समाज


दुर्गा प्रसाईं आजै रिहा हुने

दुर्गा प्रसाईं आजै रिहा हुने

फाइल फोटो


नेपालखबर
साउन १९, २०८२ सोमबार २१:४९, काठमाडौँ

काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका दुर्गा प्रसाईंलाई आजै रिहा गर्ने तयारी भएको छ। उनलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गर्दै उच्च अदालत पाटनले सोमबार ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालतले माग गरेको धरौटी बुझाइसकेकाले उनलाई रिहा गर्न लागिएको डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालले बताए। 

‘उहाँलाई आजै छाड्ने तयारी गरिरहेका छौँ। त्यसका लागि कर्मचारीलाई बोलाइसकेको छु। अब कर्मचारी आएपछि आवश्यक कागजात मिलाएर उहाँलाई रिहा गर्छौँ’, अर्यालले नेपालखबरसँग भने। 

जेठ २९ गते काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा संलग्न रहेको अभियोगमा प्रसानईंसहित ७ जनालाई थुनामा पठाउने र बाँकीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

तर उक्त आदेश मिलेको नदेखिएको ठहर गर्दै उच्च अदालतले रिहाइको माग गर्दै पुगेका चारै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो।

जिल्ला अदालतले थुनामा राखी मुद्दाको बाँकी कारबाही गर्न आदेश दिएको थियो। उच्च अदालतले प्रसाईसहित चार अभियुक्तलाई उच्च अदालतले बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्ने मौका दिएको हो।

उच्च अदालत पाटनले नै बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो। यो आदेश न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले दिएको हो।

प्रसाईँविरूद्ध आइतबार मात्र उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको थियो। 

उनी यस मुद्दामा निर्दोष हुन् भन्न नमिल्ने भए पनि क्यान्सर रोगी भएका कारण धरौटी राखेर थुनाबाहिरै रहेर मुद्दाको प्रतिवाद गर्न पाउने उच्च अदालतको आदेशमा उल्लेख छ।

तीनकुने घटनाका अन्य अभियुक्तहरू सुशील बराल र तारा राजावादी भन्ने सरोज गौतमसँग उच्च अदालतले ५०-५० हजार रूपैयाँका दरले धरौटी माग गरिएको उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानले नेपालखबरसँग बताइन्। 

उनका अनुसार, डण्डपाणि रेग्मीसँग १० हजार रूपैयाँ धरौटी माग भएको छ।

जेठ २९ गते दुर्गा प्रसाईंसहित ७ जनालाई जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको थियो। उनीहरू हाल डिल्ली बजार कारागारमा छन्।

प्रसाईं छुट्ने भएपछि डिल्लीबजार कारागार बाहिर बाक्लो मात्रामा उनका समर्थकहरू उपस्थित भएका छन्।

गत चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक भएपछि २ जनाको ज्यान जानुका साथै सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। 

त्यस घटनामा ३२ जनालाई भने जिल्ला अदालतले नै धरौटीमा रिहा गरेको थियो।

यस घटनामा विभिन्न कसुरमा ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। प्रसाईँलाई लगाइएको मध्ये राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधतर्फ कसुरदार नदेखिएको यसअघि  जिल्ला अदालतले भनेको थियो।

आपराधिक उपद्रवमा संलग्नता देखिएको भन्दै थुनामा पठाउन आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad