गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालिगलौज गर्दै कमेन्ट गर्ने एक युवक पक्राउ परेका छन्।
प्रहरीको साइबर ब्युरोले एलिनाले दिएको उजुरीपछि चितवन घर भई ललितपुरमा बस्दै आएका ३३ वर्षीय गुन्जन राईलाई ललितपुरकाे बाँडे गाउँबाट पक्राउ गरेकाे हाे।
राई पक्राउ परेसँगै ब्युरोले एलिनाको जाहेरी लिएर थप अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका राईले ४०/५० वटा नक्कली आईडी तयार गरेर त्यसकाे दुरुपयोग गरेको खुलेको छ।
ती आईडी पनि बन्द गरिएकाे प्रहरीले जनाएकाे छ। पक्राउ परेका युवकलाई प्रहरीले आजै म्याद थपकाे तयारी गरेकाे छ।
गायिका चौहानले आफूलाई लान्छना लगाउँदै कमेन्ट गर्ने क्रम नरोकिएपछि साइबर ब्युरोमा उजुरी गरेकी थिइन्। त्यसअघि गायिका चाैहानसँगै अर्की गायिका समीक्षा अधिककारीले पनि यसरी गालिगलौज गर्नेको प्रोफाइल र कमेन्ट सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गर्दै आएका थिए।
तर यो क्रम नरोकिएपछि चाैहानले ब्युरोमा उजुरी दिन बाध्य भएको बताएकी थिइन्।
यसै विषयमा गायीका चौहान र समिक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेरसमेत कुरा राखेका थिए। गृहमन्त्री लेखकले याे विषयमा गम्भीरतापूर्वक कारबाही अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।
Shares

प्रतिक्रिया