नेपाली यातायात ब्यवसायीले क्षमता भन्दा बढी तौलका भारतीय मालबाहक सवारी साधनका निर्वाध सञ्चालन हुँदा पनि राज्य बेखबर बनेको गुनासो गरेका छन्।
आम सञ्चार र यातायातको सवाल विषयमा शनिबार राष्ट्रिय यातायात पत्रकार मञ्चले ललितपुरको पाटनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा निर्धारित क्षमता भन्दा बढी तौलका भारतीय सवारी साधन सञ्चालन भएकै कारण राजमार्गका ठूला ठूला पुलहरु भत्किएको उनीहरुले बताए।
जुनसुनै महामारी र संकटको बेलमा समेत जोखिम मोलेर काम गर्ने यातायात क्षेत्रलाई सरकारले मात्र नभई सञ्चार माध्यामले समेत बुझ्न नसकेको उनीहरुको गुनासो छ।
ट्रक ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बढी तौलका भारतीय सवारीकै कारण विभिन्न ठाउँमा पुल भाँच्चिएको बताए। ‘तौल कार्यविधि २०७४’ मा पनि यस्ता गाडी सञ्चालन गर्न नदिने र तौल बढी भएमा भन्सारमै पल्ट्री गर्ने ब्यवस्था हुने कार्यविधिमै रहेको पोखरेलले स्मरण गराए ।
ढुवानी ब्यवसायी संघ नेपालका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले सडक पूर्वाधार विपरितका भारतीय गाडीको भारबहनबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको बताए। उत्पादनदेखि उपभोक्तासम्म पुर्याउन भूमिका खेल्ने ढुवानी क्षेत्रलाई ब्यवस्थागित गर्नुपर्नेमा उनको जोड छ।
त्यस्तै ब्यवसायीहरुले अत्यावश्यक सामानहरु ढुवानी गर्ने ट्रकको सहरी क्षेत्रमा पार्किङको ब्यवस्था नगरिँदा समस्या भएको बताएका छन्। ट्रक पार्किङको ब्यवस्था नभएका कारण सडकमै राख्नुपर्दा दुर्घटनाहरु हुने गरेको पनि उनीहरुको भनाई छ । ट्रक ब्यवसायी महासंघ बरिष्ठ उपाध्यक्ष पोखरेलले यसलाई व्यवस्थित गर्न माग गरे।
टुरिष्ट बस एशोसियसन नेपालका अध्यक्ष कृष्ण आचार्यले आफूहरु पनि उस्तै मारमा रहेको बताए। विभिन्न राजनीति गतिविधि हुँदा यातायात क्षेत्र नै मुख्य रुपमा प्रभावित हुने गरेको उनको भनाइ छ।
आफूहरुले मुलुकको संकट ब्यहोरेको उल्लेख गर्दै उनले पर्यटक बसलाई आन्दोलनका बेला निर्वाध सञ्चालन गर्न दिने भनिए पनि विभिन्न अवरोध आउने गरेको गुनासो गरे।
त्यस्तै यातायात ब्यवसायीहरुले युरो ६ प्रदुषण मापदण्ड लागू गरिएकोमा पनि आपत्ति जनाएका छन्। यूरो ४ को मापदण्ड अनुसार सञ्चालन हुन नसक्ने अवस्थामा युरो ६ को मापदण्ड कार्यान्वयन हुनेमा उनीहरुले आशंका गरेका छन्।
विना पूर्वाधार यूरो ६ मापदण्ड लागू गरिएको टुरिष्ट बस एशोसियसन नेपालका अध्यक्ष आचार्यले बताए।
Shares

प्रतिक्रिया