमदार थापाले यसरी नक्कली कागजात खडा गरेर भुक्तानी गर्ने कार्य सहायक रथी खड्का समेतको निर्देशन बमोजिम नै गरेको बयान दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad