समाज


काठमाडौँ उपत्यकाभित्र उद्धारका लागि निशुल्क हेलिकप्टर परिचालन गरिने

काठमाडौँ उपत्यकाभित्र उद्धारका लागि निशुल्क हेलिकप्टर परिचालन गरिने

नेपालखबर
असार १७, २०८२ मंगलबार १६:३, काठमाडौँ

विपद्‍मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि तत्काल हेलिकप्टर प्रयोग गर्नेसम्बन्धी गृहमन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

गृहमन्त्री रमेश लेखकको रहोवरमा मंगलबार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच हवाई उद्धारका लागि सम्झौता भएको हो।

समझदारी पत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेशप्रसाद भट्ट र वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गरेका छन्।

समझदारीमा संघले काठमाडौँ उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नु परेमा निशुल्क रुपमा हेलिकप्टर परिचालन गर्ने/गराउने व्यवस्था मिलाउने भएको बताइएको छ।

त्यसैगरी विपद्को समयमा नागरिकहरुको जिउधनको सुरक्षा गर्न तत्काल खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा निजी हेलिकप्टर कम्पनीलाई सामाजिक उत्तरदायित्व बहन गराउँदै परिचालन गरिने बताइएको छ।

वायुसेवा सञ्चालक संघले विपद्को समयमा खोज तथा उद्धार गर्ने, गराउने कार्यका लागि दैनिकरुपमा पालो तोकी निजी हेलिकप्टर सेवा प्रदायकलाई तोक्ने जनाएको छ। 

त्यस्तै हेलिकप्टर कम्पनी र सम्पर्क गर्ने व्यक्तिको विवरण नियमित रुपमा अध्यावधिक गरी सोको जानकारी गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समझदारी बनेको गृहमन्त्रालयले जनाएको छ।

त्यसैगरी दैनिक पालो तोकिएका र तयारी अवस्थामा राखिएका निजी हेलिकप्टर सेवा प्रदायकले गृह मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा तत्काल विपद्‍ग्रस्त क्षेत्रमा हवाई उडान गरी खोज तथा उद्धार गर्नुपर्नेछ। 

दुई पक्षीय समझदारीपछि बोल्दै गृहमन्त्री रमेश लेखकले असल कार्यको थालनी भएको बताए। ‘हामी मनसुनको प्रारम्भिक चरणमा छौँ,’ लेखकले भने, ‘मनसुनजन्य विपद्‍बाट ठूलो जनधनको क्षति भएको अवस्था छ। नागरिकको सुरक्षाका लागि हामी तयारी अवस्थामा रहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad